• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तीन नम्बरको नामकरणमा बहस र निष्कर्ष

नन्दलाल आचार्य
हामी नामका लागि दिनहुँ संसारसँग जुधिरहेका छौँ । पेटका लागि मात्रै भन्ने हो भने चौर हुँदो घुमिहिँड्ने स्याल, फ्याउरो, वनढाडेहरू पनि बाँचेकै छन् । हामी समाजमै रहेका छौँ र जमेर बाँचेका छौँ । हामी आफू मात्र बाँचेका छैनौँ । आफूसँगै भोलिको पुस्तालाई पनि बचाइरहेका छौँ ।
अरूका लागि समेत बाँच्न समाजले वाध्य नपारेको हुँदो हो त हामी कहाँ हुन्थ्यौँ र समाजको स्वरूप कस्तो रहन्थ्यो, कल्पना गर्दा हुन्छ ।हाम्रो सनातनी चालचलन र संस्कारले समेत भोलिका लागि बाँच्न उत्प्रेरित गरेको छ ।हाम्रो धार्मिक आस्थाको ग्रन्थ ‘गीता’ले फलको लोभलालच नगरीकन काम गर्ने बानी सिकाएको छ ।
तीन नम्बर प्रदेशको नाम ‘बाग्मती’ र स्थायी राजधानी ‘हेटौडा’ नै तोक्न केन्द्रले दबाब दिएको चर्चाले शिखर छोएको छ । यद्यपि छयत्तर साले पुसे ठण्डीको उत्तराद्र्धकालसम्ममा सात प्रदेशमध्ये गण्डकी, कर्णाली र सुदूर पश्चिम गरेर तीन ओटाको मात्रै नाम र स्थायी राजधानी तोकियो । अधिकांश प्रदेशको नाम र स्थायी राजधानी तोक्ने काममा माथापच्ची भइरहेको छ । यस परिप्रेक्ष्यमा माथिको कथनले राजनीति गन्थन मन्थनलाई सङ्केत गर्छ । यद्यपि यस लेखमा राजनीतिको गोरु बेचेको साइनो पनि छैन ।
आफू द्विविधामा पर्दा शुभेच्छुको सहयोगको अपेक्षा राख्नु स्वभाविकै हो । फलतः मैले पनि एक कथनी सार्वजनिक गरेको थिएँ । अन्ततः करणी पनि सोही अनुसार गर्ने विचार गरेँ । ‘घोडा चढ्ने नै लड्छ’ भनेझैँ मैले पनि पारिवारिक गन्थनलाई सार्वजनिक सरोकारसँग गाँसेर जोखिम मोल्ने हिम्मत गरेँ । मेरो बुझाइमा चाहिँ यस्तो तथ्य इतिहास बनेमा पछिल्लो पुस्ताका लागि नवीन कार्य हुने छ । त्यसले भिन्नै ओजन र गरिमा राख्ने छ ।
प्रसङ्ग प्रष्ट बुझ्नका लागि मुलुकको वर्तमान परिदृष्यतर्फ एकझलक दृष्टि दिनु जरुरी छ । भनिन्छ, नामले पनि उसको परिचय दिन्छ । म पनि नाममै परिचय भए बेस होस् भन्ठान्छु । ‘लक्ष्मीप्रसाद’ आफैँमा ‘द्रव्यप्रसाद’ भनेर बुझिन्छ । यद्यपि हाम्रा महाकवि ‘दरिद्रप्रसाद’ कहलिएर बाँचे र साहित्य बजारमा त्यत्रो नाम भए पनि अझै ‘निर्धनबहादुर’ का रूपमा चिनिँदै आएका छन् ।
बजारमा त नानाथरीका हल्ला विद्यमान हुन्छन् । केही सत्य होलान् तर अधिकांश असत्य सावित हुन्छन् । मेरो अध्ययन, विश्लेषण र निष्कर्षमा साहित्य बजारमा त्यस्तै एउटा झुटो तथ्य सार्वजनिक छ । सत्य के हो भने हाम्रा महाकवि निर्धन हैनन्, थिएनन् । उनी त धनवान थिए, ज्ञानवान थिए, संसारलाई जुरुक्क उचाल्न सक्ने सामथ्र्यवान थिए ।
उनका बारेमा बजारले जे भने पनि उनी ‘लक्ष्मीप्रसाद’ नै थिए । एउटाको प्रसाद भएपछि ‘सरस्वतीप्रसाद’ हुनु ठूलो कुरा हैन । पढेका, जानेका, संसारलाई नजिकैबाट अनुभूत गरेका, जीवनको रहस्य पर्गेलेका मान्छेलाई ‘दरिद्रपति’ उपमा दिनु आफ्नै बौद्धिक दरिद्रपन देखाउनु हो । जसले यत्ति भन्ने ज्ञान, क्षमता र सहास दियो, जसको कर्मले अँध्यारो रात चिरेर मनोसूर्योदय गरायो, उसैलाई ‘निर्धन नायक’ भनी फलाक्दै हिँड्नु किमार्थ उचित छैन । तसर्थ भरसक कसैको वा केहीको नामकरण गर्दा नाममै उसको पहिचान झल्कनुपर्छ भन्ने कुरामा सहमत हुन करै लाग्छ ।
जतिबेला म ‘एक’ नम्बरमा थिएँ । त्यसको सेरोफेरामा साहित्यको कखरा सिक्तै थिएँ । राजविराजको साहित्य संसारमा ‘गरिमा’ पत्रिका र सम्पादक गोपाल पराजुलीको चर्चा खुबै हुन्थ्यो । त्यसबेला साझा प्रकाशन, राजविराजका प्रबन्धक विनोदबन्धु न्यौपाने थिए । हरेक महिना ‘गरिमा’ त्यहाँ आउँथ्यो । ढिलै गरेर भए पनि प्रज्ञाको ‘कविता’ र ‘समकालीन साहित्य’ पनि राजविराज भित्रन्थ्यो । म तिनको नियमित पाठक थिएँ ।
न्यौपानेकै उत्प्रेरणाले पाठकबाट एक खुट्किलो उक्लने हिम्मत गर्न थालेँ । विशेषतः ‘गरिमा’मा कविता र पाठक प्रतिक्रिया लेख्न थालेँ । महिनैपिच्छे पाठक प्रतिक्रिया छापिन्थ्यो तर कविता कहिल्यै छापिएन । अरू विधाका रचना पनि पठाएँ । ती समेत उदाएनन् । आफ्नो नामको पाठक प्रतिक्रिया हेरेरै चित्त बुझाउँथेँ । भित्रभित्रै मख्ख पनि पर्थेँ ।
एक पटक ललितपुरमै पराजुलीलाई भेट्ने अवसर पाएँ । मैले आफ्नो परिचय दिए पछि उनले प्रशन्नता जाहेर गरे । मलाई त्यस प्रशन्नतामा कृतिमता लुकेको अनुभूत भयो । आफूले सोध्न र जान्न चाहेको कुरो नभनी नछाड्ने निश्चय गरेर नै उनका सामु उभिएको थिएँ । मन खोल्न ठूलै हिम्मत जुटाउनु प¥यो ।
‘मेरो पाठकीय सोच मात्र आयो । तीन÷चार वर्षमा करिव तीन÷चार सय नै कविता पठाएँ होला । ‘गरिमा’ पत्रिकामा एउटा पनि आएन । मेरो लेखकीय कमजोरी जान्ने मन छ ।’ मैले मनको कसरमसर सामुन्नेमै बगाइदिएँ ।
मझैँ ख्याउटे मुहार भएका उनको मुहारमा विषादका रेखाहरू दगुरे । हिउँदको समय थियो । घाम झुल्कन मानेका थिएनन् । मेरो मन काप्न थाल्यो । दाह्रा किटेर शरीरलाई कम्पन हुन भने दिइनँ । त्यसबेला ठूलाबडाको अन्तस्करण चिमोट्ने कमजोरी गरिएछ भन्ने लाग्यो ।
‘आचार्यजी, तपैँको युग आउँछ, कलम पक्रन नछाड्नू । साहित्यमा मोफसलको बलियो स्थान छ । ‘गरिमा’मा सुहाउने कविताका लागि तपैँको कलम अझै खारिनुपर्छ । सुन्दर अक्षर हुनुपर्छ, मजबुत काव्यात्मक आवाज घन्कनुपर्छ र साहित्य साधनामा निरन्तरता घोटिनुपर्छ । त्यो समय एक दिन अवश्य आउँछ । सङ्घर्ष गर्दै जानू, गन्तव्य टाढा छैन ।’ मन्द मुस्कानका साथ उनले भनेका थिए ।
एकाएक मेरो शंका गायव भयो । केहीबेर ‘वनको बाघले खाओस्, नखाओस्, मनको बाघले खाए’ जस्तो भयो भनेर वाल्ल परिरहेँ । पछि धीरकुमार श्रेष्ठको उत्प्रेरणाले नाटक÷एकाङ्कीमा ध्यान खिचियो । म पनि कम्प्युटरको कखरा सिक्तै गएँ र विद्युतीय युगमा प्रवेश गरेँ । ‘गरिमा’मा पराजुली सत्ता समाप्त भयो । अविनास श्रेष्ठ युग उदायो । त्यसपछि अरू नै प्रधान सम्पादक बन्दै गए । त्यसैबखत ‘दाइजो’ शीर्षकको लामै एकाङ्की ‘गरिमा’ मा आयो । त्यसले अघोरै खुशी दिलायो । राजविराज शाखा प्रबन्धक मनोज माझीको पहलमा राजविराजबाटै एकाङ्कीको पारिश्रमिक पनि पाएँ ।
देशविदेशका शाखाहरू मार्फत् बिक्री गरिन्छ भनेर २०६७ सालमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाट्य कृति २०० थान साझाको ललितपुर कार्यालयमै बुझाएको अहिलेसम्म कुनै खोजखबर आएको छैन, गरेको पनि हैन । अहिले २०७६ सालमा आएर प्रकाशित ‘गरुराहा’ उपन्यास कृति राजधानीमा कतै बुझाएकै छैन । पुस्तकालयतिर बुझाउने मन छ । यस चाहनाले मूर्तरूप पाउन साइत जुरेकै हैन ।
त्यही लेखन र प्रकाशन मोहमा फँसेको बखत ‘एक’ नम्बर सन्तानको नाम ‘गरिमा’ जुराएँ । अहिले नामझैँ उनी साहित्य अध्ययनमा खुबै रुचि राख्छिन् । दैनिक पत्रिकाका शनिबारे साहित्यिक अङ्कहरू पढ्न खुबै रुचि राख्छिन् । उनका एकाध रचना समेत प्रकाशन भएका छन् । आफैँले कथेका कतिपय कविताहरू मुखाग्र पनि सुनाउँछिन् । उदयपुरे जनकवि गम्भीर बहादुर थापा र लेखबहादुर कार्कीजस्तो दुई अढाई घण्टा मुखाग्र कविता भट्याउन त सक्तिनन् । यद्यपि त्यहीँको माटोको सुगन्ध पाएको आभाष भने स्पष्ट दिन्छिन् ।
‘दुई’ नम्बरको पालामा म लेखनमा निकै अघि सरेको थिएँ । त्यसबेला मोरङ बेलबारीका केशु विरहीले गजल विधा बारे फेसबुके बहस चलाउँथे । मेरा वरपरका रामविक्रम थापा, भोजराज रेग्मी ‘मुखाले’, इन्द्रकुमार श्रेष्ठ, टङ्क आले मगर, केदार श्रेष्ठ ‘गगन’, अरबिन्द यादवहरू खुब गजल लेख्थे । काठमाडौँबाट पोष्टराज चापागार्इँ आफैँद्वारा नवनिर्मित छन्दमा गजल लेख्थे । उनले फेसबुकमै गजल र छन्द कविता सिकाइ पाठशाला खोलेका थिए । गोर्खे साइँलो, लक्ष्मी भट्टहरूले बहरमा लेखेका गजलका किताबहरू पठाइदिएका थिए । डा. देवी नेपालको सक्रियतामा देशभरि नै गजल र छन्द प्रशिक्षणको घुम्ती कार्यक्रम नै सञ्चालन भएको थियो । समकालीन तन्नेरी सर्जकहरूले फेसबुकका भित्ताहरू गजलले भर्थे । ट्याग गर्ने, प्रतिक्रिया दिने, विचार राख्ने, सुझाव दिने जस्ता कामहरूमा होडबाजी नै चल्थ्यो ।
यिनकै प्रभावले तिनताका म पनि गजल कोर्ने काम गर्थेँ । एक खाले प्रभावले ‘एक’ नम्बरको नाम मैले जुराएँ पनि ‘दुई’ नम्बरको नाम भने जुराउने अधिकार अर्धाङ्गिनी लक्ष्मी रिजाललाई दिने मन बनाएर म चुप थिएँ । उनी पनि के नाम राख्ने, नराख्ने भनेर विलखबन्दमा थिइन क्यारे । एकपटक मैले जेठी छोरी गरिमाको चञ्चलपन नियाल्दै लेखेको बालगजल गाएको सुनिछन् । उनी पनि हर्दम गाउन थालिन्–
छुनुमुनु गर्दै टुकुटुकु आऊ नानी
बुबुमाम खाइवरी खेल्न जाऊ नानी ।

मिलिजुली रहने गर साथीसंगीसँग
उनीहरूसँगै मिली गीत गाऊ नानी ।

लेखपढ शुरु हुन्छ तिम्रै उमेरदेखि
विद्या लिन सधैँ स्कूल धाऊ नानी ।

ठूलालाई मान देऊ सानालाई माया
राम्रो पढिलेखी इनाम पाऊ नानी ।

सबको आश तिमीमा नै रहेको हुँदा
चन्द्रसूर्य बनेर रोशनी छाऊ नानी ।

यसै सिलसिलामा उनले भनिन्, ‘पे्रमवियोगमा प¥यो भने मान्छे गजलकार बन्छ रे । अब बुढेसकालमा दुई छोरीका पिताले पनि गजलकार हुने मन गर्नुभयो । हजुरको प्रेम त यतै उतै छ । वियोग हुने अवस्था नै छैन । तैपनि गजल लेख्न थाल्नुभएछ । अब कान्छीको नाम पनि ‘गजल’ नै राख्नु पर्ला ।’
यसरी ‘एक’ र ‘दुई’ नम्बरको नाम जुराइयो । यत्तिखेर परिस्थितिले ‘तीन’ नम्बरको नाम जुराउने अवसर जु¥यो । यस सिलसिलामा लामै मनोगन्थन गरियो । विभिन्न नाम आए । कसैले ‘कडारो’ भनेर जिस्काए । पर्खालको भित्ती देख्ने वित्तिक्कै मन खुशी बनाएको देखेर ‘भित्ती’ नामले समेत जिस्क्याए । चकचकमा नम्बर वानमा आएको देखेर झर्कंदै ‘धन्धुकारी’ नामले समेत पुकारे । नामै राख्न खोज्दाखोज्दै मावलकी हजुरआमाले ‘पियुष’ नाम जुराउनुभयो । यसलाई बोलाउने नाम राख्दा ठीक होला भन्ने ठहर गरियो ।
गरिमा, गजल नाम आएपछि तेस्रोको स्थायी नाम ‘ग’ बाट नै आउनुपर्छ भन्ने लाग्यो । त्यसैले वृहत् शब्दकोश पल्टाएर ‘ग’ बाट आउने सुहाउँदिला नामहरूको सूचि बनाएँ । तीनको अर्थसहित समेटेको एउटा लामो पत्र तयार गरेँ । पत्र नातेदार, अग्रज–अनुज शुभेच्छु एवं इष्टमित्रलाई सम्बोधित थियो ।
‘गहन, गवाक्ष, गर्हण, गर्व, गर्ग, गन्तव्य, गणित, गतार्थ, गरज’ नाममध्ये आफूलाई मन परेको नाम कारण सहित उल्लेख गर्न आग्रह गरेको थिएँ । मान्यवर अग्रज, समकालीन र अनुज तीनै तहबाट ‘गहन’, ‘गन्तव्य’, ‘गरज’ र ‘गणित’ गरी चार ओटा नाम स्वीकार भएको अभिमत प्राप्त भएको थियो ।
२०७६ साल पुस ११ गते फेसबुक म्यासेन्जर मार्फत प्रेषित पत्रमा पुस १२ र १३ भित्रमा जवाफ माग गरिएको थियो । विकास श्रेष्ठ, अभित कुमार चौधरी, प्रकाशचन्द्र यादव, रञ्जु रिजाल, लक्ष्मीकान्त चौधरी, कृष्ण तिमल्सिना, दीपक ढकाल, भोजराज रेग्मी ‘मुखाले’, मनोहर पोखरेल, धनराज आचार्यहरूबाट उक्त नामहरू मन पराइएकोे जानकारी आएको थियो ।
‘उल्लेखित नामबाट छान्नुपर्दा मलाई ‘गणित’ नाम मनपर्छ । यो नयाँ पनि छ । गणितले एकै पटकमा धेरै समस्या हल गर्दछ । गणित सङ्ख्या, संरचना, परिवर्तन आदिको वैज्ञानिक अध्ययन हो । कतिपय कुरा गणितविना पनि बुझिएला तर जटिलतम् समस्या गणितको सहयोगले मात्रै हल गर्न सकिन्छ । गणितले यथार्थ जगत्मा अहिलेसम्म भेउ नपाइएको अवधारणा र नियमहरूका बारेमा अध्ययन गर्दछ । यस्ता अध्ययनका नतिजाहरू यथार्थ जगत्लाई राम्रोसँग बुझ्नका लागि उपयोगी हुन्छ । गणितले दैनिक कार्य सम्पादन गर्न सहयोग गर्छ । गणित साँच्चै विश्वव्यापी भाषाझँै लाग्छ । सबैले गणितको प्रयोग कुनै न कुनै रूपमा गर्छन् । ब्रह्माण्डको रहस्य बुझ्न होस् कि व्यवहारिक ज्ञान लिन होस् गणित नभई हुन्न । विज्ञान, उद्योग, व्यापार र दैनिक जीवन गणितबिना असम्भव छ । यसले कठिन समस्या सरल तवरले समाधान गरिदिन्छ । यसको ज्ञानले मात्र सफलता हात लाग्छ । धेरै जनाको प्रश्न र चाहना एकै पटक सम्बोधन गरी समाधान गर्ने हुनाले मलाई ‘गणित’ नाम मनपर्छ ।’
त्यसमध्ये साहित्यकार, पत्रकार, मानव अधिकारकर्मी एवं सामाजिक अभियन्ता भनेर समेत चिनिने समकालीन मित्र मनोहर पोखरेलले ‘गणित’ नाम रोज्दै कारण समेत उल्लेख गरेको उपर्युक्त पत्र पढ्ने अवसर प्राप्त भयो । पत्रको कुरो मलाई खास लाग्यो ।
गुगलमा ‘गणित आचार्य’ भनी सर्च गरेँ । यो नाम कतै फेला पारिनँ । मित्रले लामो पत्रका साथ पर्याप्त आधारहरू दिनुभएको उक्त नाम नै तेस्रो नम्बरको नाम हुनुपर्छ भनी यकिन गरेँ । मैले एक समकालीन मित्रले विद्युतीय माध्यमबाट प्रेषित यस्तो पत्र पाएँ । आफ्नो मनोगन्थनलाई गन्तव्यमा पु¥याउने निष्कर्ष निकालेँ । र, आफ्नो तेस्रो सन्तानको नाम माथिकै भनाइ अनुरूप रहोस् भन्ने मनसुवा बनाएँ ।

(लेखक आचार्य नेपाली साहित्यका चर्चित साहित्यकार हुन् ।)                                                 nandalalacharya@gmail.com