Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

सीताको प्रश्नः जागिर दिनुहुन्छ कि बहुलाउन दिनुहुन्छ !

सीताको प्रश्नः जागिर दिनुहुन्छ कि बहुलाउन दिनुहुन्छ !

–सीताकुमारी सदाय
प्रिय समाज, आजसम्म मेरोे आवाज मिडियाले सुन्दै सुनेन । सुनाउन खोजे पनि दबाउन खोज्यो । भोको पेट र मागेको थोत्रो वस्त्रमा आपसमा कत्ति चिच्याउनु, अरूलाई पनि सुनाऊँ न भनेर यसपाला सुनाउन खोज्दै छु । मेरो रोजीरोटीको व्यवस्थापन गर्न सक्नु भएमा कृपया मोनं ९८१९९२६०२७÷९८१६७६९७१५ मा सूचित गर्न निवेदन गर्दछु ।
म सप्तरीकी छोरी र सिरहा जमदहकी बुहारी सीताकुमारी सदाय हुँ । सप्तरी जिल्लाको अगिनसाइर कृष्णसवरण गाउँपालिका–६ बेल्हा निवासी सुकदेव सदा मुसहर र अमलादेवी सदाकी एक मात्र सुपुत्रीका रूपमा मेरो जन्म २०४९ साल भदौ ४ गते भएको हो ।अहिले म २६ वर्षकी भएँ । पहिलो विवाह दाइजोको कारण परित्याग गरेँ । यातना खप्न सकिनँ । दोस्रो विवाह बीस वर्षको उमेरमा कारिचन सदासँग विवाह भयो । अहिले काखमा ६ वर्षकी छोरी जेनिषा सदा छिन् । पति पनि बेरोजगार हुनुहुन्छ । आर्थिक दुरावस्थाले म पनि घर कि न घाटकी भएकी छु ।
वाल्यकालमा म महुली जङ्गलबाट दाउराको भारी राजविराज पु¥याएर बेच्थेँ । पैसाले कापी र डटपेन किनेर फर्कन्थेँ । खाजा खानका लागि पैसा रहन्नथ्यो र भोकै पेट घर फर्कन्थेँ । आमाले बनाएको भात, गहतको दाल र आलुको चटनी पेटभरि खान्थेँ । अनि पल्लाघरे धनिया, रामतोरियाहरूसँग धान सिला खोज्न खेतखेत चहार्थेँ ।
बुबा माटो काट्न वा अन्य मजदुरी गर्नसाहूमहाजनकहाँ धाउनुहुन्थ्यो । साँझमा धोक्रामा अन्न लिएर घर फर्कनुहुन्थ्यो । मैले सिला खोजेको धान थपथाप हुन्थ्यो । बनाईतुल्याई त्यही छाक टार्ने अन्न बन्दथ्यो । यसरी महा गरिबीमा मेरो वाल्यकाल वित्यो । अहिले पनि अवस्था उस्तै छ ।
विगत सम्झँदा पनि गला अबरुद्ध हुन्छ ।विगतले नै मलाई त्रास पनि दिन्छ, आश पनि देखाउँछ । विगतले मेरो परिचय पनि दियो । वर्तमानमा जिउने आशा पनि जगाइदियो । बुबाआमाको दुःखले मलाई दुःख गरेर जिउन सकिन्छ भन्ने सिकायो । कर्म गर्दै गए, फल पाउन कठिन छैन भन्ने आशा जगायो ।
मैले ठाकुरजी मावि, बकधुवा, जन्डौल, सप्तरीबाट कक्षा १२ सम्म पढेँ । अहिले शलहेश क्याम्पस, लहानबाट बी.एड. गर्दै छु । संसारले हामीलाई साह्रै हेप्यो । हामीलाई समाजको सदस्य नै नभएजस्तो ग¥यो । समाज कानुनदेखि डराउँछ र हाम्रा सामुमा मीठो बोल्छ । पछाडि नराम्रो व्यवहार गरेको ग¥यै छ ।
‘मुसहरले पढ्न खोज्नु रहर हो । उसको त माटोसँग जुध्ने काम हो । सीतेले पढेर के गर्छे र ! बिहे गरेपछि श्वास फेर्न पाउँदिन, केको जागिर खान्थी ! घरभरि लालाबाला होलान् । तिनलाई खुवाउन र हुर्काउन परेपछि सिकेको दुई÷चार अक्षर पनि त्यसै बिर्सन्छे !’ म जन्मे, हुर्केको समाजले यसै भन्थ्यो ।
समाजको उक्त सोच भंग गर्न मेरा बुबाआमाले तन काटेर मेरा लागि खर्च जुटाउनुभयो । मेरो ठूलो दाजु लाटो छ । उसलाई पढाउने ठाउँ नै पाइएन । सानो दाजु पनि पढ्ने, बहिनी पनि पढ्ने खर्चको लागि ठूलै रकम जोहो गर्नुपर्ने भयो ।
