Top_Header_Right_Add
Crona Awareness

आत्मसम्मानको गीत

आत्मसम्मानको गीत

सीताराम प्रकाश

मेरो टाउकोमा ठिङ्ग उभिएको डेमोक्लिजको तरबारले
शिरोच्छेदन चाहेको छ
मेरो आत्मसम्मानको समूल नाश चाहेको छ
मर्न तैयार छु ,
मर्नेपर्छ एकदिन
अजम्मरी छैन कोही पनि
तर मानिस हूँ , मुर्दा हैन
सक्दिन, सक्दिन ज्यूँदो लाश बनेर
हुनत सारालाई चाहिएको छ,
निहुरिएको वा ज्यूँदो मानिसको शिर
चाहिएको छ आज्ञाकारी,विनम्र भेडो
उन्माद, ओकात, सत्ता क्षणिक हो सबै क्षणिक
झूटा मान, शान, अभिमान , प्रशस्ति, संस्तुति
जो छन् अहंकारको अंगालोमा
भ्रम या भूलको अंगालोमा
स्खलित हुनेबितिकै फ्याँकिनेछन् डस्टबिनमा
समयको खेलमात्र हो इन्द्रासन
सुकरातलाई बिष दिनेहरु,
जीससलाई क्रसमा झुण्ड्याउने,
मंसुरको जिब्रो काट्ने,
ग्यालिलियोको पाता कस्ने,
गांधी र किंगलाई गोली ठोक्नेहरु
कहाँ छन?
कहाँ छन् ग्यास च्याम्बरमा –
मानवताको आर्तनादमा उल्लास मनाउनेहरु ?
सांस्कृतिक क्रांतिको नाममा पाशविकता प्रदर्शनगर्नेहरु
कहाँ छन् बीर बर्बरहरु ?
घाईते हुनसक्दछ मुर्छा पर्नसक्दछ सत्य
पीडित, प्रतारित हुनसक्दछ
तर कहाँ मर्दछ पतीत प्रतिघातले
पापले पापको जयमा विजय मनाओस्
सत्य निस्सादिदा,बिरक्त ,बेचैन, एक्लो हुँदा
ज जसले उत्सव मनाए असत्यको जितमा तिनले बिर्से,
सत्य रक्तबीज हो
निगाह जान्दैन, भिक्षा माग्दैन
दयाको जीवन बाँच्दैन स्वाभिमान
बाँच्दैन कायर, कीर्तिहीन भएर
बरु चक्रव्यूहमै मर्न तैयार छ
भाग्दैन रणक्षेत्रबाट !

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।