Top_Header_Right_Add
Crona Awareness

गिरिजा, प्रचण्ड र गजेन्द्र

सन्दर्भः गजेन्द्र स्मृति दिवस
गिरिजा, प्रचण्ड र गजेन्द्र

-अजय कुमार झा

माघ १० शुक्रबार आदरणीय गजेन्द्र नारायण सिंहको १८ औं पुण्यतिथि । यस आलेखद्वारा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । उहाँको पुण्यतिथिले वर्षमा एक पटक सबैलाई झस्काउने गरेको छ । यस अवसरमा म जस्तै धेरैधेरैले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछन् । श्रद्धाको फूल उसैलाई चढाइन्छ, जसको जीवन उसको आफ्नो लागि रहेको हुँदैन । उसका कृति उसैका लागि नभई समाजका लागि रहेका हुन्छन् । उसले संसारबाट लिने कुरा जानेको हुँदैन, संसारलाई नै दिने कुरा जानेको हुन्छ । उसको जीवन, योगदान र विचार सबै समय, काल र युगद्वारा निर्दिष्ट रहेको प्रतीत हुन्छ ।

        अजय कुमार झा

गजेन्द्र नारायण सिंहको विचारले आज नेपाली समाजलाई दिशानिर्देश गरिरहेको छ । यद्यपि गजेन्द्र नारायण सिंहको देहावसानपछि मात्र नेपालले संघीयता आत्मसात गर्यो, तर यहाँको संघीय आन्दोलनको शंखनाद सिंहले नै गर्नुभएको हो । भौगोलिक र सांस्कृतिक पहिचानको आन्दोलन आज नेपाली राज्यसत्ताको शीर्ष वा केन्द्रमा पुगिसकेको छ । तर यसको फेद वा परिधि भनेको गजेन्द्र नारायण सिंह नै हो । आरक्षण वा समावेशीकरणको अनुपातमा अझै वृद्धि गर्नुपर्छ भन्ने कुरा र बहस आज पनि चलिरहेको छ । तर यस कुराको उठान गजेन्द्र नारायण सिंहले गर्नुभएको हो ।
नेपालमा संघीयता, पहिचान, आरक्षणको आन्दोलनलाई समग्रमा मधेशवादको आन्दोलन अर्थात् मधेश आन्दोलनको नामले पनि जानिन्छ । तर यो मधेश आन्दोलन मात्र थिएन, एक राष्ट्रिय आन्दोलन नै हो । तर यसको उठान र एक लामो कालखण्डको केन्द्र मधेश नै भएकोले यसलाई मधेश आन्दोलन भनिएको हो । जे होस्, तर मधेश आन्दोलन नै भने पनि यस आन्दोलनको सूत्रधारको रूपमा रघुनाथ ठाकुर, रामजन्म तिवारी र गजेन्द्र नारायण सिंह गरी तीनजना चिनिनुहुन्छ । यी तीनमध्ये सिंह तेस्रो व्यक्तित्वको रूपमा देखिए पनि मधेश मुद्दालाई नेपाली राजनीतिको केन्द्रीय विषय बनाउने काम गजेन्द्र नारायण सिंहले गर्नुभयो । सिंहले समय र परिस्थितिलाई विश्लेषण गर्दै जनमतको आधारमा संसद् र सरकारमा पुग्नुभयो र त्यहाँ मधेशको मुद्दालाई सूचीबद्ध गराउनुभयो ।
गजेन्द्र नारायण सिंह वि.सं. २०५१ सालमा काठमाडौंको भद्रकालीमा अनशन बस्नुभयो । मधेशी समुदायको समस्याप्रति सरकारको ध्यान केन्द्रित होस् भन्ने उहाँको माग थियो । त्यतिबेला गिरिजा प्रसाद कोइरालाको सरकार थियो । अनशनको दशौं–एघारौं दिन अनशनकारी सिंह चेतना गुमाउँदै गएको अवस्था थियो । त्यस अवस्थामा सरकारले गृहमन्त्री शेर बहादुर देउवालाई सम्झौताको लागि पठायो र तीन बुँदे सम्झौता भयो । मधेश आन्दोलनको यो पहिलो यस्तो घटना थियो, जसमा सरकारले नेपाल सद्भावना पार्टीले उठाएका समस्याहरूलाई क्याबिनेटमा सूचिबद्ध गर्यो ।

