Top_Header_Right_Add

लकडाउनको पूर्ण पालना गर्न कानूनमन्त्री यादवको अपील

लकडाउनको पूर्ण पालना गर्न कानूनमन्त्री यादवको अपील

राजविराज, १२ चैत्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामकालागि प्रदेशसँगै देशभरि नै लकडाउन घोषणा गरिएको भन्दै त्यसलाई पूर्ण रुपमा पालना गर्न प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय ज्ञानेन्द्रकुमार यादवको अपील गरेका छन् ।
बुधबार उनले एक अपील सार्वजनिक गर्दै स्वास्थ्यसम्बन्धी संकटबाट उब्रिन र सुरक्षाका दृष्टिले लकडाउन अर्थात् अत्यावश्यक वा आकस्मिक प्रयोजनबाहेक घरबाहर ननिस्किनु नै महामारी रोक्ने सबैभन्दा सही, सटीक र फलदायी अस्त्र भएको जनाएका छन् । कोरोना भाइरस संक्रमित व्यक्तिका सम्पर्कबाट तीव्र गतिमा फैलिने भएकाले अहिलेको स्थितिमा सामाजिक दूरी कायम गर्नु नै उत्तम रहेको भन्दै एक–अर्काबाट टाढा बस्नका लागि घरबाहिर हिँडडुल नगरी कोरोना भाइरसको सम्भावित प्रसार नियन्त्रण गर्ने धर्म र कर्तव्य निर्वहन गर्न मन्त्री यादवले आग्रह गरेका छन् ।
‘मंगलबारदेखि सुरु भएको लकडाउनका क्रममा स्वतःस्फुर्त घरभित्र समेटिदा कोरोना भाइरससँग लड्ने प्रदेश सरकारको संकल्प अझै बढी मजबुत भएको छ’ अपीलमा भनिएको छ ‘सरकारका निर्देशन र स्वास्थ्य अधिकारीका सुझावविपरीत छिटफुट आवागमन र खाद्यान्न किनमेलका लागि देखिएका भिडभाड नियन्त्रण गर्नुतर्फ तपाईंहामीलाई चनाखो हुनुपर्छ ।’ खाद्यान्न र औषधिमूलोकालागि बजार निस्किँदा आवश्यक सतर्कताका साथ पसलमा जान अनुरोध गरिएको छ ।
आकस्मिक प्रयोजनबाहेक अन्य सरकारी तथा निजि प्रतिष्ठानका कामकाज बाधित भएको भन्दै यसबाट हाम्रो दैनिकी प्रभावित भएको जनाउँदै जिन्दगी र सासको मूल्य यो कठिनाई भन्दा ठूलो अर्थ नराख्ने भनिएको छ । अनेकन् प्रतिकूलतासँग अविचल र अथक लडाइँ गरी जितेको चर्चा गर्दै यसपटक समेत आत्मविश्वास, संयमता र सतर्कताबाट कोरोनाको कहर छल्ने विश्वास व्यक्त गरिएको छ ।
अहिलेको समय निक्कै गम्भीर र संवेदनशील रहेको भन्दै त्यसैले समाजमा अनाहक डर, भय, त्रास उत्पन्न गराउने गलत, मनगढन्त र भ्रामक सूचना कुनै पनि माध्यमबाट सम्प्रेषण नगरिदिन मन्त्री यादवले आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन विश्व स्वास्थ्य संगठन, नेपाल सरकारको स्वास्थ्य मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका आधिकारिक सूचना वा सन्देशलाई मात्र साझा गरिदिन आग्रह गर्दै उनले सरकारका अधिकृत निकायद्वारा जारी भएका सूचना वा सन्देशलाई सामाजिक दूरी कायम गर्दै बढीभन्दा बढी व्यक्तिमाझ पु¥याउन अपील गरेका छन् ।
लकडाउनको समयमा खाद्यान्न र औषधिमूलो सहज आपूर्ति तथा किनमेल गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइएको छ । मानवीय संकटको अहिलेको समयमा कुनै किसिमका कालाबजारी र अभाव हुन नदिन स्थानीय प्रशासनका संयन्त्र सक्रिय रहेको जनाउँदै अपीलमा अगाडि भनिएको छ ‘अहिलेको मुस्किल दौरमा कोरोना भाइरसको संक्रमणसँग लड्न चिकित्सक÷स्वास्थ्यकर्मी, सुरक्षा संयन्त्रका व्यक्ति, सञ्चारकर्मीहरू ज्यानको बाजी थापेर अहोरात्र खटिएका छन् ,तपाईंहरू घरमा बसेर उहाँहरूको मनोबल बढाउनुस् ।’
अपील अनुसार प्रदेश सरकारले कोभिड–१९ का शंकास्पद बिरामीका लागि केडिया डेन्टल कलेज (वीरगन्ज), गौर नर्सिङ इन्स्टिच्युट(गौर), होटल सिया प्यालेस(गौर), मिथिला आर्युवेद कलेज तथा अनुसन्धान केन्द्र(नगराइन, धनुषा) मा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ । त्यस्तै कोभिड–१९ रोगीका उपचारका लागि नेसनल मेडिकल कलेज(वीरगन्ज) र जानकी मेडिकल कलेज, सिटी हस्पिटल(जनकपुर) तोकिएका छन् । कोभिड–१९ का शंकास्पद रोगी र रोगीका लागि एम्बुलेन्सको व्यवस्था, क्वारान्टाइन केन्द्र आ अस्पतालमा सुरक्षाको व्यवस्था जिल्ला प्रशासनमार्फत गरिएको छ ।
कोभिड–१९ व्यवस्थापन गर्न आवश्यक उपकरण र औषधिमूलोका लागि विभिन्न राष्ट्रिय एवं अन्तर्र्रािष्ट्रय संस्थाहरूसँग आग्रह गरिएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई तत्काल कोभिड–१९ परीक्षणका लागि तयार गर्न तदारुकताका साथ काम भइरहेका छन् । विभिन्न क्वारेन्टाइन केन्द्र र अस्पतालका लागि आवश्यक उपकरण आ औषधिमूलो तत्काल उपलब्ध गराउने व्यवस्था भएको मन्त्री यादवले जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer