Top_Header_Right_Add

के तपाईले आफ्नो व्यवसायिक विवरण onlinesaptari.com मा राख्‍नु भयो?

तपाईको व्यवसायिक विवरण राख्‍न वा सच्याउन info@onlinesaptari.com मा मेल वा 9804752133 मा सम्पर्क गर्नुहोला ।

रामराजा प्रतिष्ठानको ढिला–सुस्तीप्रति वुद्धिजिवीहरुको चासो

निर्माण एवम् सञ्चालन कार्य अविलम्ब अगाडि बढाउन आग्रह
रामराजा प्रतिष्ठानको ढिला–सुस्तीप्रति वुद्धिजिवीहरुको चासो

राजविराज, २० कार्तिक । सप्तरीको राजविराज नगरपालिका–१० स्थित बिरौलमा निर्माण हुने भनिएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयमा स्थानीय वुद्धिजिवीहरुले चासो देखाएका छन् ।
राजविराज स्थित जिल्ला समन्वय समितिको कार्यालयमा बुधवार भेला भई प्रतिष्ठानको निर्माण लगायतका प्रक्रियामा ढिलासुस्ती भईरहेको भन्दै उनीहरुले चासो व्यक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा सप्तरीमा मेडिकल कलेज खोल्ने घोषणा गरेको थियो ।
सोही अनुसार रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया अगाडि बढेको थियो । यद्यपी केही महिनायता प्रतिष्ठानकालागि प्रस्तावित जग्गामा निवेदन परेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जग्गाको फाइल थन्किएको छ । जसका कारण अर्थ मन्त्रालयले प्रतिष्ठानको कार्यालय तथा भौतिक पूर्वाधार निर्माणको रकम ४४ करोड रुपैयाँ समेत रोकिन पुगेको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय असार १८ गते उद्घाटन भई सञ्चालनमा आएको छ । समितिका सचिव एवम् कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवम् डाइबिटोलोजिष्ट प्रा. डा. सञ्जय कुमार ठाकुरलाई २५ महिनाको कार्य अवधी दिएर जेठको पहिलो साता राजविराज पठाईसकेको छ । यद्यपी बजेट तथा कर्मचारी अभावले कार्यालय व्यवस्थित हुन सकेको छैन ।
कार्यालयमा कर्मचारी तथा अन्य पदाधिकारी समेत चयन हुन नसकेको अवस्था तथा प्रतिष्ठानको अन्य क्रियाकलापहरु अवरुद्ध रहेकोप्रति चासो लिँदै वुद्धिजिवी एवम् नागरिक अगुवाहरुले वर्तमान सरकारलाई अविलम्व निर्माण लगायतका कार्यहरुलाई अगाडि बढाउन आग्रह गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जग्गाको विषयलाई लिएर परेको निवेदन वा अवरोधलाई आपसी समझदारीमा समाधान गर्न समेत सम्वन्धित पक्षसँग आग्रह गरिएको छ ।


