Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

म्याद गुज्रेका सरसमान विक्री गर्ने केन्द्र बन्दै राजविराज (पसलको सुचीसहित)

म्याद गुज्रेका सरसमान विक्री गर्ने केन्द्र बन्दै राजविराज (पसलको सुचीसहित)

राजबिराज, १७ मंसिर । सप्तरी सदरमुकाम राजविराजमा केही व्यवसायीहरुले अखाद्य र म्याद गुज्रेका सरसमान विक्री गर्ने गरेको पाइएको छ ।
मंगलवार संयुक्त बजार टोलीले गरेको अनुगमनको क्रममा अखाद्यय र म्याद गुज्रेका सरसमान विक्री गरेको पाइएको हो । टोलीले राजविराजमा सञ्चालित राजीव किराना पसल, पूजा किराना स्टोर, महारानी ज्वेलर्स, न्यू श्री गणेश लक्ष्मी ज्वेलर्स, अमित ज्वेलर्स, प्रदिप हार्डवेयरमा अनुगमन गरेको छ ।
यसैगरी सम्मी कलेक्शन, हक जेनेरल स्टोर, माँ भगवति सप्लायर्स, आकास ल्याव, न्यू त्रिमुर्ति प्याथोलोजी एण्ड एक्सरे लगायतका पसल तथा ल्यावहरुमा अनुगमन गरिएको छ । जसमध्ये राजविराज वडा नं. ७ हटियामा रहेको राजीव किराना पसलमा अखाद्य खाने तेल विक्री गर्ने गरेको पाइएको छ ।
नेपालमा प्रतिवन्धित रहेको परमात्मा नामक खाने तेलसहित अन्य म्याद गुज्रेका अन्य किरानाका समानहरु विक्री गर्ने गरेको अनुगमनको क्रममा पाइएको प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले बताए । यसैगरी, मुख्य सडकमै सञ्चालित माँ भगवती सप्लायर्समा पनि म्याद गुज्रेका रंगहरु विक्री गर्ने गरेको अनुगमनको क्रममा देखिएको उनले बताए । सप्लायर्सबाट एक किलोग्रामको १५ थान रंगको डिवा म्याद गुज्रेको पाइएको छ ।
अन्य पसल सञ्चालकले समेत मुल्य सुची नराखि उपभोक्ता ठगी गर्ने गरेको पाइएकोले मुल्य सुची राखेर व्यवसाय सञ्चालन गर्न चेतावनी दिदै २४ घण्टाभित्र कागजपत्रसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए । ‘दुईवटा पसलमा पाइएको अखाद्य वस्तु र म्याद गुज्रेका समान बरामद गरी आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन भनिएको हो’ उनले भने–‘अटेर गरेर अखाद्य वस्तु विक्री कायमै राखेको पाइएमा पसलमा आवश्यक कारवाही गर्ने तयारी छ ।’

अवैध ल्याव सञ्चालन
राजविराजको मुख्य सडकमै अवैध रुपमा ल्याव सञ्चालन गर्दै आएको पाइएको छ । संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ‘आकास ल्याव’ अवैध रुपमा सञ्चालन गर्दै आएको पाइएको छ ।
‘क’ र ‘ख’ वर्गको ल्याव सञ्चालन गर्न औषधी विभाग तथा ‘ग’ र ‘घ’ वर्गको ल्याव सञ्चालन गर्न जिल्लास्थित जिल्ला स्वास्थ्य कार्यालयसँग स्वीकृति लिएर सञ्चालन गर्नुपर्ने प्रावधान छ । तर, शिवकुमार यादवले स्वीकृति विना नै ल्याव सञ्चालन गर्ने गरेको पाइएको छ । त्यसमाथि ल्यावमा म्याद गुज्रेका केमिकलहरु प्रयोग गर्ने गरेको अनुगमनको क्रममा देखिएको छ । ल्यावमा रहेको म्याद गुज्रेका केमिकलहरु बरामद गरेर सञ्चालकलाई पहिलो पटक चेतावनी दिदै छाडिएको जनाएको छ ।
यसैगरी, न्यू त्रिमुर्ति प्याथोलोजी एण्ड एक्सरेको अवस्था समेत अस्तव्यस्त देखिएको छ । सो ल्यावमा पनि म्याद सकिएको केमिकल भेटिएको जनाएको छ । सञ्चालकलाई ल्याव व्यवस्थित गर्न चेतावनी दिएको छ ।
संयुक्त बजार अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी सुनील खनाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधान, घरेलु तथा सना उद्योग कार्यालय राजविराज तथा राष्ट्रिय उपभोक्ता मञ्च सप्तरीका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

About The Author