• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एक सय तीन वर्षिय वृद्धको गर्जनः ‘एक ईन्च पनि नेपाली भूमी मिच्न दिन्नौं’

एक सय तीन वर्षिय वृद्धको गर्जनः ‘एक ईन्च पनि नेपाली भूमी मिच्न दिन्नौं’

राजविराज, २७ कार्तिक । देशैभरी सीमा विवादको विषयले चर्चा पाईरहँदा सप्तरीको छिन्नमस्ता–४ लालापट्टीका एक सय तीन वर्षिय टुनटुन यादवलाई यतिबेला पुरानो याद ताजा भएको छ ।
भारतीय पक्षद्वारा नेपाली भूमी अतिक्रमण गर्दैआएको तथा त्यस विरुद्ध भएको संघर्षपूर्ण क्षणहरु यतिबेला उनको स्मरणमा फेरी ब्युँझिएको हो । ‘त्यतिबेला म सानै थिएँ, भारतीय पक्षले दिनमा जबरजस्ती नेपाली भूमीमा सीमा स्तम्भ गाडेर जान्थे, रातभरि लालापट्टीबासी ती स्तम्भहरुलाई उखेलेर पुरानै ठाउँमा गाडिदिन्थ्यो’ उनले भने ‘यो क्रम त महिनौंसम्म चल्यो, पछि सम्झौता भएर सीमा स्तम्भ गाडियो ।’ अहिले पनि बीच–बीचमा पुराना स्तम्भहरुलाई भारतीय पक्षबाट सार्ने काम भईरहेको उनको आरोप छ ।
करिब पच्चीस वर्ष अघि दशगजा क्षेत्रमा भारतीय पक्षले गोली चलाएको क्षणले उनलाई पुनः झस्काएको छ । उनका अनुसार कमलपुर र लालापट्टीका वासिन्दा बीच भैंसी चराउने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
लालापट्टीका भोली यादवले पुख्र्यौली रुपमा पाएको तीन विघा जग्गामा खेती गर्दैैआएका थिए । पछि दवाव दिएर उक्त जग्गा भारतीय पक्षले खाली गर्न लगाएको उनले बताए । त्यहीं खाली जग्गामा लालापट्टीवासी भैंसी चराईरहँदा कमलपुरवासीले सम्पूर्ण भैंसीहरु नियन्त्रणमा लिएर जबरजस्ती लैजाने क्रममा विवाद उत्पन्न भएको थियो । उनका अनुसार लालापट्टीका भैंसी चराउने तथा सर्वसाधारणसँग लट्ठी बाहेक केही नरहेको अवस्थामा भारतीय पक्षले गोली चलाउँदा ४१ वर्षिय किसुनदेव यादवको घटनास्थलमै मृत्यु भएको थियो भने स्थानीय धनपैत यादव घाइते भएका थिए । सोही मुद्दामा कार्वाही हुँदा गोली हान्ने भारत विहारको कैला यादव जेलमा कैद भुक्तान गरिरहेको जनाईएको छ ।
यसरी पटक–पटक नेपाली भूमी मिच्नुका साथै नो म्यान्स ल्याण्डमा भारतीयहरुले जग्गामा खेती गरिरहँदा पनि त्यहाँको प्रशासनले तदारुकता नदेखाएको गुनासो गर्दै ज्येष्ठ नागरिक यादवले भने ‘हामी नेपाली हौं, हामीलाई नेपालको माया छ, त्यसैले अंग्रेजले लालापट्टीवासीलाई ईण्डियामा बस्ने कि नेपालमा ? भनी सोध्दा हामीले नेपालमै बस्ने अडानमा रहीरह्यौं, एक ईन्च पनि नेपाली भूमी मिच्न दिन्नौं ।’

वर्तमानको नो म्यान्स ल्याण्ड जग्गामा समेत कमलपुर लगायत गाउँका वासिन्दाहरुले खेतीवारी गरिरहँदा पनि त्यहाँका प्रशासनले वास्ता नगरेको उनको आरोप छ । लालापट्टी क्षेत्रदेखि तिलाठी कोइलाडी गाउँपालिकासम्म भारतीय पक्षले ठाउँठाउँमा १० देखि ३० मिटरसम्म जग्गा मिचेको वयोवृद्ध यादवको दावी छ ।
सीमामा हुँदैआएको अतिक्रमण विरुद्ध आवाज उठाउँदैआएका अर्का व्यक्ति हुन् लालापट्टी–४ कै ६५ वर्षिय उचित यादव । दशकौंदेखि सीमा विवाद रहँदैआएको सम्झिदै उनले भने ‘खासगरी खेती लगाउने, बाली भित्र्याउने बेला तथा गाईभैंसी चराउने क्रममा विवाद हुने गर्छन्, वर्षौंदेखिको सीमा विवाद समाधान गर्न सरकार गम्भीर बन्नुपर्दछ ।’ त्रियुगा नदी पारी भारत तथा वारी नेपालको सीमा मानिए पनि नदीले वहाव परिवर्तन गर्ने गरेकोले सीमा स्तम्भ बगाउने, हराउने तथा भारतीय पक्षले साना पिल्लरहरु नेपालतर्फ गाड्ने गरेको उनले जानकारी दिए ।
सीमा मिचेको विषयमा छिन्नमस्ता गाउँपालिका–४ का वडा अध्यक्ष रामनन्दन पण्डितको चिन्ता पनि कम छैन । लालापट्टीका वासिन्दाले भारतीय पक्षद्वारा सीमा मिच्दा लडाई लडेको तथा अहिले पनि विना वर्दीको प्रहरी भएर पहरा दिईरहेको उनले गर्वकासाथ सुनाए । यद्यपी भारतीय पक्षद्वारा सीमा मिच्ने तथा उनीहरुको हेपाहा प्रवृतिलाई अन्त्य गर्न दुवै देशका उच्चस्तरीय टोलीद्वारा स्थलगत अध्ययन अवलोकन गरी अतिक्रमणबारे गम्भीर बन्न सरकारसँग उनको आग्रह छ ।
सप्तरीमा ठूला, मझौला र साना गरी ६ सय ५० मध्ये चार सय ४८ वटा सीमा स्तम्भ हराएको छ । कोसी नदीमा रहेको २१२ नम्बरको स्तम्भ नदेखिएको र पश्चिम बलान खोलामा रहेको २४५÷१ र २४५÷२ नम्बरको स्तम्भ नरहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको तथ्याङ्क छ । यसैगरी पातो र रामनगर कोदरकट्टी स्थित दुई वटा स्तम्भ समेत गायब रहेको जानकारी दिईएको छ ।