   
गजेन्द्र नारायण सिंहको संघर्ष मधेश र मधेशी समुदायको अधिकारका लागि मात्र थिएन, नेपालका शासित, शोषित, पीडित, उत्पीडित, उपेक्षित सबै क्षेत्र र संस्कृतिको अधिकारको लागि थियो र हो पनि । उहाँका अभिव्यक्तिहरूमा “मधेशी” मात्र होइन, “मधेशी, दलित र जनजाति आदि पिछडिएका सबै जाति र समुदायको हक र अधिकार” भनी उल्लेख हुने गरेको तथ्यलाई केलाउँदा मधेशी भन्नाले देशभरमा छरिएर रहेका मधेशी वा दलित र जनजाति भन्दा देशभरिमा बसोवास गर्ने दलित र जनजाति भनी बुभिन्छ भन्ने मात्र होइन, त्तकालीन प्रत्येक दस्तावेजहरूबाट स्पष्ट छ ।


मधेशवादको संघर्षमा ओर्लनुअघि गजेन्द्र नारायण सिंह लोकतन्त्रका योद्धा थिए । लोकतन्त्रको संघर्षमा उहाँ जीवनपर्यन्त लाग्नुभयो । उहाँले भन्नुभएको थियो कि लोकतन्त्रमाथि संकट आइपरेको बेला सामुदायिक अधिकारको कुरा छोडेर पहिला लोकतन्त्रको लागि लड्नुपर्छ । किनभने लोकतन्त्रभित्रबाट मात्र सामुदायिक अधिकार निःसृत हुनसक्छ । सिंह पञ्चायत र राजाको समर्थक थिए भन्ने कुरा अहिले पनि कसैकसैले गरेको सुनिन्छ । सिंह पञ्चायत वा राजाको समर्थक हुनुहुन्थिएन । उहाँले २०३६ को जनमत संग्रहपछि बहुदलवादीहरूले लिएको नीतिका तहत अरू प्रतिबन्धित पार्टीहरूसँगै राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर जानुभयो । राष्ट्रिय पञ्चायतमा उहाँका साथमा पद्मरत्न तुलाधर, जागृत कुमार भेटवाल, रूपचन्द विष्ट (थाहा) आदि बहुदलवादी नेताहरू हुनुहुन्थ्यो । उहाँहरूले बहुदलीय आन्दोलनको रणनीति अनुरूप पञ्चायत व्यवस्थाको भण्डाफोड गर्नुभयो ।

मधेश आन्दोलनको सूत्रधारको रूपमा रघुनाथ ठाकुर, रामजन्म तिवारी र गजेन्द्र नारायण सिंह गरी तीनजना चिनिनुहुन्छ । यी तीनमध्ये सिंह तेस्रो व्यक्तित्वको रूपमा देखिए पनि मधेश मुद्दालाई नेपाली राजनीतिको केन्द्रीय विषय बनाउने काम गजेन्द्र नारायण सिंहले गर्नुभयो । सिंहले समय र परिस्थितिलाई विश्लेषण गर्दै जनमतको आधारमा संसद् र सरकारमा पुग्नुभयो र त्यहाँ मधेशको मुद्दालाई सूचीबद्ध गराउन सफल हुनुभयो ।

राष्ट्रिय पञ्चायतमा सिंहले राख्नुभएको विचार आज पनि सार्वजनिक दस्तावेजको रूपमा रहेको छ । अध्ययन र अनुसन्धान गर्न धेरै मिहेनत गर्नु पर्दैन । उहाँले राष्ट्रिय पञ्चायत रोष्टमबाट भनेको कुरा कि “यो देशमा न राजा रहन्छ न राजमुकुट” भन्ने कुरा गजेन्द्र नारायण सिंहको देहावसानको केही वर्षमै सावित भयो । वि.सं. २०१७ मा राजा महेन्द्रले संसदीय व्यवस्थालाई प्रबिन्धित गरेर एकल शासन प्रारम्भ गर्दा प्रजातन्त्रवादीहरू तीनधारमा विभाजित भए— राजाको कदमलाई समर्थन गरेर राजासँगै जाने, राजाको कदमप्रति तटस्थता देखाई मुलुकमै बस्ने र राजाको कदमको विरोध गरेर निर्वासित भएर जाने । गजेन्द्र नारायण सिंह तेस्रो धारको नेता थिए, जो निर्वासित मात्र भएनन् बल्कि राजाको कदम विरुद्ध संघर्ष पनि गरे र पटक पटक जेलमा पनि परे ।
गजेन्द्र नारायण सिंहले नेपाली समाजमा राजनीतिक जागरुकताका लागि काम गर्नुभयो र नेपाललाई एकताबद्ध बनाउने कार्यमा महत्वपूर्ण योगदान दिनुभयो । तराई र मधेशमा विकसित भइरहेको अलगाववादको ऊर्जालाई उहाँले नेपाली राष्ट्रियतामा आधारित संघीय आन्दोलनमा लाग्ने अवस्था तयार गर्नुभयो । सिंहले हिमाल, पहाड र तराईलाई जोडने आधार तयार गर्नुभयो । राष्ट्रिय एकताको पक्षधरले सिंहको विचारधाराको अनुशरण गर्नुको विकल्प छैन । उहाँले झापादेखि कञ्चनपुरसम्म जनजागरण रथ लिएर यात्रा पनि गर्नुभयो ।

