• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

बजेट पचाउन मापदण्ड विपरित सडक निर्माण

साढे ९ करोडबढीको ‘बनैनिया–महुकी–ट्राफिक चौक सप्तरी’ योजना
बजेट पचाउन मापदण्ड विपरित सडक निर्माण

राजविराज, १६ मंसिर । सप्तरीको राजगढ गाउँपालिका अन्तर्गत ९ करोडबढी रुपैयाँको लागतमा थालिएको बनैनियाँ–चपेना सडकखण्डको स्तरोन्नति कार्य मापदण्ड विपरित भईरहेको पाइएको छ । जनप्रतिनिधि र स्थानीयवासिन्दाले ठेकेदार कम्पनीको विरोध गर्न थालेपछि सडक स्तरोन्नति कार्य मापदण्ड विपरित भईरहेको खुल्न आएको हो । २०७४ असोज २४ गते ‘बनैनिया–महुकी –ट्राफिक चौक सप्तरी’ नामक योजनाको सम्झौता भयो । कर बोहक ९ करोड ६८ हजार ५ सय १३ रुपैयाँ ५० पैसामा ठेक्का पाएका लहान स्थित बज्रगुरु÷विकास जेभीले बनौनियाँ–चपेना सडकखण्डमा स्तरोन्नतिको कार्य थाले । तर, ठेकेदार कम्पनीले खर्च कम गर्न इष्टिमेट अनुसार स्तरोन्नति कार्य नगरिरहेको स्थानीय मुसहरु यादवले आरोप लगाए । ‘कुल १० मिटरको सडक स्तरोन्नति गरेर ६ मिटरमा कालोपत्रे गर्नुपर्ने थियो, तर सडक नै कत्तै ५ मिटर, त कतै ७ मिटर मात्रै कायम गरी मनपरी ढङ्गले कार्य भईरहेको छ’ उनले भने–‘सडक कालोपत्रे कार्यमा पनि गुणस्तरीयतालाई ध्यान दिएको छैन् ।’
पूर्व गाविस अध्यक्ष समेत यादवले प्राविधिकहरुको रेखदेखमा कालोपत्रेको कार्य हुनुपर्नेमा कम्पनीको प्राविधिक समेत निर्माणस्थलमा नरहने गरेको गुनासो गरे । ‘निर्माण कार्य सुरु गर्ने बेला ठेकेदार कम्पनी आवद्ध इन्जिनियरलगायतका व्यक्तिहरु आएर आफुहरुसँग नापजोख गर्न सहयोग लिएर कार्य सुरु गरे, तर पछि कोही पनि निर्माणस्थलमा देखिदैन्’ उनले थपे–‘स्थानीय दुई जना युवकलाई सवै जिम्मेवारी दिएर प्राविधिक विना नै निर्माण कार्य गराइरहेको छ ।’
अर्का स्थानीय सीताराम सिंहले ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण मापदण्ड विपरित सडक निर्माण कार्य भईरहेको आरोप लगाए । ‘सडक निर्माणमा मापदण्डलाई ख्याल गरिएकै छैन’ उनले भने–‘ठेकेदार कम्पनीको लापरवाहीप्रति सम्वन्धित निकायको ध्यान पुगेको पनि देखिदैन् ।’
सडक डिभिजन कार्यालय लहानले पनि रेखदेखको कार्यमा तदारुकता नदेखाएको उनको गुनासो छ । ‘सम्झौता गरेपछि डिभिजन कार्यालय पनि सुतेको जस्तो छ, रेखदेख गर्नुपर्ने जिम्मेवारी त उसैको हो नि’ उनले भने–‘तर कार्यालयका कुनै पनि कर्मचारी निर्माणस्थलमा आउँदैन् ।’
राजगढ गाउँपालिका वडा नम्वर २ का अध्यक्ष ललितप्रसाद सिंहले समेत इस्टिमेट विपरित र गुणस्तरहिन सडक निर्माण कार्य भईरहेको दावी गरे । ‘सडकको बेस १० मिटर कायम गरेर बेसमा उचित मात्रामा डस हालेर पानी पटाएपछि रोलर गर्नुपर्ने थियो, तर त्यस्तो केही गरिएन ।’ उनले भने–‘नापेर हेनुस् सडकमा कत्तै पनि एकरुपता छैन्, कत्तै ५ मिटर, कत्तै ५ दशमलव ३० मिटरभन्दाबढीको सडक छैन् ।’ ठेकेदार कम्पनीले सडक स्तरोन्नति कार्यमा मनपरी गरिरहेको विषयमा तीन महिना अघि नै सडक डिभिजन कार्यालय लहान तथा जिल्ला प्रशासन सप्तरीमा पत्र काटेर जानकारी गराउँदा समेत सुनुवाई नभएको वडा अध्यक्ष सिंहको गुनासो छ । ‘ठेकेदारको मनपरीबारे जानकारी गराउँदै गत भदौ १७ गते वडा कार्यालयबाट डिभिजन कार्यालयकालागि पत्राचार गरे, त्यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय सप्तरीमा पनि पठाए, तर जवाफ आएन्’ उनले भने–‘त्यसपछि कात्तिक ४ गते फेरी पत्राचार गरे, सो पत्रमा सडकमा भईरहेको माटोको कार्यबारे विस्तृत विवरण मागे, तर जवाफ भने अझैसम्म आएको छैन् ।’ पत्राचार गरेको ‘ओसी कपी’ देखाउँदै उनले इष्टिमेट अनुसार सडक स्तरोन्नतिको कार्य गर्ने–गराउनेतर्फ सम्वन्धित निकायलाई ध्यान दिनुपर्ने माग गरे ।

यता, निर्माण कम्पनीका सौरभ सिंहले स्थानीयहरुको अवरोधका कारण कत्तै कत्तै सडक निर्माणमा समस्या रहेपनि इष्टिमेटअनुसार नै कार्य भईरहेको दावी गरे । सम्झौताअनुसार ९ दशमलव ९० किलोमिटरको बनौनिया–चपेना सडकखण्डलाई स्तरोन्नति गरी कालोपत्रेको कार्य पुरा गर्न निर्माण कम्पनीलाई ०७६ वैशाख २४ गतेसम्म समय तोकिएको छ ।