• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सप्तरीमा ४ सय ५१ शैय्याको क्वारेन्टाइन (कहाँ कति भिडियोसहित)

सप्तरीमा ४ सय ५१ शैय्याको क्वारेन्टाइन (कहाँ कति भिडियोसहित)

राजविराज, १८ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न तथा बचाउनकालागि सप्तरीमा उच्च सतकर्ता अपनाइएको छ । भाइरस नियन्त्रण गर्न क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने अति जरुरी रहेकाले सोही कुरालाई मध्य नजर गर्दै सरकारले पनि ‘लकडाउन’ आह्वान गरेको छ । ‘लकडाउन’ सप्तरीमा पूर्ण रुपमा कार्यान्वय भईरहेको पाइएको छ भने खासगरी विदेशबाट आएका वा आउने व्यक्तिहरुमा निगरानीमा राख्न जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालयले पहल गरेर स्थानीय तहको सहयोगमा सप्तरीको १८ वटै स्थानीय तहमा क्वारेन्टाइन कक्ष सञ्चालनमा ल्याएको छ ।
समान्य रुघाखोकी र ज्वरो रहेका व्यक्तिहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ भने आवश्यकताअनुसार पायक पर्ने स्वास्थ्य चौकी वा डाक्टरसँग सम्पर्क गर्न भनिएको छ । सप्तरीका स्थानीय तहहरुले मंगलवारसम्म ४ सय ५१ शैय्याको क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।
तेश्रो मुलुककासाथै भारतबाट आएका वा आउने व्यक्तिहरुलाई नियमित रुपमा क्वारेन्टाइनमा बस्न स्वास्थ्य कार्यालयले आग्रह गरेको छ भने आ–आफनो गाउँमा विदेशबाट आएका वा आउने व्यक्तिहरुबारे सम्वन्धित स्थानीय तहमा जानकारी गराउन समेत सर्वसाधारणलाई अपिल गरेको छ ।
उता, भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ६, छिन्नमस्ता अस्पताल र युनिक अस्पतालमा २०–२० तथा क्षेत्रीय प्रहरी अस्पतालमा १० गरी कुल ५६ शैय्याको आइसोलेसन तयारी अवस्थामा रहेको छ भने छिन्नमस्ता अस्पतालमा ८ र युनिक अस्पतालमा ५ गरी १३ वटा आइसीयू कक्ष तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पताल प्रशासनले जनाएको छ ।
विश्वभरि महामारीको रुपमा फैलिएको भाइरसको संक्रमणबाट बच्न, बचाउन तथा नियन्त्रण र रोकथाम गर्न सुरक्षित रुपमा अत्यावश्यक बाहेक घरमै बस्न जिल्ला प्रशासन कार्यालय सप्तरीले सवैमा आग्रह गरेको छ ।