• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा एघार महिनामा २० ओटा हत्याका घटना

राजविराज, २४ मंसिर । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्गलवार राजविराजमा विभिन्न कार्यक्रम आयोजना गरियो ।
इन्सेकको संयोजन र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा अन्तरकृया कार्यक्रम आयोजना गरिएको हो । “दिगो विकासको आधार, सबैका लागि मानव अधिकार“ मूल नाराका साथ आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक कृष्ण प्रसाईले मानव अधिकार उल्लंघनको बढदो घटनाले गम्भिर बनाएको भन्दै अपराध नियन्त्रण एवम् अनुसन्धानमा दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । घरेलु हिंसा र अपराधको प्रमुख कारक बनेको मादक पदार्थ र लागु औषध नियन्त्रणमा प्रहरीले हरसम्भव प्रयास गरिरहेको जनाउँदै एसपी प्रसाईले फौजदारी अपराधका ८३६ सहित साढे तीन हजार फरार अभियुक्त पक्राउ पर्ने क्रममा सफलता मिल्दै गएको बताए ।
यसअघि इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले आधारपत्र प्रस्तुत गर्दै सप्तरीमा ११ महिनाको अवधिमा भएका २० वटा हत्या घटनामा १० वटा घटनाका अभियुक्त पत्ता नलागेको र पक्राउ नपरेको अवस्थाले गम्भिर बनाएको जानकारी दिए । राज्यबाट एकसहित छोरा, बुवाआमा, पति, देवर, ससुरा अज्ञात र अन्यबाट भएको हत्या, गोली प्रहार, बम विष्फोट, अपहरण, बालिका बलात्कार, बहुविवाह र घरेलु हिंसाको घटनामा बृद्धि भएको उनले बताए ।
मूल समारोह समितिका अध्यक्ष एवम इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला मानवअधिकार रक्षक सञ्जाल एवम् एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, समग्र जनउत्थान केन्द्रका रामनाथ साह, महिला शिक्षक मञ्जु श्रेष्ठ, अधिवक्ताहरु पार्वती राउत, मीना देव, निलहिरा समाजका रामप्रकाश चौधरी, ग्रिन नेपालका अध्यक्ष खेलानन्द दास, समावेशी अपाङ्ग संघकी कोषाध्यक्ष रानु अर्याललगायतले मन्तव्य व्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुर, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, सशस्त्र एसपी उद्धव न्यौपाने, इन्सेक सदस्य बैद्यनाथ झा लगायतको उपस्थिति थियो । सहभागीहरु राजु जयसवाल, सुबोध यादव, इर्साद अहमद, अम्बिका दाहाल लगायतले विभिन्न समस्याहरुबारे जानकारी गराएका थिए ।