• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

धरौटीमा रिहा भए आरोपी वडा अध्यक्ष साह

आदेश सुनेपछि अदालतमै मुर्छित भए वडा अध्यक्ष
धरौटीमा रिहा भए आरोपी वडा अध्यक्ष साह

राजविराज, ३ पुस । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडा नम्वर– १२ का लक्ष्मी साहसहित तीन जना आरोपितहरु जिल्ला अदालत सप्तरीको आदेशमा धरौटीमा रिहा भएका छन् ।
मुद्दाको सुनुवाई गरी उनीहरु जनही १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् । यसरी रिहा हुनेमा वडा अध्यक्ष साहसहित सोही वडाका नसिम मियाँ भनिने मोहम्मद नसिब मियाँ र अनिल कुमार रायसँग जनही १५ हजार रुपैयाँ धरौटी लिएर अदालतले रिहा गरेको छ । जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहर प्रसाद सिंहको ईजलासले प्रस्तुत मुद्दाको पुर्पक्षको सिलसिलामा प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने हुँदा हाल तत्काल प्राप्त प्रमाणको आधारबाट प्रतिवादीहरु राय, मियाँ र साहबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ बमोजिम जनही १५ हजार नगद वा सो बराबरको जेथा धरौटी वा बैंक ग्यारेन्टी दिए लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी आदेश गरेको छ ।
उनीहरु तीन जना विहीबार बेलुकी नै धरौटी बुझाएर रिहा भईसकेका छन् । शम्भुनाथ नगरापालिका वडा नम्वर १२ का परिवर्तित नाम राजविराज ख एकको जाहेरीले नेपाल सरकार वादी भएर जिल्ला अदालत सप्तरीमा दर्ता गरिएको जबरजस्ती करणी प्रयासको मुद्दामा पीडितले दिएको जाहेरी दर्खास्तको आधारमा अनुसन्धानको क्रममा खडा गरिएको घटनास्थल मुचुल्का, घटना विवरण, कागज र वस्तुस्थिति मुचुल्का समेतबाट जाहेरी व्योहोरा समर्थित देखिएको अदालतले ठहर गरेको छ । पीडितहरु कसैले पनि जबरजस्ती करणी उद्योगको कसुर गरेको मुद्दाको अनुसन्धानको क्रममा गरेको बयान र सोही व्योहोरालाई समर्थन हुने गरी अदालतमा आई बयान गरेको आदेशमा उल्लेख छ ।
पीडितको शारिरीक परीक्षणबाट उनको हत्केलामा एक से.मि. घाउ देखिएको बाहेक अन्य कुनै पनि जबरजस्ती करणी वारदातको शंकेत नदेखिएकाले तत्काल प्रमाणहरुबाट उनीहरु कसुरदार रहेको भन्न नमिल्ने आदेशमा उल्लेख छ ।
नेपाली कांग्रेसबाट शम्भुनाथ नगरपालिका वडा नम्वर १२ को अध्यक्षमा निर्वाचित साहसहित अन्य दुई जनाालाई गत मंसिर २४ गते प्रहरीले पक्राउ गरेका थिए । सत्ताधारी दल नेकपाका केही स्थानीय नेताहरुको सुनियोजित षड्यन्त्रका कारण उनीहरुलाई फँसाईएको भनी नेपाली कांग्रेस सप्तरीले गत मंसिर २७ गते सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल र प्रहरी प्रमुख कृष्ण प्रसाइँ मार्फत प्रहरी प्रधान कार्यालयमा ज्ञापनपत्र पठाएका थिए । ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवको नेतृत्वमा सयौंको संख्यामा नेता तथा कार्यकर्ताहरु नाराजुलुश सहित पुगेका थिए ।
यसैगरी वडा अध्यक्ष साह निर्दोष रहेको भन्दै जिल्लाका स्थानीय तहका प्रमुखहरुले समेत प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर मुद्दाको छिट्टो सुनुवाई गर्न उनीहरु उपर दवाव दिएका थिए । दवावमा रहेका सप्तरी प्रहरीले अदालतबाट पहिलो पटककालागि म्याद प्राप्त भएको सात दिनभित्रै आवश्यक प्रक्रिया पुरा गरेर मुद्दाको मिसिल जिल्ला सरकारी वकिल कार्यालय पठाएका थिए । जिल्ला सरकारी वकिल कार्यालयले विहीबार नै आरोपितहरु सहित मुद्दाको अभियोग पत्र अदालतमा बुझाएको र विहीबारै अदालतले उनीहरुलाई धरौटीमा रिहा गरेको जिल्ला अदालत सप्तरीले जनाएको छ ।
जबरजस्ती करणी प्रयासको मुद्दामा फास्ट ट्रयाकमा यति छिट्टै मुद्दाको सुनुवाई र आदेश भएको सप्तरीमै सम्भवतः पहिलो हो ।
आदेश सुनेपछि अदालतमै मुर्छित भए वडा अध्यक्ष
जबरजस्ती करणी प्रयासको मुद्दामा १५ हजार रुपैयाँ धरौटीमा रिहा हुने आदेश भएको थाहा पाएपछि आरोपित वडा अध्यक्ष लक्ष्मी साह अदालतमै मुर्छित हुन पुगे । मुद्दाको सुनुवाई सकिएपछि अदालतको भुइँतल्लामा रहेको थुनुवा कक्षमा बसेर आदेश पर्खिरहेका उनी ईजलासबाट आदेश सुनेर बाँकी कानूनी प्रक्रिया पुरा गर्न फाँटमा आएपछि उनी एक्कासी बेहोस हुन पुगेका थिए ।
मुद्दाको मिसिल कागजपत्र र तारेख पर्चामा अदालतका कर्मचारीहरुले सही छाप गराउन खोज्ने क्रममा उनको जीउ काम्नुका साथै पसिना आएको र उनले सही छाप समेत गर्न नसकेपछि अदालतका कर्मचारी र उनका आफन्तजनसहित कांग्रेसजनले अनुहारमा पानी छर्केर उनलाई आराम गर्न लगाएका थिए । उच्च रक्तचापका रोगी समेत रहेकाले उनी बेहोस हुन पुगेको हुनसक्ने नेपाली कांग्रेस सप्तरीका सचिव रामकुमार यादवले बताए । अध्यक्ष साहलाई लिन सचिव यादवसहित महाधिवेशन प्रतिनिधी नन्दकिशोर यादव, पार्टीका कार्यालय सचिव भूपेन्द्र यादव, विद्यार्थी नेता जयप्रकाश यादवसहितका नेता तथा कार्यकर्ताहरु अदालत पुगेका थिए ।
अदालतबाट रिहा भएपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै वडा अध्यक्ष साहले नेकपाका केही स्थानीय नेताले महिलालाई प्रयोग गरी आफुलाई फँसाउन खोजेको आरोप लगाए । आरोप लगाएकी महिलाको छोराले आफूभन्दा जेठी अर्काकी पत्नी भगाएको र सोही मुद्दाको छलफलको बहानामा आफुलाई फँसाउन खोजेको आरोप लगाउँदै उनले भने ‘म जनप्रतिनिधी हुँ, यस्ता आरोपबाट डराउँदिन र अझ बढी सुखदुःखमा सहयोग गरिरहनेछु ।’
अदालतमै मुर्छित हुन पुगेका वडा अध्यक्ष साहको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गराई घर पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताए ।