• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हराएका बालक २५ वर्षपछि जब जोगीको भेषमा घर फर्के…

हराएका बालक २५ वर्षपछि जब जोगीको भेषमा घर फर्के…

राजविराज, १७ मंसिर । आज भन्दा २५ वर्ष अघि बाल्यकालमै हराएका बालक पाको भएर जोगीको भेषमा फर्केपछि परिचय दिँदा पनि शुरुमा कसैलाई विश्वास लागेन । सप्तरीको कञ्चनरुप नगरपालिका–९ तत्कालिन रुपनगर गाउँ विकास समिति– ५ बाट हराएका शिवहरि पोखरेल आइतवार जोगीको भेषमा आफ्नो घर फर्केका हुन् । शुरुमा आफु शिवहरि भएको बताए पनि परिवारजनलाई पत्याउन पनि दुविधा भईरहेको थियो । किनभने लामो दाह्री, पलाएको जुँगा, जटायुक्त कपाल तथा घाँटीभरि रुद्राक्षको मालाले गर्दा ठूलै साधु–महात्मा जस्तो देखिन्थ्यो ।
बदलिएको रुपरङ्ग तथा फर्राट नेपालीभाषी व्यक्ति हिन्दी लबजमा नेपाली बोल्नुले झन दुविधा थपिरहेको थियो । तर जब बाल्यकालका कुराहरु, बोल्ने शैली, हाउभाउ मिलेपछि बल्ल उनलाई शिवहरि नै हो भनेर यकिन गरियो । हराएको बालक फर्केर आउलान् भनी आश मारिसकेको अवस्थामा उनी आफ्नै घर खोज्दै आईपुगेका हुन् ।
चौध वर्षको उमेरमा पढ्नकालागि सिराहाको ढोडना हिँडेका रामचन्द्र पोखरेल तथा तुलसा देवी पोखरेलका कान्छा छोरा शिवहरी वेपत्ता भएका थिए । कक्षा ७ मै अध्ययनरत रहँदाको अवस्थामा उनी भौतारिँदै भारतको विभिन्न शक्तिपीठ एवम् मन्दिरहरुमा साधुको भेष धारण गरी बस्दैआएका थिए । सोही क्रममा उनी धर्मग्रन्थ एवम् वेद पूराणको अध्ययन समेत गरे ।
पवित्र तीर्थस्थल नेपालको पशपतिनाथ दर्शन गर्न आएका थिए । नेपालका जोगीहरुसँग शिवहरिले आफु पनि नेपाली भएको बताएपछि जोगीहरुले ‘हिन्दु धर्मको कर्म अनुसार आमा–बुवा देवता सरह नै भएकोले जिवितै उनीहरुको दर्शन गर्दा पुण्य हुन्छ साथै मृत्यु भए छोराका कर्तव्य पुरा गर्नु’ भनी सम्झाएपछि बुवाआमो दर्शन गर्न आफ्नै घर खोज्दै रुपनगर आएको स्थानीयवासिन्दा समेत रहेका सञ्चारकर्मी अनिल कुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार सप्तरीको भारदहमा जोगीहरुसँगै आएका उनी त्यहाँको धर्मशालामा बास बसेका थिए । उनी आइतबार पुजापाठ गरी रुपनगरको विष्णु मंदिरमा आई आमाबुवाको विषयमा सोधखोज गरेका थिए । पच्चीस वर्षको लामो अन्तरालपछि बा–आमासँग भेटेर जोगी शिवहरि अत्यन्तै खुशी भए । जन्म दिने बा–आमासँग पुनर्मिलन हँुँदा अत्यन्तै हर्षित देखिएका उनले आफु बा–आमाको सम्पर्कमै रहने उनले प्रतिवद्धता व्यक्त गरे ।
उनका एक दाजु एक दिदी समेत छन् । अनुहारमा रेखी पनि नबसेको उमेर हराएका उनी गेरुवा रङ्गको पोशाकमा अनुहारभरि दाह्री–जुगा भएको अवस्थामा फर्किएकोले उनलाई हेर्न यतिबेला टोल छिमेक तथा आसपासका गाउँका आफन्त एवम् शुभचिन्तकहरुको घुँइचो लागेको छ । उनी हिन्दीमै बोल्छन् भने नेपाली कमै मात्र बोल्छन् ।