स्थानीय सञ्चार उद्यमी एवम् समाजसेवी शिवनारायण साह ‘सुरज’को अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको विशेष उपस्थितिमा आयोजित छलफलमा सहभागी वुद्धिजिवीहरुले सप्तरीवासीको आग्रहलाई गम्भीरतापूर्वक लिई प्रतिष्ठानको काम अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, राजविराज नगरपालिका, राजनीतिक दलसहित सम्वद्ध सम्पूर्ण पक्षसँग आग्रह गरेका छन् ।
बैठकमा आमन्त्रित राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा जग्गाको विषयमा प्रक्रियागत समस्या रहेको स्वीकार गर्दै त्यसलाई समाधान गर्न आफु प्रयासरत रहेको बताए । उक्त समयस्या समाधान भई प्रतिष्ठानको प्रक्रियामा अविलम्ब अगाडि बढ्ने बताउँदै उनले भने ‘प्रतिष्ठानकोलागि नगरपालिकाले ६१ बिघा जग्गा ३० वर्षकालागि लिजमा दिएको छ, निर्माण एवम् सञ्चालन कार्य समेत चाँडै अगाडि बढ्छ ।’
उक्त छलफलमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादव, इतिहासविद् प्रा. डा. पिताम्बरलाल यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, कान्तिपुर राष्ट्रिय दैनिकका वरिष्ठ उप–सम्पादक अतुल कुमार मिश्र, उच्च मा.वि. शिक्षा परिषद्का पूर्व उपाध्यक्ष प्रा.डा. हेम कुमार मिश्रा, प्राध्यापक गजेन्द्र कुृमार सिंह, पूर्व प्राचार्य विजयानन्द झा, नापी विभागका पूर्व महानिर्देशक राम नरेश सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष व्यासशंकर उपाध्याय, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, निर्माण व्यवसायी संघका अध्यक्ष एनेश्वर दास, नागरिक समाजका कार्यवाहक अध्यक्ष थानसिंह भन्साली, शिक्षक मञ्जु श्रेष्ठ, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, पत्रकार महेश्वर भारती, विद्यानन्द राम लगायतको उपस्थिति थियो ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रक्रिया
प्रधानमन्त्री ओलीले प्रदेश नम्बर २ को प्रदेशसभालाई २०७५ भदौ १ गते सम्बोधनका क्रममा समेत राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने बताएका थिए । प्रधानमन्त्रीको घोषणासँगै उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवको पहलमा पुस १७ गतेको बैठकले प्रतिष्ठान’ स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार प्रतिष्ठानकालागि उपयुक्त जग्गा खोजी कार्य थालिएको थियो । राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले शुरुमा बिरौल, मलेठ र कोशी कोलोनीको जग्गाको प्रस्ताव सुझाएका थिए । यद्यपी सम्भाव्यता अध्ययन टोलीले राजविराज वडा नम्वर–१० बिरौल स्थितको ६१ बिगहा क्षेत्रफलको जग्गा चयन गरेको थियो ।


नेपाल सरकारले गठन गरेको ७ सदस्यीय सम्भाव्यता अध्ययन समितिले गत वैशाख ६ गते स्थलगत भ्रमण गरी उक्त विषयमा प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । शैक्षिक, प्रशासनिक, आवास, कवर्ड हल बगैँचा स्वीमिङ्ग पुल लगायतका संरचनाहरू निर्माण हुने अध्ययन समितिका संयोजक समेत रहेका चिकित्सा विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. सुबोध अधिकारीले सञ्चारकर्मीहरुलाई जानकारी दिएका थिए । उप–प्रधानमन्त्री तथा स्वास्थ्य एवम् जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले समेत स्थलगत रुपमै सम्भावित निर्माणस्थलको अवलोकन गरेका थिए । स्वास्थ्य मन्त्रालयले काठमाण्डौ स्थित वीर अस्पतालका वरिष्ठ जेनरल फिजिसियन एवम् डाइबिटोलोजिष्ट प्रा. डा. सञ्जय कुमार ठाकुरलाई २५ महिनाको कार्य अवधी दिई जेठको पहिलो साता कार्यकारी निर्देशकको जिम्मेवारी तोकेर राजविराज पठाएको थियो । गत असार १८ गते मन्त्री यादवले गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी तथा विकास समितिको कार्यालय उद्घाटन गरेका थिए । यसका साथै प्रतिष्ठान अन्तर्गत नै नर्सिङ्ग कलेज सञ्चालनकालागि सप्तरी क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य समेत रहेका उप–प्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवको विशेष पहलमा संसदीय विकास कोषतर्फको सम्पूर्ण रकम चार करोड रुपैयाँ दिने निर्णय गरिएको थियो । सोही अनुरुप सांसद यादवले नर्सिङ्ग कलेज भवनको गत मंसिर १२ गते शिलान्यास गरेका थिए । उक्त भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।