Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

ओझेलमा ऐतिहासिक मानराजा गढी

मासिदै पुरातात्विक महत्वका भौतिक संरचना
‘गढीलाई पर्यटकीय स्थल बनाउनका लागि डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार पारेर प्रक्रिया अघि बढाइसकेका छौं’ मेयर आतेश कुमार सिंह यादवले भने–‘थोरै बजेटले धान्ने अवस्था छैन्, त्यसैले प्रदेश र संघ सरकारसँग समन्वय गर्ने कार्य हुँदैछ ।’
ओझेलमा ऐतिहासिक मानराजा गढी

विद्यानन्द राम
राजविराज, २५ कात्तिक । सप्तरीको आर्थिक समृद्धिका लागि ठुलो सम्भावना बोकेको अति नै पुरानो ऐतिहासिक मानराजा गढीको संरक्षण, संवद्र्धन र प्रचारप्रसारको अभावमा ओझेलमा पर्दैगएको छ ।
एघारौं शताब्दीतिर मुस्लमानी आक्रमणबाट छिन्नभिन्न हुन पुगेका गढीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनेतर्फ सरकारी पहल हुन नसक्दा ओझेल हुँदै गएको हो । सदरमुकाम राजविराजदेखि रुपनी–विसनपुर हुँदै झण्डै ३० किलोमिटरको दुरीमा रहेको छ मानराजा गढी ।
बोदे बरसाइन नगरपालिका–७ मा पर्ने उक्त गढी झण्डै १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जमिनदेखि झण्डै १० फिटको उचाइमा रहेको गढीमा अति नै पुरानो तथा सामान्यभन्दा ठूला इ“टहरूका साथै माटाका भा“डावर्तनका टुक्राटुक्री समेत भेट्टिने गरेका छन् । ‘ऐतिहासिकतासँगै जोडिएको गढीदेखि १० मिटर उत्तरतर्फ दुई विगहा क्षेत्रफलमा पोखरी, पोखरीकै पश्चिमी किनारमा प्राचीन इनार पनि छ’ स्थानीय तेजनारायण यादवले भने–‘तितौरा (तेतैर) को रूखमुनि रहेको मन्दिर पनि गढीकै इतिहासिकतासँगै जोडिएको छ ।’


मन्दिरको दुवैतर्फ आयतकार पत्थरहरूको पा“च फिटको पर्खाल जस्तै ठड्याइएको छ भने तितौरा रूखको जरामा कालो पत्थरको टुटफुट भएका मूर्तिहरू स्थापित छन्, तर यी मन्दिरको जिर्णोद्धारतर्फ कसैको ध्यान नपुगेको उनले गुनासो गरे । ‘जन्मिएदेखि यो संरचनाहरु हेर्दै आएको छु’ उनले भने–‘अहिले ५५ वर्ष पनि पार गरिसके, तर यसको स्तरोन्नती गर्नेतर्फ अझैसम्म कसैले ठोस पहल गरेको पाइँनन् ।’
उनले स्थानीय सरकार आएपछि केही ध्यान दिएपनि प्रदेश र संघ सरकारले ध्यान नदिँदा ऐतिहासिक ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसकिएको बताए । उनले गढीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिए सप्तरीकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे । ‘गढीको अति नै पुरानो इतिहास छ, त्यसैले आन्तरिक र बाह्य पर्यटककालागि आकर्षणको केन्द्र विन्दु बन्नसक्छ’ उनले थपे–‘पर्यटकलाई भित्र्याउन सकिए नगरको मात्रै नभई सप्तरीको आर्थिक समृद्धिमा टेवा पुग्ने कुरामा दुईमत छैन् ।’


स्थानीय पप्पुकुमार यादवले लामो इतिहास बोकेको मानराजा गढीलाई संरक्षणका निम्ति स्थानीय, प्रदेश र संघ सरकारले पहल गर्नुपर्ने माग गरे । स्थानीय सरकारले प्रदेश र संघ सरकारसँग आग्रह गरेपनि यसको ऐतिहासिकता जोगाउनु आवश्यक छ, उनले भने ।
बोदेवर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले मानराजा गढीलाई पर्यटकीय स्थल घोषणा गरेर संरचनाहरुको संरक्षण संवद्र्धनको प्रक्रिया अघि बढाईसकिएको बताए । ‘गढीलाई पर्यटकीय स्थल बनाउनका लागि डिपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) तयार पारेर प्रक्रिया अघि बढाइसकेका छौं’ उनले भने–‘थोरै बजेटले धान्ने अवस्था छैन्, त्यसैले प्रदेश र संघ सरकारसँग समन्वय गर्ने कार्य हुँदैछ ।’
के हो मानराजा गढी?
सप्तरी–सिरहामा सलहेश लोकगाथा अत्यन्तै प्रसिद्ध रहेको छ । उक्त गाथामा तरेगना गढको चर्चा गरिएको छ । सलहेश लोकगाथामा हिरा, रेशमा, दौना र कुशमा नामक मालिनको वर्णन गरिएको छ । लेखक श्यामसुन्दर यादवद्वारा वाणी मैथिली पत्रिकामा लेखिएको ‘सप्तरीक ऐतिहासिक मानराजागढीक परिचय’ उल्लेख गरिएअनुसार तरेगना प्रगन्नाका राजा महेश्वर भण्डारी थिए । राजा सलहेश घोडामा चढेर आफ्नी प्रेमिका (महेश्वर भण्डारीकी छोरी)सँग भेट्न तरेगना गढ आउ“थे । एघारौं शताब्दीको अन्त्यतिर मुसलमानी आक्रमणका क्रममा त्यहाँको संरचना र मूर्तिहरु आक्रमणकारीहरुले तोडफोड गरेको हुनसक्ने उक्त लेखमा उल्लेख छ ।
पछि विसं.०४५ सालमा आएर पुरातत्व विभागका टोलीले मन्दिरको भित्री भागमा पौराणिक आयतकार इ“टाहरू प्रयोग गरिएकोले अर्को पनि मन्दिरको भग्नावशेष हुन सक्ने प्रतिवेदन समेत सार्वजनिक गरे । गढी स्थलमा अहिले पनि आगोमा पकाइएको माटाको दीप, इ“टा, घैटो, आदि भाडावर्तनका टुक्राटुक्री भेटिन्छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।