• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

सप्तरीका तीन मैथिलीसेवी पुरस्कृत, महिला साहित्य लेखनमा तीन पुरस्कार घोषणा

सप्तरीका तीन मैथिलीसेवी पुरस्कृत, महिला साहित्य लेखनमा तीन पुरस्कार घोषणा

राजविराज, २४ कार्तिक । महाकवि विद्यापति स्मृति दिवसको अवसर पारेर मैथिली साहित्य परिषद्ले आयोजना गरेको एक कार्यक्रमका बीच सप्तरीका तीन जना मैथिलीसेवी पुरस्कृत भएका छन् ।
मैथिली भवनमा आइतवार आयोजित कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष समेत रहेका लेखक एवम् अनुसन्धानकर्ता देवेन्द्र मिश्र, सञ्चारकर्मी एवम् मैथिली अभियानी महेन्द्र प्रसाद मण्डल बनवारी र प्रसिद्ध गायक सुधानन्द झा पुरस्कृत भएका हुन् । जनही नगद पाँच हजार पाँच सय पाँच, पाग, दोसल्ला एवम् सम्मानपत्रकासाथ मिश्र र मण्डललाई शिवदत्त मिश्र स्मृति मैथिली पुरस्कारबाट सम्मानित गरिएको हो ।
यसैगरी सु–प्रसिद्ध पाश्र्व गायक उदितनारायण झाका प्रारम्भिक गुरु समेत रहेका वरिष्ठ गायक झालाई विजयेन्द्र विनोद कला संस्कृति पुरस्कारबाट नगद एक हजार पाँच सय पाँच, पाग, दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको छ । पुरस्कृत मिश्रको ‘बगिया गाछ’, श्रीमद्भागवत गीताको मैथिली पद्यानुवाद लगायतका कृतिका साथै मिथिला साप्ताहिक, वाणी सहितका पत्रिकाको सम्पादन गर्दैआएका छन् । मैथिली भाषा साहित्यको संरक्षण सम्वद्र्धनका साथै यूवाहरुको प्रेरणापात्रको रुपमा चिनिन्छन् ।
यस्तै अर्का पुरस्कृत व्यक्तित्व मण्डल विगत डेढ दशकदेखि मैथिली भाषा, कला, संस्कृतिको संरक्षण सम्वर्दनमा सक्रिय रहँदैआएका छन् । उनका ‘कहु बनबारीजी’ लगायतका कृति प्रकाशित छन् । यस अतिरिक्त रेडियो तथा छापा माध्यममा सक्रिय रहँदै देशमै पाग लगाएर नागरिकता लिने उनी पहिलो व्यक्ति हुन् ।
सु–प्रसिद्ध गायक सुधानन्द झा करिब ६ दशकदेखि गायन, गीत लेखन एवम् सङ्गीत साधनामा सक्रिय रहँदैआएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य विदेश्वर यादव ‘विक्की’ले पुरस्कार प्रदान गरेका छन् । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादव तथा सञ्चालन सचिव अजय कुमार झाले गरे ।
तीन पुरस्कार घोषणा
मैथिली साहित्य परिषद्द्वारा आइतवार आयोजित कार्यक्रमका बीच तीन जनाले तीन ओटा पुस्कार घोषणा गरेका छन् । सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–१ पडरिया निवासी मैथिली साहित्य परिषद्का पूर्व सचिव प्राचार्य नथुनी दासले महिला सशक्तिकरण मैथिली पुरस्कार घोषणा गरेका छन् । उक्त पुरस्कारको राशी पाँच हजार एक सय एघार रुपैयाँ रहने पुरस्कारका संस्थापक दासले कार्यक्रममा घोषणा गरेका छन् ।
यसैगरी पडरिया निवासी राजनीतिकर्मी अमकान्त झाले समेत २५ हजार रुपैयाँको महिला साहित्य लेखन पुरस्कार घोषणा गरेका छन् । उक्त पुरस्कार आगामी वर्षदेखि प्रदान गरिने उनले बताए ।
यस्तै स्थानीय निवासी मैथिलीकर्मी प्रतिमा देवले आफ्नी फुपु शोभा देवको नाममा मैथिली साहित्य पुरस्कारको घोषणा गरेका छन् । उक्त पुरस्कारको राशी पाँच हजार एक रुपैयाँ रहने उनले कार्यक्रममा घोषणा गरेकी छिन् ।