• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क

एक सय ४१ वटा हिंसा, ७७ जना बलात्कृत
लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क

राजविराज, २५ मंसिर । यस वर्ष छ महिनाको अवधिमा प्रदेश २ मा १ सय ४१ वटा लैङ्गिक हिंसाका घटना भएको बुधवार राजविराजमा आयाजना गरिएको एक कार्यक्रममार्फत खुलासा गरिएको छ ।
लैङ्गिक हिंसा विरुद्ध शान्तिकालागि सञ्जाल अभियान (कोक्याप) र सेतु सामूदायिक तथा मानव अधिकार मञ्च (सेकडिहुरफ) ले आयोजना गरेको ‘लैङ्गिक हिंसा विरुद्ध प्रदेशस्तरीय महाभेला’ कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । तथ्याङ्क अनुसार जसमध्ये ७७ वटा बलात्कारका घटना रहेको छ ।
सन २०१९ जनवरीदेखि जूनसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको तथा ५० जना घाइते भएको तथ्याङ्कमा उल्लेख छ । कोक्यापका प्रदेश २ संयोजक अजय कुसवाहाले तथ्याङ्क प्रस्तुत गर्दै वाल विवाह तथा दाइजो, पितृसत्तात्मक पारीवारिक संरचना, शक्ति र सम्पत्तिमाथिको महत्वाकांक्षा, वैदेशिक रोजगारी लगायतका कारण लैङ्गिक हिंसाका घटनाहरु वृद्धि भएको जिकिर गरे ।
सोही कार्यक्रममा प्रदेश २ का प्रमुख तिलक परियारले लैङ्गिक हिंसामा कमी ल्याउन राज्य पक्ष र यस क्षेत्रमा क्रियाशिल संघ संस्थाले इमान्दारीताकासाथ जिम्मेवारी वहन गर्नुपर्नेमा सुझाव व्यक्त गरे । ‘राजनीतिक पार्टी र तिनका कार्यकर्ताले पनि प्रतिवद्धता जाहेर गरे मात्रै मात्रै यो समस्या न्यूनिकरण हुन्छ’ उनले भने–‘आम्दानीकै अनुपातमा खर्च गर्नेुपर्नेमा फजुल खर्च तथा पैसाकालागि जस्तोसुकै आचरण गर्न पनि तयार रहने प्रवृति बढ्दो छ, ती प्रवृद्धिमा सुधार ल्याउनु जरुरी छ ।’
उनले सांस्कृतिक विचलन तथा पश्चिमा शैलीको अनुकरणको होडबाजीले पनि महिला हिंसा बढाउनमा सघाएको जिकिर गरे । कार्यक्रममा नेकपाका नेता तथा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले प्रदेश २ मै सामन्ति संस्कृतिले सवैभन्दा बढी जकडिएको कारणले लैङ्गिक हिंसा बढेको तर्क प्रस्तुत गरे । ‘यो संस्कृतिको अन्त्य गर्न सवैलाई जागरुक हुनु आवश्यक छ’ उनले भने–‘महिला हिंसा या अन्य कुनै हिंसामा संलग्न व्यक्तिलाई सामाजिक रुपमा पनि दण्डित गर्नुपर्ने जरुरी छ ।’
सेकडिहुरफका अध्यक्ष जंगबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी केन्द्रिय सदस्य पूनम यादव, राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ का निर्देशक विरबहादुर बुढामगर, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं लगायतले पनि लैङ्गिक हिंसा वृद्धिका कारण र समाधानका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश २ की अध्यक्ष आभासेतु सिंहले वैदेशिक रोजगारी तथा कानूनको दुरुपयोगले लैङ्गिक हिंसा बढेको कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।