• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको क्वारेन्टाइनमा १ सय ४७ जना पुग्यो

राजविराज, १७ चैत्र । सप्तरका स्थानीय तहहरुले सञ्चालन गरेको क्वारेन्टाइनमा पुग्नेहरुको संख्या १ सय ३८ पुरुष र ९ महिला गरी १ सय ४७ जना पुगेको छ । आइतवारसम्म १ सय २७ पुरुष र ९ महिला गरी १ सय ३६ जना रहेकोमा सोमवार ११ जना थप भएर १ सय ४७ जना पुगेको हो । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १८ वटै स्थानीय तहहरुले सञ्चालन गरेको छ । सोही क्वारेन्टाइनमा उनीहरुलाई निगरानीमा राखिएको कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन ।
विदेशबाट आएका व्यक्तिहरुमा रुघाखोकी र ज्वरो देखिएकाले उनीहरुमाथि निगरानी राख्न क्वारेन्टाइनमा राखिएको भन्दै उनले सवैको अवस्था समान्य रहेको बताए । उनले जिल्लामा कोरोना भाइरस (कोभिड–१९) बाट बच्न र बचाउनकालागि उच्च सतर्कता अपनाइएको बताए । ‘भाइरसबाट बच्नकालागि सतर्कता अपनाउनुपर्ने अति जरुरी रहेकोले तपाईहरु अत्यावश्यक कामबाहेक घरभित्रै बस्नुस्’ उनले भने–‘सतर्कता अपनाएर मात्रै भाइरसको जोखिमबाट बच्न सकिन्छ ।’
उता, भाइरस संक्रमणको आशंका देखिने व्यक्तिहरुलाई उपचारकालागि ४ वटा अस्पतालमा ५६ शैय्याको आइसोलेसन तथा १३ वटा आइसीयू तयारी अवस्थामा रहेको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा.चुमनलाल दासले जानकारी दिए ।