• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रविधि

इन्जिनियरिङ्ग कलेजकालागि ६ करोड रुपैयाँ विनियोजन

अब सप्तरीमै इन्जिनियरिङ्गको पढाई शुरु हुन्छः उप–प्रधानमन्त्री यादव
इन्जिनियरिङ्ग कलेजकालागि ६ करोड रुपैयाँ विनियोजन

राजविराज, २५ कार्तिक । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ईन्जिनियरिङ्ग पठन–पाठनकालागि भवन निर्माण हुने भएको छ ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत संसदीय क्षेत्र नम्वर २ का सांसद समेत रहेका उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले भौतिक संरचना निर्माणमा सम्पूर्ण रकम खर्चिने निर्णय गरेको हो । क्षेत्र नम्वर २ अन्तर्गतको कुल ६ करोड रुपैयाँ यसै आर्थिक वर्षमा खर्चिने सर्वसम्मत निर्णय भएको जिल्ला समन्वय समितिका नायव सुब्बा गङ्गा प्रसाद साहले जानकारी दिएका छन् ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको रकमबाट योजना छनौट गर्न बसेको बैठकमा उप–प्रधानमन्त्री समेत रहेका सांसद यादवले साना–तीना योजनाहरुमा रकम विनियोजन गरिए रकम दुरुपयोग हुने सम्भावना समेत रहेको एकमुष्ठ रकम ठोस कार्यमा खर्चिने निर्णय भएको उनले बताए । बैठक पश्चात ‘न्यूज टुडे’सँग संक्षिप्त कुराकानी गर्दै उप–प्रधानमन्त्री यादवले सप्तरी जिल्ला हरेक दृष्टिकोणले पछाडि रहेकोले यहाँ धेरै कामहरु गर्नुपर्ने आवश्यकता छ ।’
सप्तरीका विद्यार्थीहरु ईन्जिनियरिङ्ग पढ्न काठमाण्डौ, धरान, विराटनगर, पोखरा तथा भारतको विभिन्न सहरहरु धाउनुपर्ने बाध्यता रहेको हुँदा राजविराजमै ईन्जिनियरिङ्गको पढाई शुरुवात गर्न आफु प्रयासरत रहेको उनले जानकारी दिए । ‘सप्तरीका गरिब एवम् विपन्न छात्रछात्राहरुले घरमै रहेर ईन्जिनियरिङ्ग पढ्ने अवसर प्राप्त गर्नेछन्’ उप–प्रधानमन्त्री यादवल भने ‘त्रिभुवन विश्व विद्यालयबाट सम्वन्धन लिएर भौतिक संरचना निर्माण भईसकेपछि अध्यन–अध्यापन शुरु हुनेछ ।’
हालको संरचनामा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस संसदीय क्षेत्र नम्वर ३ मा पर्न गएकोले उक्त क्षेत्रका सांसद चन्द्रकान्त चौधरी समेतको पहलमा रकम थपेर ईन्जिनियरिङ्ग कलेजको भवन निर्माण कार्य अगाडि बढ्ने उनले जानकारी दिए । ‘माननीय सांसद चन्द्रकान्त चौधरीजीसँग समेत कुरा भएको छ, वहाँबाट समेत सहयोग हुनेछ’ उनले भने ‘क्षेत्र नम्वर २ अन्तर्गतका सांसदहरु माननीय जितेन्द्रनारायण देव, माननीय सांसद दुलारी देवी माननीय प्रमिला देवी यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवलगायत स्थानीय सरकारका प्रमुखहरुको भूमिका एकदमै सकारात्मक एवम् प्रशंसनीय छ ।’
बैठकले स्नातक तहको विभिन्न विषयमा इन्जिनियरिङ्ग अध्ययनकालागि भवन निर्माण कार्य यसै आर्थिक वर्षमा प्रारम्भ गरी अन्य प्रक्रियाहरु समेत अगाडि बढाईने निर्णय भएको जिल्ला समन्वय समितिका नायव सुब्बा गङ्गाराम साहले जानकारी दिए । उक्त बैठकमा समन्वय समितिका उप–प्रमुख थानेश्वर यादव, स्थानीय सरकारका प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।
समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उप–प्रधानमन्त्री यादवले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको सम्पूर्ण रकम चार करोड रुपैयाँ गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा नर्सिङ्ग कलेज सञ्चालनकालागि विनियोजन गरेका थिए । उक्त रकमबाट कलेजको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । क्षेत्र नम्वर–२ बाट प्रतिनिधित्व गर्दैआएका सांसद तथा स्थानीय सरकार प्रमुखहरु समेतले सर्वसम्मत निर्णय गरेका थिए ।