• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको छिन्नमस्ता–७ को अध्यक्षमा राजपाकी प्रमिला विजयी

सप्तरीको छिन्नमस्ता–७ को अध्यक्षमा राजपाकी प्रमिला विजयी

राजविराज, १५ मंसिर । उपनिर्वाचन अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–७ मा वडा अध्यक्ष पदमा राष्ट्रिय जनता पार्टीकी प्रमिला देवी यादव विजयी भएकी छिन् ।
शनिवार अबेर राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार प्रमिलाले ५ सय ४० मत प्राप्त गरी विजयी भएकी हुन् । प्रमिलालाई समाजवादी पार्टीले समेत समर्थन गरेको थियो । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५ सय २९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश कुमार यादवले ११ मत पाएका छन् ।
कल मतदाता १४ हजार ३ रहेकोमा कुल १ हजार १ सय १४ मत खसेको थियो । जसमध्ये १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार उक्त वडामा ७९ दशमलव ४५ प्रतिशत मतदान भएको छ ।
स्थानीय राष्ट्रिय प्राथमिक विद्यालय हाटीमा विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म शान्तिपूर्वक, मर्यादित र भयरहित रुपमा मतदान सम्पन्न भएको छ । एक मतदानस्थलमा ‘क’ र ‘ख’ गरी दुई वटा मतदान केन्द्रमा मतदान भएको हो । मतदानकालागि दुवै केन्द्रमा मतदान अधिकृत १÷१ जना, सहायक मतदान अधिकृत १÷१ जना, सहायक कर्मचारी २÷२ जना, कार्यालय सहयोग १÷१ र स्वयमसेवक ४÷४ जना गरी जम्मा १८ जना कर्मचारी खटिएको थियो ।
निर्वाचनको सुरक्षालाई मध्यनजर गरी व्यापक सुरक्षाकर्मी परिचालित गरिएको थियो भने शान्तिपूर्वक, मर्यादित र भयरहित किसिमबाट सम्पन्न गर्न गत बुधवार रातिदेखि नै छिन्नमस्ता र विष्णुपुर गाउँपालिकाको वडा नम्वर ७ क्षेत्रभित्र मादक पदार्थ विक्री वितरण र उपभोग गर्न निषेध समेत गरिएको थियो । छ वटा राजनीतिक दल र एक स्वतन्त्र गरी वडाध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
२०७४ को निर्वाचनमा वडा नम्वर ७ को अध्यक्ष पदमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजक पदमा चुनिएपछि सो पद रिक्त हुन पुगेको थियो ।