सन्तानले उचित शिक्षादीक्षा नपाएकै कारण आफ्नो खान्दान गरिबी र अपमान भोग्न वाध्य भएको हो भन्ने कुरा बुबाआमाले बुझ्नुभएको रहेछ । माटो काट्दा र बोक्दाबोक्दा गोरुको जस्तो काँध फुलाएर र गोहोराकोजस्तो खस्रो हत्केला बनाएर भए पनि शिक्षादीक्षामा लगानी गर्नुभयो । फलतः म अहिले यत्तिको बुझ्ने र सम्झने अवस्थामा आएकी छु ।
दुर्भाग्य, अहिले मेरा ती देवतुल्य बुबा मृत्युशैयामा छटपटाइरहनुुभएको छ । मसँग औषधोपचार गराउने सामथ्र्य विल्कुलै छैन । भेटेर दुई शब्द मीठो बोल्न र दुई गाँस मीठो चोखो खुवाउन पनि सकिरहेकी छैन । रित्तो हात के जानू भनेर बुबालाई हेर्न गएकी छैन ।
बुबाआमालाई आफू बिरामी भएको बेलामा सन्तानले भरथेग गर्लान् भन्ने आश हुँदो हो । दरिद्र सन्तानले रातोदिन पेट भर्नकै लागि मरिहत्ते गर्न परेपछि बुबाआमाका लागि केको रेखदेख गर्न सक्नू ! सम्झँदा पनि आफैँलाई धिकार्न मन लाग्छ ।
विवाह गर्न आउँदा दाइजोको मामलामा बुबा केही पनि बोल्न सक्नुभएन । कारिचनलाई मैले स्पष्ट भनेकी थिए, ‘मेरा बुबाआमा दाइजो दिन सक्नुहुन्न । मेरै जिद्दीले दाइजो दिने पैसामेरो पढाइमा खर्च गर्नुभयो । आदर्श विवाह गर्ने हो भने मन्जुर छ, हैन भने जम्ला हात गर्छु ।’
मेरा कुरा सुनेर बुबाले मुन्टो तल पार्नुभयो । मेरा ससुराले अर्कातिर मुन्टो बटारे । सायद बिनादाइजो नमान्ने सोचमा थिए क्यारे । कारिचनलाई त्यहाँबाट उठ्न संकेत गर्दै ससुरा चाहिँ बाहिरिए । कारिचन बसेका बस्यै भए ।
‘मलाई धन हैन, ठूलो मन भएकी जीवन संगिनी चाहिएको हो ।’ त्यसबेला कारिचनले भनेका थिए ।
‘दाइजोविनाकी बुहारी भनेर सासू ससुराले हेला गरे त्यसको प्रतिकार कसले गर्ने ?’ मैले प्रश्न राखेकी थिएँ ।
यसरी म दोहोरो वार्तामा उत्रेको पाउँदा मेरा मातापिता डराउनुभयो । सानो मन बनाएर मतिर हेरिरहनुभयो । मेरो सानो दाजु पनि हेरेको हे¥यै भयो । म पनि गलत कुरो पो बोलेँ कि भनी केही बेर आत्तिएँ ।
‘बिहे भनेको दुई जीवनको सम्झौता हो । मैले सीतासँग र सीताले मसँग जीवन धान्नुपर्छ । सासूससुरा, बुबाआमा भनेका पाहुनाजस्ता वर्ग हुन् । सम्मानमा कमी गर्नुहुन्न । हेला गरे, सके जति सहनुपर्छ, सम्झाउनुपर्छ । अति नै गरे दुबै मिली प्रतिकार गर्नुपर्छ ।’ उनले साहित्यिक पाराले भनेका थिए ।
म पनि नेपाली साहित्य पढेकी मान्छे, उनी पनि साहित्य भनेपछि मरिहत्ते गर्ने मान्छे रहेछन् । मन मिल्यो । वैवाहिक वन्धनमा बाधियौँ । सामान्य समारोह गरियो । तडकभडकलाई प्रोत्साहन दिने काम गरिएन । हेर्दा सबै खुशी देखिन्थे । कोही कोही बेखुशी पनि रहेछन् । कसैको मनमा पसेर नियाल्ने कुरो आएन ।
विवाह नै मेरो दुर्भाग्यको दिन सावित भयो । घर भित्रिएकै भोलिपल्ट हामी जोईपोईलाई भिन्न गरिदिए । हामी अल्लारे ठिटाठिटी न प¥यौँ, के खानू, के लाउनू ! समस्याको भूमरीमा निकै समय अल्झिरह्यौँ ।
पहिले भावनाका ठूलाठूला कुरा गरेका थियौँ । सपनाका भयङ्कर शिसमहल ठड्याएका थियौँ । जीवन भावनाले चल्दो रहेनछ । जीवन चलाउन यथार्थपन अङ्गाल्न सक्नुपर्ने रहेछ । आफ्नो खुट्टामा नउभिई वैवाहिक जीवनरथको सारथी बन्नु ठीक रहेनछ । यस मानेमा हामीले अपरिपक्व काम गरेका रहेछौँ । न म जागिरे थिए, न कारिचन ! दुःख झेल्दै र परिस्थिति छल्दै जीवनको रथ गुड्न थाल्यो । सकसले अहिलेसम्म गुडिरहेको छ ।
