• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लैङ्गिकमैत्री वातावरण निर्माणमा सबै पक्षको सहयोग आवश्यकः अध्यक्ष यादव

लैङ्गिकमैत्री वातावरण निर्माणमा सबै पक्षको सहयोग आवश्यकः अध्यक्ष यादव

राजविराज, ३ माघ । राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले भविष्यको आधारस्तम्भ मानिने बालबालिकाहरुलाई लैङ्गिकमैत्री वातावरण निर्माणमा सबैपक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।
सप्तरीको जनता माध्यमिक विद्यालय राजगढ नर्घोमा शुक्रवार कोक्यापको सहयोग तथा सप्तरीको सेतु सामुदायिक तथा मानव अधिकार मञ्चको संयोजनमा आयोजित वक्तृत्वकला प्रतियोगितामा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि यादवले महिला र पुरुषमा अझैं पनि समाजमा विभेद कायम रहेकोले त्यस विरुद्ध समुदायमा जागरण ल्याउनुपर्नेमा जोड दिँदै उनले भने ‘भविष्यको आधारस्तम्भ मानिने बालबालिकाहरुलाई लैङ्गिकमैत्री वातावरण निर्माणमा सबैपक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्नु जरुरी छ, समाजमा व्याप्त विभेद, कुरिती एवम् सबैखाले हिंसाहरु निर्मूल हुनु जरुरी छ ।’
छोरा जस्तै छोरीले पनि शिक्षादिक्षाका साथै समुचित वातावरण पाउनुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष यादवले छोराहरुले गर्न नसक्ने अभूतपूर्व क्षमता छोरीहरुमा रहेकोले उसको क्षमतालाई प्रष्फुटित हुन दिनुपर्ने बताए । छोरीहरुको प्रोत्साहन गर्न गाउँपालिका समेत प्रतिवद्ध रहेको भन्दै उच्च मनोबलकासाथ अगाडि बढ्न समेत कार्यक्रमका प्रमुख अतिथि यादवले आग्रह गरे ।
मानव अधिकार निगरानी समिति, सहयोगी समाज, समुदाय प्रहरी साझेदारी, राष्ट्रिय महिला अधिकार मञ्च समेतको सहकार्यमा विद्यालयमा आयोजित ‘लैङ्गिक मैत्री समाज निर्माणमा मेरो भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा ११ जना छात्रछाछात्राहरु आ–आफ्नो तर्क प्रस्तुत गरेका छन् । प्रतियोगितामा कञ्चन कुमारी मण्डल प्रथम, ललन मण्डल द्वितीय, आनन्दी मण्डल तृतीय तथा सान्त्वना स्थान पुष्पाञ्जली लाभले प्राप्त गरेका छन् । निर्णायकमा गाउँपालिकाका शिक्षा संयोजक रासिन्द्र प्रसाद यादव, सहायक प्रधानाध्यापक भोला यादव र माध्यमिक विद्यालय बनैनियाँका प्रधानाध्यापक सुभाषचन्द्र दास रहेका थिए ।
प्रतियोगितामा विजेता घोषित भएकाहरुलाई आयोजक संस्थाको तर्फबाट प्रमुख अतिथि तथा अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै कोक्यापकी उपाध्यक्ष आभासेतु सिंहले कार्यक्रमको उद्देश्यबारे जानकारी दिए । सोही अवसरमा सेतु सामुदायिक तथा मानव अधिकार मञ्चका अध्यक्ष जङ्गबहादुर सिंहले कक्षा १० मा अध्ययनरत बालबालिकाहरुमा लैक्षिक हिंसा विरुद्ध चौतर्फी आवाज उठाउनुपर्ने भावनाको विकास गर्न विद्यालयका छात्रछात्राहरुलाई धक फुकाएर बोल्न वक्तृत्वकलाले मद्दत मिल्ने बताए ।
कार्यक्रममा स्वागत मन्तव्य माध्यमिक विद्यालयका नर्घोका प्रधानाध्यापक नारायण यादव तथा सञ्चालन शिक्षक रविन्द्र कुमार साहले गरे ।