• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आफैंलाई खोज्दै हिडेको मधेस

उमेश कुमार यादव ‘अजय’
सर्वहाराको मधेस
श्रमिकको मधेस
गरिबको मधेस
किसानको मधेस
आफ्नै देशभित्र, आफैंलाई खोज्दै हिडेको मधेस
सदियौदेखि बिरानोपन र अपमान
महसुस गर्दै आएको मधेस
हो, यीनै मधेसले पहिचान खोज्दैछ
हो, यिनै मधेसले पहुँच खोज्दै छ ।

मधेसले भुक्तमान गोपाल खोज्दैछन्
मधेसले दिनाभद्री खोज्दैछन्
मधेसले सलहेस खोज्दैछन्
मधेसले कृष्णा राम खोज्दैछन्
मधेसले किताबमा खोजे
मधेसले सिंहदरबारका इतिहासमा खोजे
मधेसले पहाड र हिमालमा खोजे
सिंहदरबारका चतुरेहरुले इतिहासमै बेमानी गरेको पाए
फेरी जनक खोज्छन् ,सीता खोज्छन्
राष्ट्रिय विभुतिकै पंक्तिमा पाउँछन
मधेसले आफ्नो साइनो र परिचय दिन्छन्
विगत धेरै लामो समयदेखि
अपरिचित बनाउने षड्यन्त्र सिकाउछँन
अनि मधेसले बुद्ध खोज्छन्
बिगत लामो समयदेखि, योजनावद्ध तरिकाले
देश भित्रका शासकले मधेस सङ्ग,
पडोसीले देशैसँग अपरिचित बनाउने
षड्यन्त्र गर्दै विवाद जन्माउँछन् ।
हो,यिनै मधेसले न्याय खोज्दैछन्
हो,यिनै मधेसले किसान
मजदुरको पहिचान र पहुँच खोज्दैछन् ।।

मधेसले रामबृक्ष यादव जन्माएको छ
मधेसले जयगोविन्द साह,सुर्यनाथ यादव जन्माएको छ
मधेसले दिलिप चौधरी ,अजबलाल जन्माएको छ
मधेसले रामराजाप्रसाद जन्माएको छ
मधेसले गुजाइ कमरेड जन्माएको छ
मधेसले किसान आन्दोलन पनि जन्माएको छ
’रे नै जी कहु’ आन्दोलनको ज्ञान छ
‘मोछ उखाड’ मात्र होइन,
सामन्त र जमिनदार लखेटेको सान छ
त्यसैले तिमी नियालेर हेर
ए ! सिंहदरबार
मधेसभित्र आन्दोलनमा सुकुम्बासी सहिद भएका छन
श्रमिक, गरिब, किसान सहिद भएका छन्
जमिनदार ढलेको सुन्यौं तिमिले कहिल्यै ?
सामन्त ढलेको सुन्यौं तिमिले कहिल्यै ?
पूँजीपति ढलेका सुन्यौं तिमिले ?
न त तिनी ढले, न त तिनका सन्तान ढले
ढले फगत मजदूर ,किसान र तिनका सन्तान
सुन्यौ सिंहदरबार ?
तिनको पहिचान र पहुँच पनि खोसिएको छैन
तिनको अपमान पनि भएको छैन,
राणाहरुले तिनैलाइ चिने
राजाहरुले तिनैलाइ चिने
पन्चहरुले तिनैलाइ चिने
२०४६ पछि तिनैलाइ तिमीले माया गर्यौ
जनयुद्धले उखेल्न खोज्दा बिचैमा
षड्यन्त्रपुर्ण तरिकाले तुहायौ
होइन र सिंहदरबार ?
ए ! सिंहदरबार
तिमीले कारिन्दा पोस्न छोड
तिमीले दलाल रोज्न छोड
तिमीले घुसपैठिया पठाउन छोड
तिमीले षड्यन्त्र र दमनको नियत छोड
तिमीले ‘रे होइन जी’ भन्न सिक
तिमीले इतिहासको अपराध स्विकार्दै
क्षतिपूर्ति तिर्न हिम्मत गर
तिमी सिंहदरबारलाई सर्बहाराको
मजदुर किसानको दरबार बनाउने हिम्मत गर

बिना बर्दी, बिना हतियार
सिमारक्षक मधेसी
हिमाल ,पहाड दुख्दा दुख्ने मधेसी
जङ्गल ,चुरे बिनास हुँदा पीडा भोग्ने मधेसी
असमान सन्धि ,सम्झौताले ठगिने मधेसी
प्रतिनिधित्व थोरै भए पनि पुलिस बन्ने ,मास्टर बन्ने मधेसी
जेटिए, अमिन, पियन बन्ने मधेसी
अर्थात् तिमिले आफ्नो लाज जोगाउन सानो जागिर दिँदा
जागिर खाने मधेसी
अन्न उब्जाएर देशलाई पाल्ने मधेसी
विदेश गएर रेमिट्यान्स पठाउने मधेसी
कुनै जमिनदार, सामन्तका सन्तान होइनन्
कुनै पूँजीपति, दलालका सन्तान होइनन्
बुझ्यौ ! सिंहदरबार
त्यसैले तिमी मधेसलाई हेर्नेबुझ्ने सोचाइमा क्रमभङ्ग गर
असली मधेसको पहिचान र पहुँचको ग्यारेन्टी गर ।

विपी, पुष्पलाल, मदन भण्डारी,गणेशमान
निर्मल लामा, मनमोहन अधिकारीलाई
सम्मान गर्छन,मधेसी
तिनका सालिकलाई सलाम गर्छन् मधेसी
तिमीले पनि रामबृक्ष,जयगोविन्द साह,सुर्यनाथ रान,
महेन्द्र नारायण निधि, रामराजाप्रसाद सिंहलाई
सम्मान गर्नुपर्दैनन् र ?
यीनका सालिक काठमाडौं
पहाड, हिमालमा राख्नु पर्दैनन् र ?
एक हातले ताली बजाउने
तिम्रो तालिम गज्जबको रहेछ
तिमिलाई थाहा भएको हुनुपर्छ
तिम्रो तालिमको म्याद गुज्रिसकेको रहेछ
निरन्तरता होइन, क्रमभङ्ग गर
छलाङ हानी थोरै विपत्ति सामना गर्ने आँट गर
मधेसीको अनुहार हँसिलो पार्ने काम गरि प्रायश्चित गर ।

तिमीले खेल्न खोजे अनिष्ट निम्तिन्छ
इतिहास दोहर्याउन खोजे डन्डा बर्सिन्छ
गाइभैंसी चराउने हातहरु
हली–गोठाला गर्ने पाखुराहरु
मानसिक श्रम गर्ने वौद्धिकहरु
सदियौदेखि पीडा खेप्दै आएका दलितहरू
चुलोचौकादेखि सडकमा निस्केका आमा बहिनीहरु
बेरोजगार युवाहरू
असमान शिक्षा भोग्दै विद्यार्थीहरु
मधेसभित्र वर्गिय उत्पीडन भोग्दै आएका जनहरु
देशभित्र जातीय उत्पीडन भोग्दै आएका जनहरु
एकाकार भै लड्नेछन्
इतिहासदेखिको अपमानको क्षतिपूर्ति लिई छाडनेछन् ।

२०७६ पुस १८ (सुकेधारा, काठमाडौं)
(लेखक यादव पूर्वमन्त्री एवम् नेकपाका प्रभावशाली नेता हुन् )