• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. चुमनलालको सरुवा

गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. चुमनलालको सरुवा

राजविराज, ९ फागुन । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको सेवा–सुविधामा व्यापक परिवर्तन भईरहँदा मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासको सरुवा भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार डा. दासको सरुवा कोशी प्रादेशिक अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा सरुवा गरेको हो । करिब बीस महिना अघि सरुवा भई गजेन्द्रनारायण सिंह अस्पताल आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै भेरी प्रादेशिक अस्पतालको मेसुमा डा. प्रकाश थापालाइ जिम्मेवारी तोकिएको जनाईएको छ । सप्तरीको संसदिय क्षेत्र नम्वर २ का सांसद समेत रहेका तत्कालिन उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको कार्यकालमा मे.सु. डा. दास राजविराज आएका थिए ।
यस्तो थियो अस्पताल
रेफरल अस्पतालको उपमा पाएको ५० शैय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा डा. दास २०७५ जेठ २१ गते मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी पाएका थिए । उनी हाजिर हुँदा अस्पतालको अवस्था एकदमै जर्जर थियो । कुल १४ जना चिकित्सक कार्यरत रहेको थियो । सेवा सुविधाहरु भरपर्दो थिएन । स्थानीय इन्स्टिच्युटका विद्यार्थीहरुको भरमा अस्पताल सञ्चालन हुँदैआएको थियो । सेवा सुविधाको नाममा ओपिडी तथा गाइनोकोलोजीतर्फ सर्जरी सेवा सञ्चालनमा रहेको थियो ।
यस्तो छ अहिलेको अवस्था
समस्यै समस्याको चाङ्गका बिच मेसुको जिम्मेवारी सम्हालेयता अस्पतालमा व्यापक परिवर्तन भएको छ । अस्पतालको मास्टर प्लान तयारी गराई उनले अस्पताल सुधारको प्रक्रिया अगाडि बढाएका थिए । गाइनेतर्फ सर्जरी सेवा मात्र रहेको अस्पतालमा हाल हाडजोर्नीको अप्रेसन, पोष्ट अपरेटिभ वाड, नाक, कान र घाँटीको अप्रेसन, जेनरल सर्जरी, मेडिसिन, डायलायसिस, पेडियाट्रिक एनआइसियु सेवा, अत्याधुनिक डिआर मेसिनबाट एक्स–रे सेवा, सुविधा सम्पन्न प्रयोगशाला सञ्चालन गरी थाइराइड, डायबिटिज जाँच लगायतका सेवाहरु सञ्चालन हुँदैआएको छ ।
यसका साथै इमरजेन्सी (आकस्मिक) सेवातर्फ पुरानै संरचनामै इमरेन्सीमा २४ घण्टै मेडिकल अफिसर राखेर सेवा सञ्चालन, एकद्वार संकट व्यवस्थापनका चिकित्सकहरुलाई तालिम दिएर दक्ष बनाईएको छ । फोहोरमैलाका कारण दुर्गन्धित अस्पतालमा डब्लुएचओको मापदण्ड अनुसारको फोहोर व्यवस्थापन केन्द्र स्थापना गरी अटोकलेव मेसिनद्वारा निर्मलीकरण तथा शुद्ध खानेपानीको व्यवस्था, गरिब एवम् विपन्न विरामीहरुलाई सेवा पुर्याउने उद्देश्यकासाथ सामाजिक सेवा ईकाई सञ्चालन, ओपिडी सेवाको व्यवस्थापन, एम्बुलेन्स सेवा, फार्मेसी लगायतका सेवाहरु उनकै नेतृत्वमा सञ्चालनमा रहेको छ ।
अस्पताल परिसरमा विगत १२ वर्षदेखि निर्माण कार्य अलपत्र रहेको प्रसुती गृह निर्माण कार्य आवश्यक प्रक्रिया पुरा गरी अगाडी बढाईएको छ । उक्त कार्य हाल अन्तिम चरणमा पुगेको छ । ४५ करोडको लागतमा ओपिडी भवन निर्माण कार्य सञ्चालन, ईमरजेन्सी भवनको माथिल्लो तल्ला आइसियु सेवाकालागि पूर्वाधार निर्माण कार्य, स्टोर सुधार, आर्थिक कारोबारमा पारदर्शिता, कार्डिया सेन्टरकोलागि भवनको टेन्डर भईसकेको तथा सिटी स्क्यान सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको डा. दासले ‘न्यूज टुडे’लाई जानकारी दिए । उनकै नेतृत्वमा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकालागि पाँच तल्लाको ओसपडी भवन निर्माणको टेण्डर अन्तिम चरणमा, चिकित्सकको आवास कक्षसहितको ४५ करोडको लागतमा इण्डोर ब्लक निर्माण सञ्चालन, नर्सिङ्ग कलेजको भवन निर्माण कार्य, पोष्टमार्टम कक्ष निर्माण लगायतका कार्यहरु भईरहेको छ । यसअतिरिक्त अनेकौं कार्यहरु डा. दासले आफ्नै नेतृत्वमा गर्न सफल भएका छन् ।
डा. दास देशमै उत्कृष्ट मेडिकल सुपरिन्टेन्डेन्टको रुपमा चर्चित छन् । वेथिती रहेको अस्पतालमा सुधारकालागि नै उनलाई पठाईने गरिएको छ । उत्कृष्ट कार्य सम्पादन गरेका उनी पटक–पटक राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन् ।