• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रामराजा प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्रीबाट हुन्छः नेता प्याकुरेल (भिडियो हेर्नुहोस्)

‘कसैलाई भ्रम नहोस्, प्रतिष्ठान बिरौलमै बन्छ, प्रम ओलीबाटै शिलान्यास र उद्घाटन हुन्छ’
रामराजा प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्रीबाट हुन्छः नेता प्याकुरेल (भिडियो हेर्नुहोस्)

राजविराज, ६ मंसिर । नेकपाका नेता एवम् राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमै बन्ने र प्रधानमन्त्री केपी शर्मा ओलीबाटै शिलान्यास तथा उद्घाटन हुने बताएका छन् ।
‘न्यूज टुडे’सँग कुराकानी गर्दै उनले सप्तरीमा प्रतिष्ठान बनाउने घोषणा प्रधानमन्त्री ओलीले नै गरेकोले त्यसलाई मूर्त रुप दिन आफुहरु प्रतिवद्ध रहेको बताए । पार्टी तथा केही नेताको नाम प्रतिष्ठानसँग जोडेर बदनाम गर्ने काम भईरहेको दावी गर्दै उनले भने ‘प्रदेश २ को प्रदेश सभालाई सम्वोधनका क्रममा प्रधानमन्त्रीज्यूले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने घोषणा गर्नुभएको थियो, त्यसैले कसैलाई भ्रम नहोस्, प्रतिष्ठान बिरौलमै बन्छ, प्रम ओलीबाटै शिलान्यास र उद्घाटन हुन्छ ।’
प्रतिष्ठानकालागि उप–प्रधानमन्त्री उपेन्द्र यादवको समेत अथक प्रयास रहेको जानकारी दिँदै नेता प्याकुरेलले कतिपय प्रक्रियाहरुमा आफुहरु सँगसँगै पहलकदमी लिएको जानकारी दिए । ‘नगरपालिकाले प्रतिष्ठानकालागि जमिन छुट्याएको छ, फाइल अगाडि बढेको छ’ उनले भने ‘ग्लोबल बहुमुखी सहकारी संस्थालाई यसअघि नगरपालिका जग्गा हाटबजार तथा पशुपालनकालागि दिएको थियो तर ग्लोबलका अध्यक्ष सुखराम यादवलाई उक्त प्रयोजनमा अन्यत्र जग्गा दिने कुरा भएको छ ।’
प्रतिष्ठानको गतिविधिमा केही सिमित पार्टीलाई मात्रै सोधखोज हुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै संसदीय पार्टीका प्रतिनिधीहरुलाई सहभागी गराउनुपर्नेमा उनले जोड दिए । आफुहरुलाई बदनाम गर्ने काम भईरहेको जानकारी दिँदै उनले भने ‘सप्तरीको विकासको सवालमा कतै पनि हामी हस्तक्षेप वा अवरोध गर्दैनौं, विकास निर्माणको सवालमा हामी सबैसँग हातेमालो गरेर अगाडि बढ्छौं ।’ वर्तमान सरकारको प्राथमिकतामा प्रदेश नम्वर २ नै रहेको चर्चा गर्दै राष्ट्रिय सभा सदस्य प्याकुरेलले मधेशका सदरमुकामहरु जोड्ने सडक, बोर्डर जोड्ने सडक, उपेक्षित रहँदैआएको हुलाकी सडक निर्माण, तराई मधेश समृद्ध कार्यक्रम, मरिन कोेशी डाइभर्सन, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, मधेशको पर्यटन प्रवद्र्धन लगायत विकास र समृद्धिकालागि विभिन्न कार्यक्रमहरु प्रधानमन्त्री ओली सरकारले अगाडि बढाएको बताए ।
सप्तरी जिल्ला विकासको सवालमा अत्यन्तै पछाडि रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले विकासीय बजेटहरुमा व्यापक भ्रष्टाचार हुने गरेकोले अपेक्षाकृत काम हुन नसकेको टिप्पणी गरे । जिल्लाको विकासकोलागि वुद्धिजिवी एवम् नागरिक समाजले दवाव दिनुपर्नेमा जोड दिँदै उनले भने ‘वुद्धिजिवी एवम् नागरिक अगुवाहरुले समय समयमा नेताहरुलाई घचघचाउनु पर्ने आवश्यकता छ, विकास समृद्धिकालागि आ–आफ्नो स्थानबाट जुट्नपर्छ ।’
कृषि क्षेत्रमा आकर्षण घट्दै गईरहेकोप्रति चिन्ता व्यक्त गर्दै नेता प्याकुरेलले कृषि उपज निर्यात गर्ने सप्तरी जिल्लामा भारतबाट खाद्य सामग्रीहरु आयात गर्नुपर्ने दुर्भाग्यपूर्ण रहेको बताए । बैंकहरु पनि गरिब एवम् किसानहरुको पहुँचमा नरहेको चर्चा गर्दै उनले भने ‘बैंकमा केही गर्न चाहने विपन्नवर्गको पहुँच छैन, बैंकबाट न्यून ब्याजमा ऋण लिएर अहिले पनि गाउँघरमा सुदखोरको दोकान चलिरहेको छ, अब त्यस्ता जालोहरु भत्काउनु जरुरी छ ।’

(भिडियो हेर्नुहोस्)