• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मिलाफको वार्षिकोत्सव तथा विद्यापति स्मृति दिवसमा विभिन्न कार्यक्रम

मैथिली अभियानी झालाई मिथिला गौरव सम्मान
मिलाफको वार्षिकोत्सव तथा विद्यापति स्मृति दिवसमा विभिन्न कार्यक्रम

राजविराज, ३० कार्तिक । मिथिला साहित्य कला प्रतिष्ठान नेपालले विद्यापति पर्व २०७६ तथा आफ्नो दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी भव्यताकासाथ मनाएको छ ।
राजविराज स्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा शनिवार विभिन्न कार्यक्रम आयोजना गरिएको हो । पहिलो शत्रमा मैथिली वक्तृत्वकला प्रतियोगिता र मैथिली कविता प्रतियोगिता आयोजना गरियो । वक्तृत्वकला प्रतियोगितामा पाराडाइज कलेजकी लक्ष्मी साह प्रथम, ह्याप्पील्याण्ड कलेजका शितल सुमन द्वितीय र पाराडाइज कलेजका रामसुन्दर मण्डल तृतीय तथा ह्याप्पील्याण्ड कलेजका सरोज कुमार रजकले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
यसैगरी कविता प्रतियोगितामा सेवी यादव प्रथम, उर्जा साह द्वितीय, साक्षी मिश्र तृतीय र आभास मण्डलले सान्त्वना स्थान प्राप्त गरेका छन् । उक्त शत्र प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डलको अध्यक्षता तथा प्रदेश सभा सदस्य मनिष कुमार सुमनको प्रमुख आतिथ्यमा आयोजना गरियो । कार्यक्रम सञ्चालन प्रतिष्ठानका शम्भुश्री र गजेन्द्र गजुरले गरे ।
मैथिली साहित्यिक गोष्ठी एवम् साङ्गितिक कार्यक्रम श्रृंखला (२४) समेत आयोजना गरियो । प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डलको अध्यक्षता तथा पूर्व सिंचाई मन्त्री एवम् नेकपा नेता उमेश कुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पं. महेश्वर झा, मैथिली साहित्य परिषद्का अध्यक्ष सतिश कुमार दत्त, पूर्व अध्यक्षत्रय देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, शुभचन्द्र झा, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, नेपाल पत्रकार महासंघ र मैथिली साहित्य परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार हेमशंकर सिंह, साहित्यकारहरु पूनम ठाकुर, किरण झा, आभासेतु सिंह, ललिता झा, अध्यक्ष शान्ति झा, सचिव पिंकी झा, रमिला साह, प्रतिमा देव लगायतले साहित्यिक रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गरे । सोही कार्यक्रममा चर्चित गायक सुभाष बिरपुरिया, गायक कैलाश झा, तेजु मैथिल, किरण झा, सुषमा झा, प्रमेश्वर ठाकुर लगायतले गीत प्रस्तुत गरे ।
यसैगरी समारोहको अन्तिम शत्रमा पराती गायन कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा कुशमी देवी यादव, सावित्री देवी राम, विनोद राम लगायतले पराती गीत प्रस्तुत गरे ।
झालाई मिथिला गौरव सम्मान
मिथिला साहित्य कला प्रतिष्ठान नेपालका उपाध्यक्ष गजलकार शम्भुश्रीले आफ्ना माता पिताको नाममा स्थापित सुखी–फूलो मिथिला गौरव सम्मान–२०७६ समेत प्रदान गरिएको छ । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष एवम् भाषिक एवम् सांस्कृतिक अभियानी सञ्चारकर्मी शुभचन्द्र झालाई नगद २ हजार एक सय, सम्मानपत्र सहित सम्मानित गरिएको छ । अभियानी झाले प्राप्त गरेको उक्त नगद राशीमा चार सय थप गरेर कोष स्थापनाकालागि नगद दुई हजार पाँच सय हस्तान्तरण गरिएको प्रतिष्ठानका सचिव विद्यानन्द वेदर्दीले जानकारी दिएका छन् । सम्मानित व्यक्तित्व नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष समेत रहेका उनी करिब दुई दशकदेखि मैथिली साहित्य, संस्कृति संरक्षण एवम् कला क्षेत्रमा सक्रिय रहँदैआएका छन् ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र मिश्रद्वारा महाकवि विद्यापतिको जीवनी वाचन गरिएको थियो । उक्त अवसरमा मिलाफ नेपालको आधिकारीक ब्लगस्पोटको शुभारम्भ गरियो । यसैगरी जिलास्तरीय साँस्कृतिक नृत्य प्रतियोगिता २०७६ को बेस्ट डान्सरको उपाधी प्राप्त सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका– १ निवासी रूबी रानी यादव, नेपाल लोक स्टार प्रतियोगी जनकपुर, धनुषा निवासी सुशील ठाकुरलाई समेत सम्मान गरिएको छ । सोही कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समेत रहेका मैथिली अभियानी सञ्चारकर्मी श्यामसुन्दर यादवलाई समेत देवघर यात्रामा सहयोग गरेको भन्दै सम्मान गरिएको छ ।