• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

को हुन् राष्ट्रियसभामा निर्वाचित मृगेन्द्र र शेखर ?

यस्तो छ राजनीतिक जिवनयात्रा
को हुन् राष्ट्रियसभामा निर्वाचित मृगेन्द्र र शेखर ?

राजविराज, १० माघ । राष्ट्रियसभाको निर्वाचनमा नेकपा–राजपा गठबन्धनबाट सप्तरीका दुई जना निर्वाचित भएका छन् ।
अल्पसंख्यक समूहतर्फ गठबन्धनतर्फबाट उम्मेदवार रहेका राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार शेखरकुमार सिंहले नेपाली काँगे्रसका उम्मेदवार भोला पञ्जियारलाई पराजित गरेका हुन् । सिंहले ५ हजार ५ सय २ मतभार प्राप्त गरेका छन् भने पञ्जियारले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका छन् ।
अन्य समूहतर्फ पनि गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनता पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव विजयी भएका हुन् । सिंहले ५ हजार ४ सय मतभार प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी समाजवादी पार्टीका अनिरुद्धकुमार सिंहले ४ हजार ५ सय १२ मतभार प्राप्त गरेका छन् ।
मृगेन्द्र कुमार सिंह
सप्तरीको बोदेबर्साईन वडा नम्वर– १ निवासी स्व. शत्रुघन प्रसाद यादव र जीवेश्वरी देवी यादवका छोरा हुन् मृगेन्द्र कुमार सिंह । वि.सं. २०१२ साल फागुन १२ गते उनको जन्म भएको हो । स्नातक तहसम्म शिक्षा आर्जन गरेका उनी राष्ट्रिय जनता पार्टी, (राजपा) नेपालका वरिष्ठ उपाध्यक्ष हुन् ।
मृगेन्द्र साढे तीन दशकदेखि राजनीतिमा सक्रिय छन् । २०४२ सालमा राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार भएर उनले राजनीतिको श्रीगणेश गरेका थिए । तत्कालीन राष्ट्रिय पञ्चायतको २०४२ सालमा भएको उपचुनावमा उनी पराजित भएका थिए । २०४३ सालमा उनी विजयी भएर राष्ट्रिय पञ्चायत सदस्यको जिम्मेवारी पाएका थिए ।
०४६ सालको अन्त्यतिर तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सरकारमा यादव सहायक सिंचाई मन्त्री बनेका थिए । राष्ट्रिय पञ्चायतको जलस्रोत समितिको सभापति भएर पनि यादवले काम गरेका थिए । प्रजातन्त्रको पुनःस्थापना पछि उनी २०४८ सालमा स्वतन्त्र रुपमा चुनाव लडे पनि निकटतम प्रतिद्वन्द्वी भएका थिए ।
चुनावमा पराजय भएपछि यादव नेपाल सद्भावना पार्टीमा प्रवेश गरेका थिए । २०४९ सालमा जिल्ला विकास समितिको सभापतिमा चुनाव लडे पनि उनी पराजित भएका थिए । सदभावना पार्टीका तर्फबाट २०५१ सालको मध्यावधि चुनावमा उम्मेदवार बने पनि पराजित भए । २०५६ सालमा मृगेन्द्रले सद्भावना पार्टीको तर्फबाट सांसदमा निर्वाचित भएका थिए । २०६४ सालमा मधेशी जनअधिकार फोरम, नेपालको तर्फबाट उम्मेदवार भई सांसद बनेका थिए ।
फोरम नेपाल विभाजन भएपछि उनी विजयकुमार गच्छादार नेतृत्वको फोरम (लोकतान्त्रिक)मा लागेका थिए । सोही क्रममा माधवकुमार नेपाल नेतृत्वको सरकारमा कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए । संसद र संविधान सभामा हुँदा उनले विभिन्न समितिमा रहेर उनले काम गरे । तत्पश्चात गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक परित्याग गर्दै उनी राजपामा प्रवेश गरेका थिए ।
गठबन्धनकोतर्फबाट राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार भई उनले ५ हजार ४ सय मतभार प्राप्त गरि विजयी भएका छन् ।
शेखर कुमार सिंह
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर–४ (साबिक कोइलाडी वर्साइन–१) स्थित कोइलाडीमा माता स्व. गया देवी सिंह तथा पिता सिता प्रसाद सिंहको कोखबाट शेखर कुमार सिंहको जन्म २०१३ सालमा भएको हो । प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनी किशोरावस्थादेखि नै सामाजिक क्षेत्रमा रहँदैआएका छन् ।
वि.सं.२०३५ सालदेखि राजनीतिमा सक्रिय रहँदैआएका उनी २०६१ सालमा राजविराजको पुनरावेदन अदालतमा न्यायिक समितिको सदस्य समेत भएका थिए । शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीमा २०६९ प्रवेश गरी राजनीतिमा सक्रिय भएका थिए । सोही पार्टीबाट उनले संसदीय क्षेत्र नम्वर २ बाट प्रतिनिधी सभा सदस्यमा उम्मेवार भएका थिए । यद्यपी उनले जीत भने हासिल गने सकेन । मधेश आन्दोलनमा सक्रिय रहँदै मधेशवादी पार्टीहरु एकीकरण भई निर्माण भएको राष्ट्रिय जनता पार्टी (राजपा) मा सिंह वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।
खेलकुद एवम् समाजसेवामा सक्रिय उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य समेत भएका थिए । सिंह नेपाल रेडक्रस सोसाईटी, लायन्स क्लव लगायतका संस्थाहरुमा आजिवन सदस्य छन् । उनका तीन तीन भाइ छोराहरु क्रमशः सुरज कुमार सिंह, सतिश कुमार र सत्यवान सिंह रहेका छन् । उनका माइलो छोरा सतिश राजपाबाटै तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष हुन् ।
राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार सिंहले ५ हजार ५ सय २ मतभार प्राप्त गरी विजयी भएका छन् ।