• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

राजविराज बसपार्क निर्माण कार्यमा तिब्रता

तोकिएकै म्यादभित्र कार्य सम्पन्न गर्ने प्रतिवद्धता
राजविराज बसपार्क निर्माण कार्यमा तिब्रता

राजविराज, २९ मंसिर । निजी जग्गा रहेको दावी गर्दै केही व्यक्तिले अदालतमा मुद्दा दिएका कारण अवरुद्ध रहेको राजविराज बसपार्क निर्माणले तिब्रता पाएको छ ।
स्थानीय रीता दास, धनश्याम दास, रामकुमार दास, ललितादेवी मण्डल लगायतले निर्माणाधिन बसपार्कमा निजी जग्गा रहेको दावी गर्दै मुद्दा दिएका कारण केही महिना निर्माण कार्य अवरुद्ध भएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत २०७४ गत माघ २६ गते बसपार्कको शिलान्यास मन्त्रालयका सचिव डा. दिपेन्द्रनाथ शर्माले गरेका थिए । बस पार्क निर्माणको ठेक्का सिनर्जी विल्डर्स प्रालि काठमाडौंले पाएको छ । कर बाहेक कुल १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुपैयाँमा निर्माण थालिएको यस बस पार्कमा सेड, घण्टाघर, भित्रिसडक, सर्भिस सेन्टर, शौचालय, इन्धन ड्रेन, कम्पाउण्ड पर्खाल र टर्मिनल भवन निर्माण गरिने सम्झौता छ ।
निर्माण कार्य सकिन करिब एक वर्ष मात्र बाँकी रहँदा कम्पनी कामदार थपेर कामलाई द्रुत गतिमा अगाडि बढाईएको निर्माण कम्पनी सिनर्जी विल्डर्स प्रालिका ई. अमित साहले जानकारी दिएका छन् । शुरुमा आफुहरुले काम अगाडि बढाए पनि मुद्दा परेर काम रोक्नु परेको उनले बताए ।
अदालतबाट छिनोफानो भएपछि काम द्रुत गतिमा अगाडि बढाईएकोमा जानकारी दिँदै उनले २०७७ पुस १८ गतेभित्र निर्माण कार्य सम्पन्न गरी राजविराज नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने भएकोले कामदार थप गरी द्रुत गतिमा काम अगाडि बढाईएको जानकारी दिए । नियमित रुपमा यसरी नै काम अगाडि बढाईए तोकिएकै समयमै सकिने उनको दावी छ ।
स्थानीयको अवरोधका कारण राजविराज बसपार्क निर्माण कार्य पटक–पटक अवरुद्ध रहँदैआएकोमा पछिल्लोपटक अदालतबाट निकास पाएपछि काम तिब्र गतिमा अगाडि बढेको सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख रमेश कुमार थिङ्गले जानकारी दिए । निर्माणको गुणस्तरियता मापदण्ड ईत्यादीबारे आफुहरुले रेखदेख एवम् निगरानी गर्दैआएको बताउँदै उनले नियमित रुपमा काम भईरह्यो भने तोकिएकै समयमा सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।
आफु मेयर भए लगत्तै सहरी विकास मन्त्रालयसँग पहल गरी बसपार्क निर्माण गर्ने संकल्पकासाथ बजेट ल्याएर शिलान्यास समेत गराई काम अगाडि बढाएकोमा मुद्दा परेर बसपार्कको केही महिना अवरुद्ध भएको राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले बताए । अदालतबाट छिनोफानो भए लगत्तै निर्माण कम्पनीलाई ताकेदा गरी चाँडै काम सक्न आग्रह गरेको जानकारी दिँदै उनले भने ‘बसपार्क निर्माण ड्रिम प्रोजेक्ट हो, आफ्नै कार्यकालमा नयाँ बसपार्क सञ्चालन गर्ने सङ्कल्प लिएको छु ।’
देशकै पहिलो टाउन प्लानिङ्ग सिटी राजविराजमा बस पार्क नभएका कारण अव्यवस्थित रुपमा दिवा तथा रात्री बसहरु सञ्चालन हुँदैआएको छ । जसका कारण कारण नगरका मुख्य सडक तथा चौकहरुमा ट्राफिक जाम हुने गरेको छ । साँझ र बिहानको बेला ट्राफिकलाई व्यवस्थापन गर्न हम्महम्मे पर्ने गरेको छ ।