हामीले जमदहमै सानो झुप्रो ठड्याएका छौँ । त्यो जमिन पनि बैँकमा धितो राखेको जमिन हो अरे । धितो राख्ने जमिन्दार मरे अरे । ती जमिन्दारका छोरानातिले त्यो जग्गा उकास्ने अरे । यदि उनीहरूले मुद्दा जिते भने हामी सुकुम्बासीले झोलाभ्याम्टा बोकेर उँभो चुरे जङ्गल पस्नुपर्छ कि उँधो खोलातिर झुपडी बार्नुपर्छ, थाहा छैन । बैँकले जिते पनि हाम्रो बास उठ्ठा हुन समय लाग्दैन ।
हामी पतिपत्नी मध्ये कम्तिमा एक जनाले पनि नोकरी भेटे जीवन चलाउन केही सहज हुन्थ्यो होला । नोकरीकै लागि धेरै पटक गोलबजार नगरपालिकाको वडा नं. ३ को कार्यालय धाएँ । जनप्रतिनिधिको ढोका चहारेँ । अनेकन नेतानेतृकहाँ पुगी जम्ला हात गरेँ । सबैले गुलियो आश्वासन दिए । जागिर भने कसैले दिएनन् ।
मेरा सामुमा स्वादिलो आश्वासन दिँदै एक जिम्मेवार व्यक्तिले भनेका थिए, ‘हेर्नुस्, सीताजी ! तपाईं पढेलेखेको जागरुक दलित महिला हुनुहुन्छ । आत्मविश्वास र भरोसाले वाधाव्यवधान पन्साउन सक्षम हुनुहुन्छ । यो जागिरमा अहिले तपाईं दाबी नगर्नुस् । अर्को वर्ष तपाईंलाई पनि दिउँला ढुक्क हुनुस् ।’
कुरा सुनेर म रन्थनिएकी थिएँ । के गरौँ र कसौँ भनौँ भएको थियो । बाह्र, चौध दिन धाएर, अनेक प्रयत्न गरेर लिखित परीक्षा उत्तीर्ण गरिसकेपछि जिम्मेवार मान्छेले नै यस्ता कुरा गरेर मौखिकमा मलाई छाँटिदिए । म गरिब र दलित भएकै कारण पाइसकेको जागिर पनि खुस्कियो ।
‘हजुर, यस पाला अर्कैलाई हुने हो भने अर्को पाला मलाई जागिर हुन्छ भन्ने के ग्यारेन्टी ? सक्नुहुन्छ भने मलाई लेखेर दिनुस् त ! अनि म ढुक्क भएर फर्कन्छु ।’ जागिर त्याग्नैपर्ने भएपछि मैले वाध्य भएर मुख खोलेकी थिएँ ।
उनले फिस्स हाँसेर कुरा टारे । म जम्ला हात मात्र भएकी मान्छे थिएँ । मसँग न सोर्स थियो,न फोर्स नै थियो । न ठूलो आवाज थियो, न कसैको भरपर्दो साथ थियो । मलाई त यो समाज नै मेरो आफ्नोजस्तो लाग्न छाडिसक्यो । के गर्नु, न मन खालेर हाँस्न पाएकी छु, न निश्चिन्त भएर मीठो निद्रा निदाउन भेटेकी छु । बुझ्झकी महिला भएपछि झन पिरलो थपिएको छ ।
अघिल्तर नाचिरहेकी जेनिसाको अन्यौलग्रस्त भविष्य सम्झेर धुरुधुरु रुन मन लागेको छ । यता आफ्नो हाल जर्जर छ, उता जन्मदिने आमाबुबाको अवस्था कहालिलाग्दो छ । यी सबै समस्याको एउटै अस्त्र छ– हामी दलितहरू समाज र सरकारको दयाको हैन, अधिकारको लागि दवाव दिन्छौँ । हामी हरेक तहमा नपुगुञ्जेल हामीलाई सरकार र समाजले भरणपोषण गर्नुपर्छ । नत्र भने योग्यता अनुसारको काम दिनुपर्छ । दलित, अपठित र गवार भनेर हेप्ने गरेको हामीलाई किमार्थ सह्य छैन ।हामी निर्धन र हेपिएकालाई उक्लने सिँढी बनाएकोमा घोर आपत्ति जनाउँछौँ ।
म यस समाजलाई आग्रह गर्छु– मेरो क्रन्दन सुनेर पनि बुझ नपचाउनुस् । मलाई र मेरो श्रीमान्लाई जागिर दिएर समाजमा बाँच्न दिनुस् । हामीमाथि कसैले दुई पैसा दिएर दया देखाउनु पर्दैन । सिर्फ पाखुरी चलाउने र दिमाख खियाउने अवसर दिए पुग्छ । नत्र भने स्नातक गरेका हामी जोडीलाई छोरीसहित सडकमा भोकै–तिर्खै भौतारिन र बहुलाउने अवसर दिनुस् ।
सम्पर्क मोनं ९८१९९२६०२७÷९८१६७६९७१५
(साहित्यकार नन्दलाल आचार्यसँगको वार्तामा आधारित)

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।