• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा २०२०) सम्पन्न (भिडियो हेर्नुहोस्)

‘विशुद्ध धार्मिक र मुलुकमा शान्ति तथा समृद्धिका कुरामा प्रवचन केन्द्रित रह्यो’
इस्लामिक धार्मिक सम्मेलन (इज्तिमा २०२०) सम्पन्न  (भिडियो हेर्नुहोस्)

राजविराज, ०५ फागुन । विशुद्ध धार्मिक र मुलुकमा शान्ति तथा समृद्धिकालागि सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सोमवार विधिवत रुपमा सम्पन्न भएको छ ।
विश्व साद साहाब जमातका प्रमुख दिल्लीबाट आएका मौलाना हजरत साद साहाबकासाथै सम्मेलनमा उपस्थित झण्डै तीन लाख सहभागीले संयुक्त रुपमा नवाज पढ्दै (प्रार्थना गर्दै) सम्मेलन समापनको घोषणा गरिएको हो । गत शनिवारदेखि सुरु भएको तीन दिवशीय धार्मिक सम्मेलन विशुद्ध धार्मिक तथा समाज र मुलुकमा शान्ति तथा समृद्धिकालागि भएको इज्तिमा आयोजक समितिका अध्यक्ष मो.गफुरले जानकारी दिएका छन । ‘समाज तथा मुलुकमा शान्तिकालागि आयोजना गरिएको सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न भयो’ उनले भने–‘सम्मेलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दछु ।’


उनले सम्मेलनमा एक लाख सहभागीलाई लक्षित गरी २१ लाख ६० हजार स्क्वाइर फिटको पण्डाल निर्माण गरिएपनि सहभागी बढी आएकाले उनीहरुलाई केही समस्या खेप्नु परेको पनि बताए । तीन गुणाबढी सहभागी आएकाले उनीहरुलाई केही समस्या भएपनि अन्य कुरा सवै राम्रो रहेको उनले बताए ।
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष मो.समिम अन्सारीले तीन दिनसम्म भएको धार्मिक प्रवचन ज्ञानकासाथै समाज र देशमा समृद्धि तथा शान्तिका कुरामा केन्द्रित रहेको बताए । ‘विश्व साद साहाब जमातका प्रमुख दिल्लीबाट आएका मौलाना साद साहाब लगायतका धर्मगुरुहरुले प्रवचन वाचन गर्नु भएको छ’ उनले भने–‘जुन विशुद्ध रुपमा धार्मिक तथा शान्तिका कुरामा केन्द्रित रह्यो ।’