• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अति विपन्नको घर निर्माणमा अमेरिकी श्रमिक

राजविराज, २६ कात्तिक । अति विपन्न र दलित समूदायको घर निर्माण गर्न विदेशी श्रमिकहरु मङ्गलवार सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका आएका छन् ।
सोही गाउँपालिका–४ स्थित भेडियामा अति विपन्न र दलित परिवारकालागि निर्माण हुन लागेको घरमा सघाउन अमेरिकाबाट १६ जना श्रमिकहरु आएका हुन् । गाउँपालिका, ह्याविट्याट फर हुम्यानिटि नेपाल र महुली सामुदायिक विकास केन्द्रको संयुक्त लगानीमा ५० परिवारकालागि घर निर्माण गर्न लागिएको हो ।
केन्द्रका निर्देशक प्रभु नारायण चौधरीले घरमा निर्माणमा श्रमिकहरुले सघाउनकालागि आएको बताए । एक सातासम्म बसेर घर निर्माणमा सघाउन विदेशी श्रमिकहरु सप्तरी आएका हुन्, उनले भने ।
गरिब र अति विपन्न समूदायको घर निर्माण गर्न उत्सुकताका साथ विदेशी नागरिक आएपछि स्थानीयवासिन्दा र स्थानीय सरकारले उनीहरुलाई स्वागत गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण चौधरी लगायतले उनीहरुलाई स्वागत गरेका हुन् ।
सो घर निर्माणकालागि गाउँपालिकाको ७५ लाख रुपैयाँ, ह्याविट्याटको ५० लाख रुपैयाँ र केन्द्रको १५ लाख रुपैयाँ लगानी रहने जनाएको छ । अति विपन्नकालागि निर्माण गर्न लागिएको सो घर आगामी वैशाख मसान्तभित्र हस्तान्तरण गरिसक्ने गाउँपालिकाले जनाएको छ ।