Top_Header_Right_Add
Crona Awareness

अझै निभ्न सकेन जातिय छुवाछुतको मुस्लो

‘अन्य कुरा केही थाहा छैन मलाई, तर मेरै हातबाट तयार पारिएको मुर्तिसमक्ष मेरै शरीर कसरी अछुत भयो?’ उनले भने–‘काटे रगत रातो नै छ, तर पनि पापी संसारमा हामीलाई अछुत भनेर हेला गर्छन ।’
अझै निभ्न सकेन जातिय छुवाछुतको मुस्लो

विद्यानन्द राम
राजविराज, ११ माघ । ‘हमरे डाला पनपथिया सँ, देवतो पितर पूजाई छै । कहु यौ बाबु तैयो हमर, देहि किया छुवाई छै ।’ तराई मधेशमा विद्मान रहेको सामाजिक विभेदलाई अन्त्य गर्न गीतकार धीरेन्द्र प्रेमर्षीद्वारा लेखिएको यो मैथिली गीत एक छत्र राज गर्न सफल भयो ।
गीतमा दलित समूदायमा पर्ने डोमहरुले कथित उपल्लो जातिका मानिसबाट खेप्दै आएको छुवाछुतको परिस्थितीलाई दर्साइएको छ । राजतन्त्र हुँदै मुलुक गणतन्त्रमा आइसकेर तन्त्र त फेरियो । तर, दलित समूदाय भने अझै पनि छुवाछुतबाट बाहिर आउन सकेको छैन् । यसैको पछिल्लो उदाहरण हुन्–‘दलित मुर्तिकार बुधेश्वर राम’
सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ बनौलीका रामले मुर्तिकलामा लागेको दुई दशक अर्थात २० भयो । बाल्यकालदेखि नै मुर्तिकलामा निकै रुचि राखेका रामले प्रशिक्षण विना नै १३ वर्षकै उमेरदेखि आकर्षक र मोहित पार्ने खालका माटाका मुर्तिहरु बनाउन थाले ।
आर्थिक अवस्था निकै कमजोर रहेका कारण रामले प्रविणता प्रमाणपत्र तहसम्म मात्रै शिक्षा हासिल गर्न सके । र मुर्तिकला पेशालाई नै जीविकोपार्जनको माध्यम बनाएर अघि बढे । अहिले उनी जिल्लामै अब्बल मुर्तिकारको रुपमा परिचित छन् ।


वसन्त पञ्चमी, वडा दशैं, लक्ष्मी पुजा, विश्वकर्मा पुजा लगायत चाडवाडको वेला रामले मुर्ति बेचेरै वार्षिक ४–५ लाख रुपैयाँसम्म आयआर्जन गरेर परिवार धान्दै आएका छन् । तर, तराई मधेशमा विद्मान रहेको जातिय छुवाछुतका कारण आफैले दिनरात मिहिनेत गरेर बनाएको मुर्ति देउता घरमा पुगेपछि आफ्नै शरीर अछुत भएपछि उनलाई पिरोलेको छ । ‘मुर्ति तयार पार्न आवश्यक पर्ने माटाकासाथै अन्य सवै काम आफैले गर्छु’ उनले भने–‘दिनरातको मिहिनतपछि मुर्ति तयार हुन्छ र त्यहि मुर्ति विक्री गरेर आफुसहित परिवारको दैनिकी चलाउँदै आएको गर्छु ।’ तर, छुवाछुतका कारण आफुहरुलाई काम गर्न समेत जागर कम हुँदै गएको भन्दै रामले मुर्ति खरिद विक्री गरुनजेल कसैलाई जातपातको मतलव नभएपनि त्यहि मुर्ति किनेर देउता घरमा स्थापित गरेपछि आफुहरुलाई नै छुन नदिइरहेका कारण चित्त दुख्ने गरेको दुखेसो गरे । अन्य कुरा केही थाहा छैन मलाई, तर मेरै हातबाट तयार पारिएको मुर्तिसमक्ष मेरै शरीर कसरी अछुत भयो?’ उनले भने–‘काटे रगत रातो नै छ, तर पनि पापी संसारमा हामीलाई अछुत भनेर हेला गर्छन ।
उनले आँखा नदेख्ने अन्धो उपल्लो जातका केही व्यक्तिहरुको कारणले आफुहरुलाई स्वतन्त्रतापूर्वक बाँच्ने वातावरण समेत अझैसम्म सिर्जना हुन नसकेको गुनासो गरे । ‘जात, वर्ग, लिङ्ग र पेशाको आधारमा छुवाछुत वा विभेद गर्नेलाई कानूनी दायरामा ल्याउन ऐन कानूनको व्यवस्था गरिएको छ रे’ उनले भने–‘तर खै? ती ऐन कानून कार्यान्वयन भएर कारवाही भएको मेलै देखेको वा सुनेको छैन् ।’
उनले आफु जस्ता दलित समूदायका युवाहरुले जीविकोपार्जनकालागि अंगालेको पेशा संरक्षण गर्नकालागि पनि जातिय छुवाछुत गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने आवश्यकता रहेको बताए । ‘आफु जस्ता दलित युवाहरुको जनजीवन सहज पार्नेतर्फ सवैको ध्यान पुग्नु आवश्यक छ’ उनले थपे–‘यसतर्फ तीन तहकै सरकारकासाथै यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुलाई समेत आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न आग्रह छ ।’
दलित अगुवा युक्तिलाल मरिकले २०२० सालमै छुवाछुत अन्त्य भएको घोषणा भएपनि ५६ वर्ष पुग्दासमेत भूगोलमा छुवाछुतको डढेलो उस्तै रहेको प्रति दुख व्यक्त गरे । ‘जातिय आधारमा छुवाछुत गर्नेलाई दण्डित पार्न ऐन कानूनको व्यवस्था नभएको पनि होइन्’ उनले भने–‘तर, सरकारले उपलब्ध ऐन कानूनलाई कार्यान्वयन गराउन नसक्दा विभेदको मुस्लो निभ्न सकिएको छैन् ।’ उनले अझै सरकारले यसतर्फ ध्यान नपु¥याए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
स्मरण होस्, ‘जाति, धर्म, वर्ण वा पेशाका आधारमा भेदभावपूर्ण व्यवहार र निषेध हुनेछैन’ भन्दै अन्तरिम व्यवस्थापिका संसद्ले २०६३ सालमा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको छ भने सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीका व्यवस्थामा कुनै पनि भेदभाव गर्न नपाइने तथा गरे कानुनबमोजिम दण्डित गर्नुपर्ने वा हुनुपर्ने व्यवस्थासहित छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।