Top_Header_Right_Add

भव्यताका साथ पौष शुक्ल पूर्णिमा मनाईयो

अत्यधिक चिसोका बावजुद पनि हजारौंले गरे कोशी स्नान
भव्यताका साथ पौष शुक्ल पूर्णिमा मनाईयो

राजविराज, २५ पुस । अत्यधिक चिसोका बावजुद पनि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ भारदहस्थित कोशी व्यारेजलगायतका जलाशायहरुमा नुहाएर शुक्रवार पौष शुक्ल पूर्णिमा (पुसी पूर्णिमा) भव्यताका साथ मनाईएको छ ।
कोशी ब्यारेजमा एकाबिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो लागेको थियो । ब्यारेजमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर, मोरङ्गका साथै भारतको पुर्णिया, मधुवनी, फारबिसगञ्ज, अररिया, बनमनखीलगायतका स्थानहरुबाट कोशी स्नान गर्न आएको न्यूज टुडेका स्थानीय सम्वाददाता रामसेवक यादवले जानकारी दिएका छन् ।
उनका अनुसार बिहानैदेखि बैलगाडा, मोटरसाइकल, रिक्सा, ई–रिक्सा, साइकलसहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी घुइँचो लागेको थियो । कृषि मेलाको रुपमा समेत चिनिने यो एक दिने मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्रीका लागि महत्वपूर्ण मानिन्छ । यसकारणले पनि कृषक समुदायको कोसी मेलामा बढी उपस्थिति हुने गरेको छ । कोसी व्यारेज बाहेक सप्तरीको हनुमाननगर, ईटहरी विष्णुपुर, मेगजीन चुरीया, पथरी, झनकट्टा, मलकोर लगायतका स्थानहरुमा समेत भव्य मेलाको आयोजना गरिएको थियो ।
पौषशुक्ल पुर्णिमाका दिन कोशी स्नान गरेपछि पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह पुण्य मिल्ने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी लगायतका जलासयहरुमा नुहाएर मिठोचोखो खाने चलन समेत रही आएको छ ।
दही, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु यस दिन मुख्य रुपमा खाइन्छ । कोशी नदीलाई कौशिका माताको रुपमा पूजा गर्ने चलनका कारणले पनि यस पूर्णिको दिन कोसी स्नान गर्न आउनेहरुको संख्या अत्यधिक रहने गरेको जानकारहरुको भनाई छ ।
पौष शुक्ल पूर्णिमा अवसरमा शुक्रवार जिल्लाको हनुमाननगर कंकालिनी र कञ्चनरुप नगरपालिका तथा छिन्नमस्ता, रुपनी र विष्णुपुर गाउँपालिकामा एक दिन बिदा समेत दिइएको जनाएको छ ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer