• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
जाँजरमा ‘इज्तिमा’ सुरु

उमेशकुमार साह
बोदे बरसाईन, ०३ फागुन । सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा इस्लामिक सम्मेलन ‘इज्तिमा’ सुरु भएको छ ।
शनिवारदेखि सोमवारसम्म चल्ने ‘इज्तिमा’मा भारतको नयाँ दिल्लीका धर्मगुरु मौलाना साद साहाब लगायतका धर्मगुरुहरुबाट प्रवचन वाचन हुने कार्यक्रम रहेको छ । सम्मेलनमा सहभागी हुन शनिवार दिउँसोसम्म नेपाल तथा भारतका दुई लाखबढी मुस्लिम समूदायहरु उपस्थित भईसकेका छन भने सहभागी आउने क्रम जारी नै रहेको छ ।


सो सम्मेलनमा ५ लाखसम्म मुस्लिम समूदाय सहभागी हुने आयोजक समितिले जनाएको छ । प्रवचन वाचन हुने ठाउँमा २१ लाख ६० हजार स्क्वाइर फिटको पण्डालकासाथै सहभागीहरुलाई बसोवासकालागि १ सय विग्घा क्षेत्रमा टहराहरु निर्माण गरिएको छ भने २ हजार शौचालय निर्माण गरिएको आयोजक समितिले जानकारी दिए ।
५ सयबढी सुरक्षाकर्मी परिचालित
सरकारले राष्ट्रियस्तरमा सम्मेलन गर्न अनुमति दिएपनि आयोजकले तेश्रो मुलुकका व्यक्तिहरुलाई सहभागी गराएपछि विवादीत बनेको सम्मेलनस्थलमा व्यापक प्रहरी परिचालित गरिएको छ । सम्मेलनको सुरक्षा व्यवस्था तथा हुनसक्ने सुरक्षा चुनौतीको विषयलाई गम्भिरतापूर्वक लिइएको सप्तरीका एसपी कृष्ण प्रसाईंले बताएका छन । जसकालागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी ५ सयबढी सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।
मदिराजन्य पदार्थ निषेध
‘इज्तिमा’ को सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाभरि तीन दिनकालागि मदिराजन्य पदार्थ विक्रि वितरण निषेध गरिएको छ । नगर कार्यपालिकाको कार्यालयले निर्णय गरेर वडा नम्वर ५ जाँजरमा शनिवारबाट सुरु भएको इज्तिमाको सुरक्षालाई मध्यनजर गर्दै शनिवारदेखि सोमवारसम्म मदिराजन्य पदार्थ विक्रि वितरणमा निषेध गरेको हो ।


सो अवधिमा मदिराजन्य पदार्थ विक्रि वितरण गरेको पाइएमा सो व्यवसायीको दर्ता खारेज गरी कानूनबमोजिम कारवाही गरिने नगरपालिकाले जारी सुचनामा उल्लेख रहेको छ ।