Top_Header_Right_Add

अधिकारसहित पहिचानकालागि संघर्ष जारी छः अध्यक्ष यादव

अधिकारसहित पहिचानकालागि संघर्ष जारी छः अध्यक्ष यादव

राजविराज, ५ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहिदको सपना पुरा गर्न आफुहरु कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
बलिदानी दिवसको अवसरमा आइतवार सिरहाको लहान स्थित रमेश महतो लगायतका सहिदहरुको शालिकमा माल्यार्पण गर्दै उनले यस्तो बताएका हुन् । सहिदहरुको सपना साकार पार्न आफुहरु संघर्षरत रहेको बताउँदै अध्यक्ष यादवले भने ‘सहिदहरुको बलिदानलाई खेर जान नदिन हामी कुनै कसर बाँकी राख्ने छैनौं, अझैं पनि संघर्षकै क्रममा छौं ।’ शहिदहरुकै बलिदानीले देशमा संघीयता आएको बताउँदै अधिकारसहित पहिचानकालागि संघर्ष जारी रहेको उनले बताए ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका पार्टीका प्रदेश अध्यक्ष विजय कुमार यादव, भूमी, व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय जनता पार्टीका सह–महासचिव एवम् राज्यमन्त्री सुरेशकुमार मण्डल, समाजवादी पार्टीका महासचिव रामसहाय प्रसाद यादवलायतका नेताहरुले लहान पुगेर सहिदहरुको शालिकमा माल्यार्पण गरेका छन् । उक्त अवसरमा पार्टीका नेता तथा कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो ।
२०६३ साल माघ ५ गते मधेस आन्दोलनका क्रममा सिरहाको मझौरा निवासी विद्यार्थी रमेश महतो प्रथम सहिद भएका थिए । आन्दोलनका क्रममा उनीसहित पाँच जनाले सहादत प्राप्त गरेका थिए ।
प्रदेश २ सरकारद्वारा पर्साको वीरगन्जमा बलिदानी दिवस भव्यताकासाथ मनाईएको छ । प्रदेश नम्बर २ सरकारले आइतवार परेको ‘बलिदानी दिवस’ विशेष समारोहकाबीच वीरगञ्जमा मनाएको छ । वीरगंजको नगर सभागृहमा विशेष समारोह गरी शहीदहरुलाई श्रद्धासुमन अर्पण गरिएको छ ।
उक्त अवसरमा शहीद परिवारलाई जनही २५ हजार नगद सहयोग गरिएको जनाईएको छ । मधेश आन्दोलनका क्रममा २०६३, २०६४, २०७३ र २०७४ गरी चार पटक मधेस आन्दोलन गरिसकेका छन् । प्रदेश सरकारको तथ्याङ्क अनुसार पहिलो मधेस आन्दोलनमा ५४, दोस्रोमा ५६ र ०७३ सालको तेस्रोमा ५ तथा २०७४ सालको चौथो आन्दोलनमा दुई गरी कुल १ सय १७ जनाको मृत्यु भईसकेको छ ।
वीरगञ्जमा आयोजित कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राजपाका अध्यक्ष मण्डलका पूर्व अध्यक्ष महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललगायतले सम्बोधन गरेका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।