• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

प्रमुख पर्यटकीय स्थहलहरुमा सप्तरीका पाँच गन्तव्य

प्रमुख पर्यटकीय स्थहलहरुमा सप्तरीका पाँच गन्तव्य

राजविराज, २३ पुस । भ्रमण वर्ष २०२० मा प्रमुख पर्यटकीय गन्तव्यहरुमा सप्तरीका पाँच ओटा स्थलहरु परेको छ ।
नेपाल सरकारले देशैभरिमा करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ भ्रमण वर्षको घोषणा गरिएको हो । प्रदेश नम्वर २ अन्तर्गत सप्तरी जिल्लाका छिन्नमस्ता गाउँपालिकाको सखडेश्वरी छिन्नमस्ता भगवती मन्दिर, हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदहको कङ्कालिनी मन्दिर, कोशी टापु, तिरहुत गाउँपालिका स्थित बनस्खण्डी लोहजरा दह र राजविराजको राजदेवी मन्दिर प्रमुख पर्यटकीय गन्तव्यको रुपमा राखिएको छ ।
प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा परेका स्थलहरुमा प्रदेश सरकारले भौतिक पूर्वाधारका साथै पर्यटकहरुकालागि अति आवश्यक सुविधाहरुमा प्रदेश सरकारले लगानी गर्ने प्रतिवद्धता उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायको रहेको छ । छिन्नमस्ता लगायतका स्थलहरुमा पर्यटकहरुकालागि शौचालय, आश्रय स्थल, खानेपानी, सडक, विद्युत लगायतका विषयहरुलाई प्राथमिकतामा राखेको उनले पर्यटन सम्वन्धी एक कार्यक्रमहरुमा प्रतिवद्धता व्यक्त गरेका छन् ।
सप्तरी जिल्लामा दर्जन बढी महत्वपूर्ण पर्यटकीय स्थलहरु रहे पनि तीमध्येबाट पर्यटक लोभ्याउने सम्भावना समेतलाई ध्यानमा राखी पाँच ओटा पर्यटकीय गन्तव्यहरु छनौट गरेको हुनसक्ने भ्रमण वर्ष २०२० प्रदेश समन्वय समितिका सदस्य अरुण कुमार प्रधानले बताउँछन् । यद्यपी अन्य पर्यटकीय स्थलहरुको विकास गर्न समेत आफुहरु प्रयासरत रहेको उनको भनाई छ । जिल्ला स्तरमा रहेका समन्वय समितिहरुले समेत आ–आफ्नो जिल्लाका पर्यटकीय स्थलहरुको सम्भाव्यता अध्ययन गरी आवश्यक नीति बनाएर अगाडि बढ्ने समितिका प्रदेश सदस्य प्रधानले जानकारी दिए ।
जिल्लामा रहेका प्रमुख पाँच ओटा पर्यटकीय गन्तव्य बाहेकका महत्वपूर्ण स्थलहरुबारे आवश्यक गृहकार्य गर्न विज्ञ सम्मिलित समिति समेत बनाएको भ्रमण वर्ष २०२० जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादव बताउँछन् । आवश्यक योजना बनाएर वर्षैभरिकालागि विभिन्न गतिविधी सञ्चालन गरिने उनको भनाई छ ।
सप्तरी जिल्लामा शम्भुनाथ, शनि धाम, कृष्णाराम मरौटी, मानराजा गढी, चन्द्रनहर हेडबाँध, दिनाभद्री, हनुमान मन्दिर, कनकपट्टी दरबार लगायतका स्थलहरु रहेका छन् । उक्त स्थलहरुमा समेत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको छ ।