• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

राजगढको विभिन्न वडामा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक

राजगढको विभिन्न वडामा लैङ्गिक हिंसा विरुद्ध सडक नाटक

राजविराज, २ माघ । सप्तरीको सेतु सामुदायिक तथा मानव अधिकार मञ्चको संयोजन तथा राजगढ गाउँपालिकाको समन्वयमा विहीबार विभिन्न चार स्थानमा सचेतनामूलक सडक नाटक आयोजना गरियो ।
राजगढ गाउँपालिकाको वडा नम्वर २ र ३ को कमलपुर, बनैनियाँ, बनैनियाँ चौक र झहुरा चौकमा सडक नाटक मञ्चन गरिएको हो । कोक्यापको सहयोग तथा मानव अधिकार निगरानी समिति, सहयोगी समाज, समुदाय प्रहरी साझेदारी, राष्ट्रिय महिला अधिकार मञ्च समेतको सहकार्यमा आयोजित उक्त नाटकमा लैङ्गिक हिंसा, बालविवाह, दाइजो, शिक्षा लगायतका विषयहरुलाई प्राथमिकताकासाथ उठाईएको छ । कलाकारहरुले उक्त विषयहरुलाई अभिनयको माध्यमले उपस्थित सयौं दर्शकहरुमाझ प्रस्तुत गरेका छन् ।
सञ्चारकर्मी एवम् चर्चित कलाकार जिबछ दासको निर्देशन रहेको लैङ्गिक हिंसा विरुद्धको सडक नाटकमा सामुदायिक विद्यालयहरुमा पठन–पाठनमा लापर्वाही, समुदायका अभिभावकको बेवास्ता, आफ्ना छोराछोरीको विषयमा निगरानी नगर्नु, छोरा र छोरीमा विभेद, कम उमेरमा विवाह, दाईजो लेनदेन, दाईजो नदिएका कारण महिलालाई कुटपीट, प्रताडना एवम् दुव्र्यवहार तथा हिंसाका घटनाहरुबारे प्रहरीलाई खबर गरी कार्वाही प्रक्रियामा सहयोग गर्नुपर्ने लगायतका विषयहरुलाई कलाकारहरुले गरेको प्रस्तुतिलाई दर्शकहरुले औधी मन पराएका छन् ।
नाटकमा डिपी शास्त्री, सुभाष बिरपुरिया, रमिला साह, श्रीनारायण ठाकुर, जिबेन्द्र यादव, अनिसा ठाकुर, विजेता देव लगायतका कलाकारहरुले अभिनय गरेका छन् । सडक नाटक हेरेर प्रतिक्रिया दिँदै राजगढ गाउँपालिका वडा नम्वर–२ का वडा अध्यक्ष ललित सिंहले मैथिली भाषामा प्रदर्शन गरिएको उक्त नाटकले समाजमा जागरण ल्याउने विश्वास व्यक्त गरे । नाटकले दिएका सन्देशहरुलाई समुदायले अवलम्वन गरिए समाजमा चाँडै परिवर्तन आउने उनले बताए ।
कार्यक्रममा उपस्थित सेतु सामुदायिक तथा मानव अधिकार मञ्चका अध्यक्ष जङ्गबहादुर सिंहले उपस्थित दर्शकहरुलाई नाटकमा देखाईएको सकारात्मक सन्देशलाई व्यवहारमा उतार्न आग्रह गरे । उक्त नाटक गत शुक्रवार राजविराज स्थित गजेन्द्र चौक र शिव मन्दिर प्राङ्गणमा प्रदर्शन गरिएको नाटकका निर्देशक जिबछ दासले जानकारी दिएका छन् ।