• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

वैवाहिक बन्धनमा बाँधिईन् चर्चित गायिका अन्जु

मुख्यमन्त्री राउतसहित विशिष्ठ व्यक्तिहरु समारोहमा सहभागी
वैवाहिक बन्धनमा बाँधिईन् चर्चित गायिका अन्जु

राजविराज, ११ फागुन । दाईजो तथा बालविवाह विरुद्धको अभियानमा सक्रिय मधेश–मिथिला क्षेत्रकी चर्चित गायिका अन्जु यादव वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।
जन्मथलो सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियामा गत बुधबार हिन्दू परम्परा अनुसार उनी वैवाहिक बन्धनमा बाँधिएकी हुन् । करिब पाँच वर्ष अघि ‘नेपाल टेलिभिजन’बाट प्रशारित कार्यक्रम ‘सङ्गीत यात्रा’मा उनले दाईजो माग गर्ने केटासँग विहे नगर्ने घोषणा गरेकी थिईन् । गायन–यात्राका क्रममा उनले ‘पढ दिय हमरो बाबुजी, चल सखी बहिना चल, ईस्कूल पढै ल’ चल’ लगायतका गीतहरु गाउँदै सामाजिक जागरणमा समेत सक्रिय रहँदैआएकी थिईन् ।
उनको घरमा विहेको प्रस्तावहरु नआएको भने होइन, विवाहमा दाइजो माग्ने केटासँग विहे नगर्ने हठका कारण उनको विहेको कुरा टर्दैआएको थियो । तर पछिल्लो पटक धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका सोहनी–सोनामाईका यूवा रामविनय यादवको उदारताका कारण गायिका अन्जुको सपना साकार भयो । काठमाण्डौ स्थित पाटन हस्पिटल र नर्भिक ईन्टरनेशनल हस्पिटलमा वाक तथा श्रवण विशेषज्ञको रुपमा कार्यरत रामविनयको विषयमा अन्जुका अभिभावक पत्रकार श्यामसुन्दर यादव समक्ष राजविराज निवासी घाँटी तथा कान विशेषज्ञ समेत रहेका मोडेल अशोक आर्यनले कुरा राखे । त्यसपछि दुवै पक्षबाट देखादेख भयो । त्यसक्रममा जनकपुरका पत्रकार सुरेश यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, विद्यापति समाजिक विकास केन्द्रका अध्यक्ष धर्मनाथ यादव, अन्जुका दाजु श्यामसुन्दर र दुलहाका काका हरिनारायण यादव समेतको विशेष पहलमा आदर्श विहे हुने पक्कापक्की भयो । सोही अनुसार दुवै पक्षबाट सामाजिक मर्यादा अनुसार छेक्का पश्चात विवाह गत फाल्गुन ७ गते सम्पन्न भयो ।
उनको विवाहको कार्डमा प्रदेश नम्वर २ सरकारले अघि सारेको मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ तथा ‘सभ्य एवम् शिक्षित यूवा सभक एकहि अभियान, मेटाबु बालविवाह आ’ दहेजक नामोनिशान’ नारा समेत विवाहको कार्डमा छापिएको थियो । विभिन्न कार्यक्रमहरुमार्फत सामाजिक जागरणमा सक्रिय अन्जुलाई बधाई एवम् आशिर्वाद दिन प्रदेश नम्वर–२ का मुख्यमन्त्री लालबाबु राउत, उप–सभामुख उपमा देव, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रदेश नम्वर २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, संघीय सांसद एवम् पूर्व शिक्षामन्त्री रेणु यादव, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेश सांसद अभिशेक यादव, समाजवादी पार्टीका प्रदेश सचिव दिनेश कुमार यादव, राजविराज नगरपालिका पूर्व मेयर शैलेश कुमार चौधरी, वरिष्ठ फोटो पत्रकार राधेश्याम राम, समाजवादी पार्टीका केन्द्रिय सदस्य अशोक कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपाने समेत खुरहुरिया पुगेका थिए । यसैगरी मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्त, पूर्व अध्यक्ष शुभचन्द्र झा, साहित्यकार एवम् सामाजिक अभियन्ता करुणा झा, प्रा. मिथिलेश कुमार यादव, अधिवक्ता अशोक कुमार चौधरी, डा. शिवशंकर यादव, पूर्व डिएफओ अमरकान्त झा, दहेजमुक्त मिथिलाका अन्तर्राष्ट्रिय अध्यक्ष प्रविणनारायण चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, गैरसरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, नेपाल निजामती कर्मचारी टे«ड युनियनका जिल्ला अध्यक्ष अजय कुमार झा, पत्रकारहरु श्रवण देव, वैद्यनाथ यादव, चन्दन यादव, ललिता साह, संजिव विक्रम साह, दिनेश शर्मा, बिन्दु यादव, राजपाका नेता दिपेन्द्र प्रसाद चौधरी, न्यूज टुडे दैनिकका प्रकाशक शिवनारायण साह, राजविराज जेसिजका अध्यक्ष पूनम पोखरेल, ई. सूर्यनारायण यादव, ई. संजिवनारायण यादव, ई. अन्जु यादव, अधिवक्ता सागरवीर कडारी, अधिवक्ता किरण साह, प्याब्सनका प्रदेश उपाध्यक्ष रिमा झा, यूवा नेताहरु केदार प्रसाद यादव, तारकेश्वर यादव, पार्थो सरकार, अभिनेता निराजन मेहता, दलित पत्रकार संघ सप्तरीका अध्यक्ष विद्यानन्द राम, महिला नेतृ उषा देव, अभियानी रमिला साह, यूवा अभियानी नविन यादव सहितका व्यक्तित्वहरु वैवाहिक समारोहमा सहभागी भए ।
त्यसक्रममा मुख्यमन्त्री राउतले सुखद दाम्पत्य जीवनको कामना गर्दै गाउँमा जन्मिएर अन्जुले चालेको कदमको प्रशंसा गरे । तराई मधेशमा छोरीलाई हेर्ने दृष्टिकोण फरक रहेकाले छोरीलाई शिक्षित बनाएर यसरी नै दाईजो विनाको विवाहलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । यस्ता विवाहले सभ्य समाज निर्माण तथा प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा समेत सघाउ पुगेको मुख्यमन्त्री राउतले बताए । देशमा विभिन्न चरणका संघर्ष र आन्दोलनसँगै थुप्रै राजनीतिक परिवर्तनहरू भए पनि तराई मधेशका समाजमा अझै पनि ‘दाईजो’ जस्ता कुप्रथा अन्त्य हुन नसकेको प्रति दुःख व्यक्त गरे ।
यस्तै मुख्य न्यायाधिवक्ता झाले समेत छोरीलाई शिक्षित बनाईए दाइजो उन्मुलनमा मदत मिल्ने विश्वास व्यक्त गरे । शिक्षित छोरीहरुले यसरी नै दाइजो विरोधी अभियानमा उच्च मनोबलका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । पाँच वर्षकै उमेरदेखि गायन क्षेत्रमा लागेकी यादवको अहिलेसम्म मैथिली, नेपाली, हिन्दी, थारु, भोजपुरी, राजवंशीसहितका भाषा गरी ६ सय भन्दाबढी गीत रेकर्ड भईसकेको छ ।
यसअतिरिक्त उनी विगत दुई वर्षदेखि राजगढ गाउँपालिका स्थित मलेकपुरका डोम समुदायका तीन छोरीलाई विद्यालय भर्ना गराएर उनले लुगा तथा शैक्षिक सामग्री सहयोग गर्दैआएकी छिन् ।