• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रुपनी गाउँपालिकाद्वारा बंगुरमा निःशुल्क भ्याक्सिन

रुपनी गाउँपालिकाद्वारा बंगुरमा निःशुल्क भ्याक्सिन

बृजमान तामाङ
बिरेन्द्र बजार, ४ पुस । सप्तरीको रुपनी गाउँपालिकामा अज्ञात रोग फैलिएर बंगुर मर्न थालेपछि गाउँपालिकाले बंगुरमा स्वाईन फिबरको निशुल्क भ्याक्सिन लगाउन शुरु गरेको छ ।
एकहप्तादेखि फैलिएको रोगले किसानले पालेको बंगुर दैनिक मर्ने क्रम नरोकिएपछि गाउँपालिकाद्वारा भ्याक्सिन लगाउने ब्यवस्था मिलाएको हो । बंगुरमा फैलिएको अज्ञात रोगले किसानले पालेको बंगुर मरेर ठूलो क्षति भएकोले माहामरीकोको रुपमा फैलिने स्वाईन फिबर रोगको भ्याक्सिन लगाउने ब्यबस्था मिलाएको रुपनी गाउँपालिकाले जनाएको छ ।
रोग परीक्षण गर्न प्रभावित क्षेत्रमा पशुस्वास्थ्यकर्मीले संक्रमित बंगुरको रगत र पोष्टमार्टम गरि लगिसकोले रिपोर्ट आउन साथ थप उपचारको समेत ब्यबाथापन मिलाउने गाउँपालिका अध्यक्ष हरेराम यादवले बताए । एक हप्तादेखि फैलिएको अज्ञात रोगले रुपनी गाउँपालिका वडा नम्बर ६ का कुलानन्द चौधरीले फार्ममा ६ दर्जन बगुर मरेर लाखौंको क्षति भएको छ ।
शरिरको तापाक्रम बढ्ने, काम्ने, मुखबाट र्याल काढ्ने लक्षण देखिएको १ घण्टामै मर्ने रोगले चौधरीका साथै स्थानीय भद्र लामा, हुमा थापा मगर, अशोक तामाङ अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका सन्जमान तामाङ, सुबास राई, सरिता राई लगायतका किसानले पालेको बंगुर मरेका छन् । रोग लागेको क्षेत्रमा भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र सप्तरी सिराहाले भ्याक्सिन उपलब्ध गराएको भ्याक्सिन लागाउन खटिएका रुपनी गाउँपालिका पशुस्वास्थ्य शाखाका प्राविधिक शशी प्रसाद यादवले जानकारी दिए । उनले किसानको फार्म र घरमा गएर निशुल्कसेवा प्रदान गरेको बताए ।
यसैबीच रोग प्रभावित क्षेत्रको अनुगमन शुक्रबार एक उच्चस्तरीय टोलीले गरेका छन् । पशुसेवा विभाग काठमाडौको बरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायको नेतृत्वको टोलीले पीडितहरुको बंगुर फार्ममा पुगेर क्षतिबारे जानकारी लिएका छन् । टोलीमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरका प्रमुख डा. राकेश मोहन सिंह, भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र सिराहा सप्तरीका प्रमुख फुलगेन यादव, पशुस्वास्थ्य प्राविधिक सत्यनारायण मण्डल लगायतका पशुस्वास्थ्य विज्ञहरुको सहभागिता थियो । उनीहरुले बंगुरमा फैलिएको रोगको बारे परिक्षणको क्रममा रहेको हुँदा कुन रोग हो ? भनी रिपोर्ट आएपछि मात्र भन्न सकिने प्रतिक्रिया दिए ।