• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

सप्तरीमा भव्यताकासाथ महाशिव रात्रि पर्व मनाइयो

सप्तरीमा भव्यताकासाथ महाशिव रात्रि पर्व मनाइयो

राजविराज, ०९ फागुन । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिव रात्रि पर्व शुक्रवार सप्तरीमा भव्यताकासाथ मनाइएको छ । सदरमुकाम राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथस्थित शम्भुनाथ मन्दिर, कञ्चनरुपस्थित भजनेश्वर महादेव मन्दिरमा हजारौं भक्तजनहरुले पुजापाठ गरी महाशिव रात्रि पर्व मनाएका हुन् ।
यसैगरी, लालापट्टिस्थित लालेश्वरनाथ मन्दिर, महादेवास्थित अंकुरी महादेव मन्दिर, मलेठस्थित भुतनाथ महादेव मन्दिर लगायतका शिवालयहरुमा हजारौं भक्तजनहरुले आराध्यदेव शिवको दर्शन तथा पूजापाठ गरेका मनाएका हुन् ।
हिन्दू धर्मावलम्वी महिला तथा पुरुषहरुले विहानैदेखि नदी, पोखरी, तलाउसहितका जलासयहरुमा स्नान गरी शिवालयहरुमा पुगेर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेका छन । यो पर्व गर्नाले पति र सन्तानको दिर्घायु तथा परिवारमा सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक रहेको शम्भुनाथ मन्दिरका पुजारी सुर्यनारायणले झाले बताउँछन ।


शिवरात्रि पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने भगवान् शिवको अति प्यारो दिनका रूपमा समेत लिने गरेको जनविश्वास रहिआएको छ । उता, शिवरात्रि पर्व मनाउन आउने श्रद्धालु भक्तजनकालागि राजविराजस्थित हरनन्देश्वर महादेव मन्दिर प्राङ्गणमा जिल्ला प्रहरी कार्यालय सप्तरी, सुर्या लाईफ ईन्स्योरेन्स, एनसी ईञ्जिरिङ्ग कन्सलटेन्सी, मिलन डेरी लगायतका संघ संस्थाहरुले निःशुल्क खानेपानी, दुध, बेलपत्र लगायतका पुजा समाग्री वितरण गरे ।
उपसभामुख देवद्वारा दर्शन तथा पुजापाठ
प्रदेश २ की उपसभामुख उपमा देवले महाशिव रात्रि पर्वको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्वर ३ स्थित शम्भुनाथ मन्दिरमा दर्शन तथा पुजापाठ गरेकी छन । पुजापाठ पश्चात न्युज टुडेसँग कुरा गर्दै उनले मन्दिर आसपासको भौतिक संरचनाहरु थप व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याइन् । ‘मन्दिर आसपासका केही भौतिक संरचनहरु व्यवस्थित गरी मन्दिरको विषयमा प्रचार प्रसार कार्यमा सवैलाई जुट्नु जरुरी छ’ उपसभामुख देवले भने–‘सप्तरीमा पुरानो मन्दिरमध्येको एक मन्दिर रहेपनि प्रचार प्रसार हुन नसकेको छैन् ।’
उनले यसको प्रचार प्रसार गर्न सकियो भने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत भित्र्याउन सक्ने प्रचुर सम्भावना रहेको प्रचार प्रसार जुट्नै सवैमा आग्रह गरिन् । ‘आ–आफ्नो ठाउँबाट पहल गर्नुस्, बाँकी मन्दिरलाई व्यवस्थित गर्न प्रदेश सरकारसँग आफुले कुरा गर्नेछु’, उनले भनिन् ।
३ सय किलोको घण्टा स्थापना
शिवराति पर्वकै अवसर पारेर राजविराज वडा नम्वर ७ स्थित भुतनाथ महादेव मन्दिरमा ३ सय किलोग्रामको पीतलको घण्टा स्थापना गरिएको छ । मन्दिरमा भक्तजनले चढाएको दानपेटिका तथा स्थानीयवासिन्दासँग सहयोग संकलन गरेर २ लाख २५ हजार रुपैयाँ बराबरको लागतमा तयार गरिएको सो घण्टा स्थापना गरिएको हो ।
मन्दिरमा घण्टा स्थापनार्थ हटिया तथा नगरवासीले गरेको सहयोगप्रति भुतनाथ महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण साहले धन्यवाद समेत व्यक्त गरेका छन ।