• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लकडाउनको पूर्ण पालना गर्न अध्यक्ष यादवको आग्रह

लकडाउनको पूर्ण पालना गर्न अध्यक्ष यादवको आग्रह

बृजमान तामाङ
बिरेन्द्र बजार, १७ चैत । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले लकडाउन अवधिभरि बाहिर ननिस्कन आग्रह गरेका छन् ।
नोभल कोरोना भाईरस ( कोभिड(१९) को संक्रमण विरुद्ध अभियान अन्तरगत सोमबार स्थानीयबासीलाई साबुन र माक्स वितरण गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘विश्वब्यापी फैलिएको कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्ने विकल्प भनेकै एक व्यक्तिदेखि अर्कोसँग टाढा बस्नु मात्र हो’ अध्यक्ष यादवले भने ‘हामी कोरोना संक्रमण जोखिमबाट सुरक्षित रहन साबुन र माक्स वितरण गरिरहेका छौ ।’
अध्यक्ष यादवले हाम्रो सामुहिक प्रयासले कोरोना संक्रमणबाट बच्न सकिने भएकोले लकडाउनको पुर्ण पालन गर्न आग्रह गरे । जनचेतनाकालागि घरघरमा पुगेर साबुन पानीले हात धुन र माक्सको प्रयोग गर्न आमजनमानसमा सन्देश दिईरहेको अध्यक्ष यादवले जानकारी गराए । सामाजिक सञ्जालमा संघ र प्रदेश सरकारले बजेट उपलब्ध गराएको भनी फैलाएको भ्रममा सत्यता नरहेको उल्लेख गर्दै अध्यक्ष यादवले हालसम्म पालिकाको श्रोत साधानबाट कोरोना विरुद्ध अभियान चलाएको बताए ।
यादवले गाउँपालिकाको एकल प्रयासबाट हाल २५ बेडको क्वारेन्टाइन र ६ वटा वडामा हेल्प डेस्क सञ्चालनमा ल्याएको साथै प्रत्येक परिवारलाई साबुन र मास्क बितरण गरिरहेको जानकारी दिए । भारत तथा अन्यमुलुकबाट स्वदेश फर्कनेको संख्या अत्यधिक भएकोले क्वारेन्टाइनमा राख्न चुनौती थपिदै गएकोले परदेशबाट आएको व्यक्तिलाई क्वारेन्टाइनमा बस्न सबैले आग्रह गर्नुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार हाल विभिन्न वडाका गरि १५ जना क्वारेन्टाइनमा रहेको छ । क्वारेन्टाइनमा अन्यमुलुकबाट स्वदेश फर्केकाहरुलाई राखिएको उनले जानकारी दिए । अति विपन्न परिवारलाई बिशेष प्याकेजको ब्यबस्था गर्न तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी राखिएको तथा मंगलबार कार्यपालिकाको बैठले निर्णय गरेर खाद्य सामाग्री वितरण गरिने समेत उनले जानकारी दिए ।
यता लकडाउनको मौका छोपी स्थानीय ब्यापारीले उपभोक्तालाई व्यापक ठगी गरिरहेको गुनासो बढिरहेको छ । ढाड सेक्ने गरि महँगी बढाउदा समेत स्थानीय सरकार भने मौन बसेको उपभोक्तहरुले गुनासो गरेका छन् ।
स्थानीय पसलहरुमा प्रत्येक सामानमा ३० प्रतिशतले बढाएर सामान बेच्ने गरेको स्थानीय बासीले बताएका छ्न । विपदको घडीमा दैनिक उपभोग्य सामान बढी मुल्यमा बिक्री गरि फाईदा उठाउन खोज्नेउपर कडाई गरिने अध्यक्ष यादवले बताए । उनले बजार अनुगमन गरि कालाबजारी गर्ने र उपभोक्ता ठगी गर्नेलाई छुट नदिने समेत प्रतिवद्धता व्यक्त गरे ।