• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कर्मचारी भर्ना प्रक्रिया रोक्न अदालतद्वारा आदेश जारी

कर्मचारी भर्ना प्रक्रिया रोक्न अदालतद्वारा आदेश जारी

राजविराज, २ माघ । उच्च अदालत जनकपुर राजविराज इजलासले सप्तरीको विष्णुपुर गाउँपालिकाले थालेको कर्मचारी भर्ना प्रक्रियालाई रोक्न आदेश जारी गरेको छ ।
स्थानीय विशेश्वर मण्डलले गाउँपालिकाको कार्यालय विरुद्ध दायर गरेको निवेदनमा छलफलपछि यसअघि भएको आदेशलाई निरन्तरता दिदै विहिवार न्यायाधिसद्वय शेखरचन्द्र अर्याल र गिता लेखनाथ ढकालको संयुक्त इजलासले सो आदेश जारी भएको हो । गाउँपालिकाले पुस १० गते प्रकाशित गरेको कर्मचारी भर्ना प्रक्रियालाई रोक्न दायर गरिएको निवेदनमा गत पुस २७ गते नै विपक्षीहरुको नाउमा आन्तरिम आदेश जारी भएको थियो ।
विहिवार पुनः दुवै पक्षबीच भएको छलफलपछि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ तथा समानुपातिक समावेशी सिद्धान्तको व्यवस्था सम्वन्धमा पछि अन्तिम आदेश हुँदाका वखत ठहरे बमाजिम हुने नै हुँदा सो आदेशलाई निरन्तरता दिइएको हो ।
मण्डलले दिएको निवेदनअनुसार गाउँपालिकाले निकालेको विज्ञापन संविधानको भावना विपरित र समावेशी समानुपातिक सिद्धान्तलाई प्रतिकुल पार्ने खालका रहेको छ । सो विज्ञापन समावेशी समानुपातिक सिद्धान्तको आधारमा आरक्षण कोटा छुट्याई पुनः हुनुपर्ने निवेदनमा माग गरिएको थियो ।
गाउँपालिकाले करारमा पदपूर्तिकालागि ईन्जिनियर, सव ईन्जिनियर, अमिन, ईलेक्ट्रिसियन, सहायक कम्प्युटर अपरेटर, जेसीवी चालक, कार्यालय सहयोगी, अहेव, अनमी, पालेसहितका पदमा आवेदन आह्वान गरेको थियो ।