• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विद्यालयमा अनियमितताको आरोपमा प्रशासनमा निवेदन

शिक्षा ईकाईलाई पत्राचार, प्रअद्वारा अनियमितता नभएको दावी
विद्यालयमा अनियमितताको आरोपमा प्रशासनमा निवेदन

राजविराज, ३ मंसिर । सप्तरीको जनता माध्यमिक विद्यालय खुरहुरियामा आर्थिक अनियमितता भएको भन्दै व्यवस्थापन समितिका पदाधिकारी तथा अभिभावकहरुले जिल्ला प्रशासन कार्यालयमा मङ्गलवार निवेदन दर्ता गराएका छन् ।
विद्यालयको तीन आर्थिक वर्षको आय–व्यय विवरण प्रधानाध्यापकसँग पटक–पटक निवेदन दिँदा पनि आलटाल गर्दैआएको भन्दै उनीहरुले निवेदन दर्ता गराएका हुन् । आय–व्यय विवरण प्रधानाध्यापकसँग माग गर्दा आज भोली भनी आलटाल गर्दै हरहिसाब नदिने बदनियतमा रही व्यापक अनियमितता गरेको कार्यलाई ढाकछोप गरी उजागर हुन नदिने षडयन्त्र गरिरहेको निवेदनमा उल्लेख छ । बारम्बार सोधखोज गर्दा पनि चासो नदेखाएकोले निज प्रधानाध्यापकलाई अविलम्ब बुझी आवश्यक कार्वाही गर्न निवेदनमा माग गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य रामनारायण यादव, सदस्य संजिव कुमार यादव, सातैन यादव, दिलिप कुमार यादव, अरुण कुमार मण्डल, डम्बरनारायण यादव, टेकनारायण यादव, जयनारायण यादव, दर्पी यादव, प्रकाश शर्मा लगायतद्वारा संयुक्त हस्ताक्षरित प्रमुख जिल्ला अधिकारी समक्ष दर्ता गराईएको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले मङ्गलवारै उक्त निवेदनमाथि तत्काल सुनुवाई गर्दै विष्णुपुर गाउँपालिका वडा नम्वर १ स्थित जनता माध्यमिक विद्यालय खुरहुरियाको व्यवस्थापन समिति सदस्य रामनारायण यादव समेतबाट आवश्यक कार्वाही गरी पाउँ भनी निवेदन आएको भन्दै सो विषयमा शिक्षा समन्वय ईकाइ राजविरालाई पत्राचार गरेको छ । निवेदनमा उल्लेखित विषयवस्तुमा के कसो भएको हो ? छानबिन एवम् निवेदकहरुसँग आवश्यकता अनुसार छलफल समेत गरी गराई समस्या समाधान गरी सो विषयमा जानकारी गराउन पत्रमा उल्लेख छ ।
विद्यालयमा तालाबन्दी
विद्यालय व्यवस्थापन समितिका सदस्य संजिव कुमार यादव र रामनारायण यादवले आइतवार तालाबन्दी गरेका छन् । उनीहरुले संयुक्त रुपमा प्रधानाध्यापकको कार्यकक्ष, लेखा शाखा र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
व्यवस्थापन समितिको पटक–पटकको निर्णयलाई विद्यालय प्रशासनले वेवास्ता गरेको, सामाजिक लेखा समितिबाट निकालिएको बेरुजु एक करोड ८१ लाख भन्दा बढीको रकमको हालसम्म फरफराक गर्न आनाकानी गरेको, प्रधानाध्यापक स्वयम् लगातार लामो समयसम्म विना जानकारी अनुपस्थित रहँदा पठन–पाठन विग्रदै गएको, बारम्बार बैठक बोलाउँदा पनि बेवास्ता गरेको, अभिभावक भेलाको आग्रहलाई पटक–पटक बेवास्ता गरेको आरोप सहित आफुहरुले तालाबन्दी गरेको विद्यालय व्यवस्थापन समिति सदस्य संजिव कुमार यादवको दावी छ । विद्यालयमा आफुहरुले तालाबन्दी गरे पनि पठन–पाठनलाई भने प्रभावित नपारेको जानकारी दिएका छन् ।
प्रधानाध्यापकलाई दुव्र्यवहार
जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्यनारायण यादवले स्थानीय केही व्यक्तिहरुले विभिन्न वहानामा आफुलाई दुव्र्यवहार गरेको दावी गरेका छन् । विद्यालयको पठन–पाठनमा समेत प्रभावित पार्ने गरी बारम्बार विद्यालय समयमा अनावश्यक रुपमा होहल्ला एवम् अपशब्द प्रयोग गर्दै धम्कीपूर्ण व्यवहार प्रयोग भईरहेको भन्दै आफुले स्थानीय प्रशासन समेत जानकारी गराएको बताए ।
तपाईमाथि आर्थिक अनियमितताको आरोप छ नि ? भनी जिज्ञासामा प्रधानाध्यापक यादवले आफुले विद्यालयको प्रत्येक आर्थिक वर्षको अडिट आफुसँग सुरक्षित रहेको तथा त्यसबाहेक पनि कहीं कतै असन्तुष्टि भए कानून बमोजिम भोग्न तयार रहेको प्रतिक्रिया दिए । हुलहुज्जत नगरी शान्तिपूर्ण रुपमा प्रस्तुत हुन तथा विद्यालयमा पठन–पाठनको वातावरण तयार गर्न आफुले सबैपक्षसँग आग्रह गर्दैआएको उनले दावी गरे ।