Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

मावि खुरहुरियाको शिक्षक छनौटमा धाँधली भएको आरोप

मावि खुरहुरियाको शिक्षक छनौटमा धाँधली भएको आरोप

राजविराज, २० कार्तिक । सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरिया स्थित जनता माध्यमिक विद्यालयको शिक्षक छनौटमा धाँधली भएको आरोप लगाइएको छ ।
राजविराज स्थित आधाभूत विद्यालय थानगाछीमा बुधबार लिईएको परीक्षामा धाँधली भएको प्रतियोगीहरुले आरोप लगाएका हुन् । विभिन्न तह एवम् विषयकालागि परीक्षा लिईएकोमा माध्यमिक शिक्षक द्वितीय (फिजिक्स)कालागि शिवशंकर यादव, सुभाष कुमार यादव, मुक्ति रजकसहित पाँच जना आवेदक रहेका थिए । उक्त परीक्षाको विषयमा आफुहरुले ढिलो जानकारी पाएकोले समयमा उपस्थित हुन नसकेको आवेदक शिवशंकर यादवले बताए । परीक्षामा एक जना मात्र सुभाष कुमार यादवलाई सहभागी गराई परीक्षा लिईएको छ । एक्लै परीक्षा लिई मिलोमतोमा उनलाई नै चयन गरी सूचना समेत टाँस गरेको उनले जानकारी दिए । उक्त विषयमा छानविन गर्न प्रतियोगी यादवले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।
यसैगरी प्राविधिक धारतर्फ सहायक प्रशिक्षक पदका प्रतियोगी अरुण कुमार मण्डलले समेत आर्थिक प्रलोभनमा परेर शिक्षक छनौट गरेको आरोप लगाएका छन् । खुरहुरिया निवासी मण्डलले दिएको लिखित परीक्षामा क्रम संख्या १ मा नाम निकालिएको थियो । मौखिक परीक्षा पश्चात निकालिएको नतिजामा क्रम संख्या दोस्रोमा रहेका शिवकुमार रायको नाम निकालिएकोप्रति गम्भीर आपत्ति जनाउँदै उनले भने ‘लिखित परीक्षामा पनि मेरो नाम १ नम्वरमा आयो, मौखिकमा ११ प्रश्न सोधिएकोमा सवै प्रश्नहरुको जवाफ दिएँ तर अन्तिम नतिजामा मेरो नाम आएन ।’ आफुले वर्षौंदेखि मेहनत गर्दा पनि योग्यताको मूल्याङ्कन नभएको आरोप लगाउँदै परीक्षामा मिलोमतोमा धाँधली भएकोले तत्काल बदर गरी स्वच्छ एवम् निष्पक्ष रुपमा परीक्षा लिन उनले सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।
सञ्चारकर्मीहरुको एक टोलीले परीक्षा स्थलमा अवलोकन गर्दा अन्य तहकालागि लिईएको परीक्षामा सहभागीहरु रहे पनि माध्यमिक शिक्षकमा एक जनालाई मात्र परीक्षा लिईरहेको पाईएको थियो । उक्त विषयमा प्रधानाध्यापक सूर्यनारायण यादवसँग जिज्ञासा राख्दा एक जना मात्रै परीक्षार्थी सहभागी भएको विषयमा आफुहरुले सोच विचार गरी निर्णय लिने बताएका थिए । परीक्षाको नतिजा सार्वजनिक गरेपछि उक्त विषयमा बुझ्न खोज्दा प्रधानाध्यापक यादव, व्यवस्थापन समितिका अध्यक्ष चित्तरञ्जन यादव, जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख समेतको स्वीच अफ रहेको पाईएको थियो । यसैगरी जिल्ला शिक्षा तथा समन्वय ईकाईबाट खटिएका विद्यालय निरीक्षक भवानी प्रसाद कँडेल समेत सम्पर्कमा आउन चाहेन ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।