Top_Header_Right_Add

परिषदद्वारा मनाईयो विद्यापति स्मृति पर्व

विद्यापतिको प्रवासस्थलबारे अनुसन्धान हुनुपर्छः सांसद यादव
परिषदद्वारा मनाईयो विद्यापति स्मृति पर्व

राजविराज, २४ कार्तिक । सप्तरी क्षेत्र नम्वर ३ (ख) का प्रदेश सभा सदस्य विदेश्वर यादव ‘विक्की’ले महाकवि विद्यापतिले १२ वर्षसम्म निर्वासित जिवन बिताएको बनौलीको विषय अविलम्व अध्ययन अनुसन्धान हुनुपर्ने बताएका छन् ।
मैथिली साहित्य परिषद् राजविराजद्वारा आइतवार मैथिली भवनमा आयोजित महाकवि विद्यापति स्मृति दिवसका अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले पनि बनौलीको विषयमा आ–आफ्नै ढङ्गले दावी प्रस्तुत भईरहेको बताउँदै उनले भने ‘विद्यापतिजीले पुरादित्य राजाको दरबार लेखेको लिखनावली ग्रन्थमा समेत ‘सप्तरी जनपदे, बनौली ग्रामे’ उल्लेख छ, त्यसैले विद्यापतिजीको प्रवासस्थली सप्तरीकै बनौली हो भनी पुष्टि गरेको छ ।’
आ–आफ्नै ढङ्गले व्वाख्या तथा विष्लेशन भईरहेकोले यस विषयमा प्रदेश सभामा आवाज उठाएर अनुसन्धानकालागि पहल गर्ने प्रमुख अतिथि यादवले प्रतिवद्धता व्यक्त गरे । देशकै पुरानो मैथिली संस्थाहरुमा अग्रणी रहेको मैथिली साहित्य परिषद् राजविराजको थप सबलीकरण गर्न सहयोग गर्ने समेत उनले वचनवद्धता प्रकट गरे ।
पूर्व सांसद रञ्जु ठाकुरले विश्वकै समृद्ध भाषाहरुमध्येको मैथिली भाषाको समुचित संरक्षण सम्वद्र्धनको अभावमा अपेक्षाकृत विकास हुन नसकेको बताईन् । मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष प्रा. अमरकान्त झाले नेपालको दोस्रो ठूलो भाषा मैथिली भए पनि प्रदेश २ को प्रमुख भाषा मैथिलीलाई सम्पर्क भाषा बनाउनुपर्नेमा जोड दिए । मैथिल महासंघ नेपालका सल्लाहकार डा. अखिलेश कुमार झाले संघीय शासन व्यवस्थामा मैथिलीको भविष्यमाथि प्रहार भईरहेकोले सम्पूर्ण मैथिलीभाषीहरु एकतावद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
परिषद्का अध्यक्ष सतिश कुमार दत्तको अध्यक्षतामा आयोजित कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, परिषद्का पूर्व अध्यक्ष प्रा. अशोक कुमार झा, मैथिल महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, प्रा. डा. रामखेलावन यादव, पूर्व प्राचार्य नथुनी दास, परिषद्का सल्लाहकार मन्जु श्रेष्ठ, मैथिल महिला परिषद्की अध्यक्ष शान्ति झा, ‘सखी बहिनपा’की अध्यक्ष आरती झा, राजनीतिकर्मी विरेन्द्र साह, शिव इन्टरनेशन बोर्डिङ्ग सकेण्ड्री स्कूलका संस्थापक प्रिन्सिपल नरेश प्रताप साह, मिथिला साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्रीराम कुमार मण्डल ‘भरोसी’ परिषद्का पूर्व सह–सचिव रामअधिन साह लगायतले महाकवि विद्यापतिको व्यक्तित्व एवम् कृतित्वबारे चर्चा गरे ।
सोही कार्यक्रममा प्रमुख अतिथि यादव र परिषद्का पूर्व अध्यक्ष शुभचन्द्र झालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । यस्तै हाजिरी जवाफ प्रतियोगितामा विजेता घोषित भएका शिव ईन्टरनेशनल बोर्डिङ्ग सेकेण्ड्री स्कूल प्रथम, ग्लोबल सेकेण्ड्री स्कूल द्वितीय, ईस्टर्न ज्योती भारदह तृतीय र लिटिल एन्जल्स सेकेण्ड्री स्कूल सान्त्वना स्थान प्राप्त गरेकोमा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष श्यामसुन्दर यादव तथा सञ्चालन सचिव अजय कुमार झाले गरे ।
यस अघि परिषद्द्वारा पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयबाट निकालिएको झाँकी राजविराज नगरपालिकाको विभिन्न भाग परिक्रमा गरेका थियो । शिव ईन्टरनेशनल सेकेण्ड्री स्कूलका छात्रछात्राहरुद्वारा झाँकी समेत प्रस्तुत गरिएको थियो ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer