Top_Header_Right_Add

शीतलहरको कहरः जिविकोपार्जनकालागि बाँसको छिटीको आश

शीतलहरको कहरः जिविकोपार्जनकालागि बाँसको छिटीको आश

राजविराज, २७ पुस । पुसको कपकपीमा पनि सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ३ का ७० वर्षीय हलेश्वर मरिक जिविकोपार्जनकालागि बाँसको छिटी बनाउन व्यस्त छन् ।
विहान बेलुकाको छाक टार्न बाँसका सामग्री बनाउने पुख्र्यौली पेशालाई उनले ७० वर्षको उमेरमा पनि छाडेका छैनन् । रोगी शरीर घिसार्दै काममा भिडेका उनलाई यतिवेला समस्या भएको छ पुसको ठण्डीले । चिसोले हात कठ्याङ्ग्रिएर काम गर्न नसक्ने भएपछि छेउको घुरमा केही बेर हात सेकेर फेरी कामलाई निरन्तरता दिने गर्छन उनी । पाँच वर्षअघि जवान छोरो सन्तोषको पोखरीमा डुबेर शंकास्पद मृत्यु भएपछि दुई वर्षको नाती रुपेशको पालनपोषणको जिम्मा पनि उनकै काँधमा आईपरेको छ ।
वृद्ध अवस्थाका आफु, बालक नाती र परिवारका अन्य सदस्यलाई ठण्डीबाट कसरी जोगाउने भन्ने चिन्ताले उनी पिरोलिएका छन् । यस्तो समस्या हलेश्वरको मात्रै होइन्, छिन्नमस्ता गाउँपालिकाकै वडा नम्वर ६ का डोम (मरिक) परिवारमा पनि उस्तै समस्या छ । बसोवासको राम्रो व्यवस्था नभएको, गरिबीका कारण पोषिलो खाने कुरा खान नपाएको तथा गतिला लुगा समेत नरहेको कारण परालको घुर बालेरै पुसको ठण्डी कटाउनुपर्ने उनीहरुको बाध्यता छ ।
ऐलानी जग्गामा झुप्रो बारेर बसेका १२ घर डोम परिवारका ५० जना सवैको एउटै चिन्ता छ–‘यसपालीको ठण्डीमा बाँचिन्छ कि बाँचिदैन ।’ ‘कुनै कुनै वर्ष त यस्तो ठण्डीमा ओड्ने लगायतका राहत दिन्थे पनि’ ६५ वर्षीय सिफैत मरिकले भने–‘यस पालि त अहिलेसम्म कोही सोध्नसम्म आएनन् ।’ ठण्डीका कारण गाउँका वृद्धा दुखनी मरिक र फुलो मरिक यतिबेला विरामी रहेको सिफैतले बताए ।
उनले भने–‘वृद्धवृद्धा र बालबालिकालाई पुसको ठण्डीले बढी सताएको छ ।’ चुनावका बेलामा हुलका हुल उम्मेदवार अनेक आश्वासन लिएर भोट माग्न आउने गरेको तर आफुहरु यतिवेला ठण्डीले विचल्ली पर्दा कोही सोध्न समेत नआएकोमा बस्तीका सवै मरिकहरु यतिबेला आक्रोश पोख्न थालेका छन् ।
टोलको नजिकै रहेको गाउँपालिकाको जनप्रतिनिधिको बसोवास रहेको भएपनि आफुहरु ठण्डीले तड्पिरहँदा समेत कसैले वास्ता नगरेको स्थानीय विरेन्द्र मरिकले बताए । ‘चुनावको बेला मात्र सम्झिने अरु बेला मर्न लाग्दा पनि चासो नराख्ने जनप्रतिनिधिको के काम ?’ उनले भने– ‘हामी दलितहरुलाई खाली भोट बैंकको रुपमा प्रयोग गर्दैआएको छ, हाम्रो समस्यामाथि कसैलाई चासो रहेनछ ।’
समस्या वडा नम्वर–६ का मरिकको मात्रै नभई वडा नम्वर–३ का मरिक टोलका वासिन्दा पनि ठण्डीले यतिबेला पीडित बनेका छन् । स्थानीय सुनिता मरिकले आफुहरुलाई कुनै पनि निकायले राहत र सहयोग नगरेका कारण साह्रै मुस्किलमा परेको पीडा सुनाईन् । ‘गाउँपालिकामा स्थानीय सरकारको काम हुनेछ भन्ने सुनेकी थिएँ’ उनले भनिन्–‘तर हामीहरुकालागि स्थानीय सरकारले पनि कुनै चासो देखाएन ।’ पहिलेदेखि नै झुठा आश्वासन बाहेक केही नपाएको बताउँदै उनले अहिले पनि अवस्था उस्तै रहेको गुनासो पोखिन् ।
आगो ताप्नलाई समेत प्रवन्धन नगरिदिएको कारणले रात कटाउन आफुहरुलाई चुनौती नै रहेको भन्दै सुनीताले परालको घुरका भरमा बस्नु परेको पीडा पोखिन् । छिन्नमस्ता गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डलले स्थानीय एक समूहले दुई सातादेखि गाउँपालिका कार्यालयमा धर्ना दिदै कामकाम अवरुद्ध गरेका कारण चाहेर पनि विपन्न दलित परिवारमा राहत वितरण गर्न नसकेको बताए । अवस्था सहज हुने वितिकै पीडितहरुलाई राहत वितरण गरिने उनले जानकारी दिए ।
डोम उत्थान समाज सप्तरीका अध्यक्ष युक्तिलाल मरिकले छिन्नमस्ता लगायत अन्य स्थानीय तहमा बसोवास गरेका सवै डोमहरुको अवस्था अत्यन्त दयनीय रहेको भन्दै उनीहरुकालागि विशेष व्यवस्था नै नगरिनुपर्ने बताए । ‘दलितहरुमा पनि डोम सवैभन्दा विपन्न र अपहेलित रहदै आएका छन्’ उनले भने–‘यो ठण्डीमा जोगाउन पनि उनीहरुकालागि विशेष व्यवस्था गरिनु आवश्यक छ ।’

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer