• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

स्वर्णपट्टी नाकामा सुरक्षाकर्मी नै रहदैनन्

प्रजिअ भन्छन्–‘बोर्डरमा सुरक्षाकर्मी त हुनुपर्ने हो, तैपनि के रै’छ बुझेर आवश्यक पहल गर्छु’
स्वर्णपट्टी नाकामा सुरक्षाकर्मी नै रहदैनन्

राजविराज, २२ कार्त्तिक । सप्तरीमा लागुऔषधको कारोवार बढेको गुनासो भईरहदा बोदे बरसाईन नगरपालिका–९ स्थित स्वर्णपट्टी नाका सुरक्षाकर्मी विहीन रहने गरेको पाइएको छ ।
भारतसँग सिमाना जोडिएको खुल्ला नाकामा सुरक्षाकर्मी नै नरहने गरेको स्थानीयहरु बताउँछन् । ‘यहाँ यस्तै हो, सुरक्षाकर्मीलाई मन लाग्यो भने आउने, मन लागेन भने नआउने’ स्थानीय घुरन यादवले भने–‘दशगज्जा जस्तो क्षेत्रमा सुरक्षाकर्मीले देखाउनुपर्ने तदारुकता देखिएकै छैन् ।’
सिमानाकामा गम्भिरतापूर्वक सुरक्षा जाँच गरेर मात्रै वारपार गर्न दिनुपर्नेमा सुरक्षाकर्मी नै तैनाथ नरहनु ज्यादै दुःखद विषय रहेको उनले बताए । ‘गाउँघरमा लागुऔषध प्रयोग गर्ने युवाहरुको संख्या बढ्दो छ, त्यसलाई न्यून गर्न सिमानाकामा सुरक्षा जाँच कडाई गर्नुको विकल्प छैन्’ उनले भने–‘तर, यसतर्फ प्रहरी–प्रशासनको ध्यान पुगेको छैन् ।’
भारतीय बजारबाट लागुऔषध ल्याउन विहान ३ बजेदेखि नै ओहरदोहर सुरु हुने गरेको नाम नछाप्ने सर्तमा एक स्थानीयले बताए । ‘सुनसान नाकाको फाइदा उठाउँदै युवाहरु विहानैदेखि लागुऔषध ओहरदोहन गर्न सक्रिय हुन्छन्’ उनले भने–‘युवाहरुको सक्रियता साँझसम्म पनि रोकिदैन्, यो विषयबारे प्रहरीलाई धेरै पटक जानकारी गराएपनि मतलव राख्दैनन् ।’
प्रहरीको मौनता त छ नै, त्यसमाथि समाजका व्यक्तिहरु पनि यसतर्फ ध्यान नदिदाँ अबको पिंढी नै वर्वाद हुने चिन्ता थपिएको उनले बताए । ‘युवाहरुलाई सचेत गराउनेतर्फ समाजमा पनि कसैलाई मतलव देख्दिन्, आफु पनि यस विषयमा कसैसँग कुरा गर्न मन पराउँदिन्थे’ उनले भने–‘तर आफ्नै १५ वर्षीय छोरा लागुऔषधको कुलतमा लागेको हेरेर पिरोलेको छ ।’
उनले आफ्नै छोरा जस्तो कसैको पनि छोराछोरी लागुऔषधको कुलतमा नपरोस् मनसायले यो विषयमा कुरा गर्ने बाध्यता परेको बताए । समाजलाई यस विषयमा गम्भिर हुनु आवश्यक छ र प्रहरीले पनि आवश्यक कदम चाल्नुपर्छ, उनले भने ।
नेपाल–भारतको सिमानामा प्रहरी उपस्थित नरहनु सुरक्षाको दृष्टिकोणले पनि गम्भिर विषय रहेको सप्तरीका वुद्धिजीवीहरु ठम्याउँछन् । ‘अपराधिक घटना घटाएर भारततर्फ फरार हुनेहरुको संख्या पनि कम छैन्, ती कुरालाई मध्येनजर गरेर पनि प्रहरी प्रशासनले सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नुपर्ने हो’ नागरिक संजालका संस्थापक अध्यक्ष सुखराम यादवले भने–‘तर सिमानामा प्रहरी नै हुदैन भनेपछि अपराध कम हुन्छ की बढ्छ भन्ने विषय विचार गर्नुपर्ने कुरा हो ।’
केही हत्याका घटना एक वर्षसम्म पनि रहस्यमय रहनु र अर्कोतर्फ बोर्डरमा सुरक्षाकर्मी नै नरहनु दुवै विषयले केही स्पष्टता देखाउँछ, उनले भने । त्यस अर्थमा पनि प्रहरीलाई सक्रियता देखाउनुपर्ने उनले माग समेत गरे ।
यता, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनील खनालले यसबारे वुझेर अघि बढ्ने बताए । बोर्डरमा सुरक्षाकर्मी त हुनुपर्ने हो, तैपनि के रै’छ बुझेर आवश्यक पहल गर्छु, उनले भने ।