गजेन्द्र नारायण सिंह एक नेपाली राजनीतिज्ञ थिए । उहाँले नेपाल सद्भावना परिषद् र नेपाल सद्भावना पार्टी स्थापना गरेर विभेदविरुद्ध संघर्षको पृष्ठभूमि तयार गर्नुभयो । भेदभावविरुद्धको मुद्दालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउनुभयो । उहाँको १० माघ, २०५७ को दिन काठमाडौंमा देहावसान भयो । उहाँको पार्थिव शरीर राजविराजस्थित सप्तरी सेवा आश्रममा ल्याइयो र ११ माघको दिन उहाँको पूर्ण राजकीय सम्मानका साथ अन्त्येष्ठि गरियो ।
गजेन्द्र नारायण सिंहले एकदम सरल र तपस्यापूर्ण जीवन बिताउनुभयो । उहाँले धेरै जसो समय निर्वासनमा बिताउनुपर्यो । स्वदेशमा बस्दा उहाँले आफ्नै भूमिमा निर्माण गर्नुभएको सप्तरी सेवा आश्रममा बिताउनुभयो । उहाँले “गजेन्द्र नारायण सिंह जन कल्याण ट्रष्ट” स्थापना गर्नुभयो । जसको उद्देश्य गरीब, असहाय र पिछडिएका समुदायहरूको हेरचाह गर्नु थियो ।

गजेन्द्र नारायण सिंह माध्यमिक शिक्षा अध्ययन गर्दैको अवस्थामा वि.सं. २००४ मा आफ्नो राजनीतिक जीवन प्रारम्भ गरी नेपाली राष्ट्रिय कांग्रेसमा सामेल हुनुभयो । उहाँले आफ्नो जीवनको तीन दशक नेपाली कांग्रेसलाई दिएर नेपाल सद्भावना परिषद् भनेर चिनिने सांस्कृतिक मञ्चको स्थापना गर्नुभयो । त्यतिबेला नेपाली जनतालाई राजनीतिक संगठन खोल्ने अधिकार थिएन । त्यतिबेला लोकतन्त्रवादीहरूले सामाजिक मञ्चलाई राजनीतिक जागरणका लागि प्रयोग गर्दथे । त्यसैले उहाँले परिषद् खडा गर्नुभयो, जो पछि राजनीतिक दलमा परिणत भयो । उहाँले विद्यापति समारोहजस्ता मैथिली भाषा साहित्यजस्ता मञ्च पनि प्रयोग गर्नुभयो ।
गजेन्द्र नारायण सिंहले राणा शासनको अन्त्यपछि नेपाली कांग्रेसमा मधेश विरोधी नीतिहरूको उन्मूलनका लागि आवाज उठाउनुभयो । तर पार्टीले मधेशीप्रतिको विभेदप्रति मौनता कायम राख्यो । यही कुरा नेपाल सद्भावना परिषद् गठनको कारण बन्यो ।

