• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरणको शिलान्यास

स्वच्छता अभियान अन्तर्गत पोखरी सौन्दर्यीकरणको शिलान्यास

जनकपुरधाम, २८ मंसिर । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीमा शनिवार दुई वटा पोखरी सौन्दर्यीकरणको शिलान्यास कार्य सम्पन्न भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्वर ३ मडै स्थित ब्रह्मबाबा पोखरी र जलेश्वर नगरपालिका वडा नम्वर ४ सुगा स्थित सुकदेव सरमा सौन्दर्यीकरणको शिलान्यास गरेका हुन् । मडैमा आयोजित शिलान्याश कार्यक्रममा मुख्यमन्त्रीका साथै प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी, प्रदेश सभा सदस्य सुरिता साह, सिंघासन साह कलवार, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, पूर्व कृषि मन्त्री हरिनारायण यादव सहितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजिक रुपान्तरणकोलागि शुरु गरेको स्वच्छता अभियान र बेटी पढाउ बेटी बचाउ कार्यक्रममा जनसहभागिताकोलागि सबै वर्गलाई आग्रह गरे । प्रदेश सरकारले ल्याएको योजनाहरुमा सवैपक्ष वर्गले सहभागिता नजनाएसम्म सफलता पाउन नसक्ने उल्लेख गर्दै आ–आफनो स्थानबाट सबैलाई सहयोग गर्न आग्रह गरे ।
मडैमा शिलान्यास गरिएको पोखरी सौन्दर्यीकरणमा प्रदेश सरकाले ४ करोड १७ लाखको लागतमा एक वर्षभित्र पोखरीमा घाट निर्माण, सभागृहको निर्माण, क्यान्टिन, शुलभ शौचालय सहितको निर्माण गरिने भएको छ । पोखरीको शिलान्यास पश्चात मुख्यमन्त्री राउतले प्रदेश सरकारको लगानीमा मडैमा निर्माण गरिएको द्वारको उद्घाटन समेत गरे ।
जलेश्वर नगरपालिका– ४ सुगा स्थित सुकदेव सरको सौन्दर्यीकरणको शिलान्यास समेत गरिएको छ । १ करोड ६७ लाखको लागतमा हुन लागेको सौन्दर्यीकरणको शिलान्यास मुख्यमन्त्री राउतका साथै प्रदेश नम्वर २ का प्रथम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश आन्दोलनमा बलमा गठन भएको प्रदेश सरकार आन्दोलनको भावनालाई कदर गर्दै आन्दोलनमा उठेका मांगहरु क्रमशः सम्बोधन गर्न प्रतिवद्ध रहेको बताए । प्रदेश सरकारले पछिल्लो समयमा चालेको कदमहरु दलित सशक्तिकरण ऐन, महिलालाई ५० प्रतिशतको आरक्षण, अन्य जातिय समुदायलाई संख्याको आधारमा आरक्षण जस्ता कार्यक्रमहरु ट्रेलर मात्र रहेको र यस परिणाम आउने १० वर्षमा देखिने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रथम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, पूर्व कृषिमन्त्री हरिनारायण यादव, प्रदेश सभा सदस्य रामअशिष यादव, सिंघासन साह कलवार, मुख्यन्याधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव रामकृष्ण सुवेदी,जलेश्वर नपाका प्रमुख राम शंकर मिश्र, मटिहानी नपाका प्रमुख हरिमण्डल सहितको सहभागिता रहेको थियो ।