• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरी स्थित मस्जिदहरुमा जुम्माको नमाज समेत स्थगन

सप्तरी स्थित मस्जिदहरुमा जुम्माको नमाज समेत स्थगन

राजविराज, १४ चैत्र । कोरोना भाइरसबाट जोगिनकालागि सरकारले आह्वान गरेको ‘लकडाउन’को पूर्ण रुपमा पालना गर्न मस्जिदहरुमा सामुहिक रुपमा पढिदै आएको जुम्माको नवाज स्थगन गरिएको छ ।
देशको सङ्कटपूर्ण अवस्थालाई मध्यनजर गर्दै सप्तरी जिल्लाका मस्जिदहरुमा शुक्रवारका दिन जुम्माको अति महत्वपूर्ण नमाज समेत मुस्लिम समुदायले स्थगन गरेका हुन् । मुस्लिम समुदायका अगुवा युसुफ अलिका अनुसार राजविराज नगरपालिका वडा नम्वर ४ स्थित जामे मस्जिद, वडा नम्वर १ स्थित रहमतपुर, चनौरा, नुरी महल्ला सहितका मस्जिदहरुमा जुम्माको नमाज स्थगन गरिएको छ ।
राजविराजको जामे मस्जिदमा मात्रै पाँच सय भन्दा बढी मुस्लिम समुदाय भेला भएर नमाज पढ्दैआएका थिए । अन्य मस्जिदहरुमा समेत टोलका पुरुषहरु भेला भएर अल्लाहको स्मरण गर्दै नमाज पढ्ने गरिन्छ । जुम्माको नमाज स्थगन भएपछि औपचारिक रुपमा मस्जिदमा पाँच जनाले मात्र नमाज पढेका छन् । अन्य व्यक्तिहरुले समेत आफ्नै घरमा परिवारका सदस्यसँगै नमाज पढेको उनले जानकारी दिए ।
मुस्लिम समुदायले दैनिक रुपमा पाँच पटक नमाज पढ्ने परम्परा रहेको छ । अपराह्न १२.३० बजे अजान, एक बजे खुतुवा र १.३० बजे नमाज पढ्ने गरिनछ । मस्जिदबाट अजान भने नियमित रुपमा दिईने जनाईएको छ । स्थिति सहज नभएसम्म मुस्लिम समुदायका धर्म गुरुहरुले आफ्नै घरबाट नमाज पढ्न समेत अनुरोध गरेका छन् ।