गजेन्द्र नारायण सिंहले संसद्मा समेत आफ्नो सांस्कृतिक पहिचान परम्परागत धोती र कुर्ता लगाउनुभयो जब कि आधिकारिक पोशाक “दौरा सुरवाल” थियो । कतिपय सांसदहरूको विरोधका बावजुद सिंहलाई संसदीय बहसमा हिन्दीमा बोल्न छाड्नुभएन । उहाँले तराईमा जन्मेका र हुर्केका अधिकांश मधेशीलाई पूर्ण नागरिकता अधिकार, सांस्कृतिक पहिचान र शासनमा समान सामुदायिक प्रतिनिधित्वका लागि वकालत गर्नुभयो । निर्वाचन क्षेत्रहरूको पुनर्गठन, कर्मचारी, सेना र प्रहरी संगठनमा मधेशी, जनजाति, दलितको समानुपातिक उपस्थितिका लागि आवाज उठाउनुभयो । उहाँले सबै प्रकारका विभेदको विरोधमा आवाज उठाउँदा सांसदहरू उहाँको विरोधमा टाउको उठाउन सक्दैन थिए ।
गजेन्द्र नारायण सिंहको देहावसान भएको दुई दशक हुन लागेको छ । यस अवधिमा माओवादी जनयुद्ध शिखरमा पुगेर गणतन्त्रको स्थापना भयो । राजा र राजतन्त्र इतिहास बने । लोकतन्त्रमाथिको सबैभन्दा ठूलो खतरा हट्यो । त्यस्तै मधेश आन्दोलन शिखरमा पुगेर संघीय शासन पद्धतिको स्थापना भयो । गजेन्द्र नारायण सिंहले वि.सं. २०४६ मा पञ्चायती व्यवस्थाको समापनपछि नयाँ संविधान निर्माणका लागि माग गर्नुभएको संविधान सभाको निर्वाचन साँच्चिकै अब आएर पूरा भएको थियो । मधेशी, जनजाति, दलित, खस आदि कलष्टर निर्माण गरी प्रत्यक्ष तथा समानुपातिक विधिबाट संविधानसभाको निर्वाचन भयो । पहिलो संविधान सभाले संविधान निर्माण गर्न सकेन । दोस्रो पटक निर्वाचन भयो र त्यस निर्वाचनमा परिवर्तनकारी पक्ष केही कमजोर भएर गयो । जसको असर नयाँ संविधानको ठाउँठाउँमा देखा पर्दछ । ती कुराहरू सच्याउनका लागि संविधान संशोधनको नाममा अहिले पनि एक प्रकारको आन्दोलन जारी छ तर खासै प्रभावकारी ढंगबाट चलेको छैन ।
गजेन्द्र नारायण सिंहले निर्माण गर्नुभएको नेपाल सद्भावना पार्टी अहिले अस्तित्वमा छैन । पार्टी अनेक पटक र किसिमले फुट्दै जुट्दै अन्त्यमा विलिन भएर गएको प्रतीत हुन्छ । गजेन्द्र नारायण सिंहको नाम लिने धेरै भए पनि उहाँको विचारधारा, नीति र संघर्षको स्वामित्व लिने कोही छैन ।


वास्तवमा गजेन्द्र नारायण सिंह आधुनिक नेपालका विभुति हुन् । नेपालमा प्रजातन्त्रका प्रवत्र्तक विपी कोइरालालाई मानिए पनि लोकतन्त्रका सर्जक गिरिजा प्रसाद कोइराला हुन् । गणतन्त्रका सूत्रधार रामराजा प्रसाद सिंह भए पनि गणतन्त्रका सर्जक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । त्यसै गरी संघीयताका सूत्रधार रघुनाथ ठाकुर र रामजन्म तिवारी भए पनि संघीयताका सर्जक गजेन्द्र नारायण सिंह नै हुन् ।
नेपाली जनताको जीवन संघर्ष नै संघर्षले भरिएको छ । गणतन्त्र, लोकतन्त्र र संघीयताको स्थापना भई सकेपछि पनि ती कुराहरूको दिगोपनाप्रति नेपाली जनता ढुक्क हुन सकिरहेका छैनन् । किनभने गणतन्त्र, लोकतन्त्र र संघीयताको प्राप्तिका लागि संघर्ष गरेका शक्तिका उत्तराधिकारीहरू गणतन्त्र, लोकतन्त्र र संघीयताप्रति गम्भीर छैनन् र अनेक व्यसनमा संलग्न रहेका प्रतीत हुन्छन् । गणतन्त्र, लोकतन्त्र र संघीयताका विरोधीहरू पटक पटक टाउको उठाउँदै गरेको कुरालाई अनदेखा गर्दा दुर्घटनामा पर्न सकिन्छ । जनताको साथ नलिई गणतन्त्र, लोकतन्त्र र संघीयताका विरोधीहरूलाई साम्य पार्न सकिँदैन । जनताको साथ लिन गणतन्त्र, लोकतन्त्र र संघीयताका संवाहकहरूले जनपक्षीय भएर आफ्नो कामकाज गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य गर्नुपर्छ र सुशासन बहाल गर्नुपर्छ । साथै हामीलाई गणतन्त्र, लोकतन्त्र र संघीयता प्रदान गर्ने विभुति र शहीदहरूको संस्मरण गर्ने उनीहरूको विचारधारालाई अनुकरण गर्ने संस्कार निर्माण गर्नुपर्छ ।
(लेखक झा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन, सप्तरीका अध्यक्ष हुनुहुन्छ ।)

About The Author