• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

सप्तरीमा पनि नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा जुट्न सवैमा आग्रह
सप्तरीमा पनि नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ

राजविराज, १६ पुस । ‘नेपाल भ्रमण वर्ष २०२०’ भव्यताकासाथ मनाउन सप्तरीमा पनि बुधवार विभिन्न कार्यक्रम गरी भ्रमण वर्ष शुभारम्भ गरिएको छ ।
सरसफाई, प्रभातफेरी, कोणसभा लगायतका कार्यक्रम आयोजना गरी भ्रमण वर्ष शुभारम्भ गरिएको हो । जिल्लामा पर्यटक भित्र्याउने उदेश्यका साथ भ्रमण वर्ष २०२० तय गरिएको छ । भ्रमण वर्षको लोगोसहित सदरमुकाम राजविराजमा प्रभातफेरी आयोजना गरिएको छ ।
अभियान सफल पार्न गठित जिल्ला पर्यटन समन्वय समिति सप्तरीले स्थानीय शिव मन्दिर प्राङ्गणबाट प्लेकार्डसहित निकालिएको ¥यालीले बजार परिक्रमा गरेको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी, नागरिक समाज, पेशाकर्मी, यूवा, विद्यार्थी लगायतको सहभागीतामा निकालिएको ¥याली गजेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको छ ।
सभाका वक्ताहरुले सम्पूर्ण नागरिक समाज, पेसाकर्मी, व्यवसायी, सर्वसाधारण लगायतले सहयोगी भावनाकासाथ भ्रमण वर्षमा लाग्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले सप्तरीस्थित छिन्नमस्ता भगवति मन्दिर, कंकालिनी मन्दिर, लोहजरा दह, कोशी व्यारेज, गोलघर, धारापानी, शम्भुनाथ, चन्द्रनहर हेडबाँध, शनि मन्दिर लगायतका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा जुट्न सवैमा आग्रह समेत गरेका हुन् ।
सभामा जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादव, उद्योग वाणिज्य संघका सप्तरीका अध्यक्ष अरूण प्रधान, ईतिहासविज्ञ डा. पिताम्वरलाल यादव, वरिष्ठ पत्रकार शिवहरी प्रसाद भट्राई, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, निजामती कर्मचारीहरूकाे आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झा लगायतले बोलेका थिए ।


पर्यटकीय स्थलहरुलाई व्यापक प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्य लिएका समितिले जिल्लाको आर्थिक विकासका लागि पनि यस भ्रमण वर्षले सहयोग पुग्ने अपेक्षा गरेको छ ।
उता, तिलाठी कोइलाडी गाउँपालिकाले बुधवार भारतबाट नेपाल भित्रिएका पर्यटकहरुलाई सम्मान तथा स्वागत गरेर पर्यटक वर्षको शुभारभ्म गरेको छ । गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले वडा नम्वर १ बेल्हीस्थित भन्सार कार्यालयको प्रङ्गणमा पर्यटकहरुलाई माला तथा गम्छा लगाएर सम्मान साथ स्वागत गरेका छन् ।
सो अवसरमा गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, भन्सार कार्यालयका प्रमुख अभिषेक कर्ण, सशस्त्र प्रहरी निरीक्षक राजेश थापा लगायतकाले भारतीय पर्यटकहरुलाई स्वागत तथा सम्मान गरेका हुन् ।