• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीको उत्तरी भेगमा जङ्गली हात्तीको आतङ्क

हात्तीले पटक पटक विध्वंश मचाउँदा रातरातभरि सुत्न पाउँदिनन्’ कमल सिंह मगरले भने–‘जाग्राम बस्दा पनि त्रास भने रहिरहन्छ ।’
सप्तरीको उत्तरी भेगमा जङ्गली हात्तीको आतङ्क

विद्यानन्द राम/वृजमान तामाङ्ग
राजविराज, १८ कार्तिक । कोशी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेका हात्तीको एक हुलले आइतवार मध्येराति सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवाका धनेश्वर चौधरीको भान्सा घर पूर्ण रुपमा भत्काइदिए । चौधरीको घरभित्र रहेको सवै अन्नपात समेत हात्तीले खाइदिएपछि उनको परिवारको विजोग भयो ।
चौधरीका अनुसार परिवारलाई खानकालागि राखिएको सवै अन्नपात हात्तीले खाएपछि सोमवार छाक टार्न पनि छिमेकीकै सहारा लिनुप¥यो । जङ्गली हात्तीले चौधरीको घरमा २५ हजार रुपैयाँ बराबरको क्षति पु¥याएको डिएसपी तिलक भारतीले जानकारी दिए । जङ्गली हात्ती मानव बस्तीमा पसेको जानकारी पाए लत्तगै पुगेको प्रहरी टोलीले स्थानीयहरुको सहयोगमा हात्तीलाई जङ्गलतर्फ लखेटे, उनले भने ।
चौधरी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । सो नगरपालिका आसपासका क्षेत्रमा जङ्गली हात्तीको आतंक उस्तै छ । दुई दिन यता अग्निसाइर कृष्णासवरण गाउँपालिकामा मात्रै हात्तीले एक दर्जनबढी घर तोडफोड गरेको छ भने १० परिवारलाई घरविहीन बनाएर छाक टार्न मुस्किल परेका छन् । स्थानीयका अनुसार गाउँपालिका–६ स्थित तिलक खतरी, कमान सिंह मगर, रोमा परियार, दुखी यादव, सत्य नारायण मण्डल, आनन्द सदा, पञ्चु सदा र मञ्जु कार्कीको घर पनि भत्काएर लाखौंको क्षति पु¥याएको छ । ‘हात्तीले पटक पटक विध्वंश मचाउँदा रातरातभरि सुत्न पाउँदिनन्’ कमल सिंह मगरले भने–‘जाग्राम बस्दा पनि त्रास भने रहिरहन्छ ।’ उनले जन्मेदेखि हात्तीको त्रासमा यहाँका जनता बाँच्दै आए पनि कसैको ध्यान नपुगेको प्रति दुःख व्यक्त गरे । ‘आफुहरुकालागि पनि सरकार छ भनेर अनुभुति गर्न पाएको छैन्’ उनले थपे–‘न भए यतिका वर्षसम्म किन समस्या ज्युँका त्यूँ छ ?’
उनले पटक पटक हुलका हुल जङ्गली हात्तीले मानव बस्तीमा पसेर विध्वंश मच्चाउँदै आएकोले जिविकोपार्जन भयपूर्ण रहेको बताए । आफुहरुको जिविकोपार्जन भयमुक्त बनाउन सवैले पहल गरिदिन उनले आग्रह समेत गरे ।
हात्ती नियन्त्रण गर्न चन्दा संकलन
सप्तकोसी, कञ्चनरूप, खड्ग, शम्भुनाथ र सुरुङ्गा नगरपालिका तथा रूपनी, तिरहुत, महादेवा र अग्निसाइर कृष्णासवरण गाउँपालिकावासीकालागि अभिश्राप नै बन्न थालेको छ, कोशी टप्पु वन्यजन्तु आरक्षको जङ्गली हात्ती ।
हात्तीको आक्रमणबाट हालसम्म १९ भन्दाबढी व्यक्तिले अनाहकमा ज्यान गुमाउनु, त्यति नै संख्यामा घाइते हुनु, घर भत्काइदिनु, घरभित्रका अन्नपात खाइदिनु, बालीनालीमा क्षति पु¥याइदिनु जस्ता घटनाले त्यस क्षेत्रमा बसोवास गर्नेकालागि हात्ती अभिश्रापका रुपमा परिणत हुन थालेको हो ।
वर्षौदेखि आफ्नै गाउँ–ठाउँमा त्रास र भयपूर्ण वातावरणमा बसोवास गर्दै आएपनि हात्ती नियन्त्रण गर्नेतर्फ भने कसैको ध्यान नगएको स्थानीयहरुले गुनासो गरेका छन् । बाध्य भएर जङ्गली हात्तीलाई नियन्त्रण गर्न चन्दा संकलन गर्ने कार्य थालिएको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ की पिडित कृष्णामाया राईले बताइन् । ‘साँझ पर्ने वित्तिकै हात्तीको उतपात सुरु हुन्छ’ उनले भनिन्–‘ज्यान जोगाउन गाउँभरि हो–हल्ला गर्दै जाग्राम बस्नु पर्ने बध्यता छ ।’ उनले ज्यान जोगाउन चन्दा संकलन गरेर भएपनि हात्ती नियन्त्रण गर्ने अठोटकासाथ सबै मिलेर अघि बढेको बताइन् ।
अर्का पीडित रघुवंश चौधरीले हात्तीले पिरोलेको असह्य भएको दुःखेसो गरे । ‘एक त ज्यानमाथि जोखिम, त्यसमाथि खेतबारीमा पसेर धान, कोदो, दाल, केरा खाएर नष्ट गर्ने गरेको छ’ उनले भने–‘त्यसैले सवै मिलेर विकल्पको खोजीतर्फ अघि बढे ।’
उनले चन्दा संकलनबाट आउने पैसाले हात्ती धपाउन आवश्यक पर्ने उपकरणको खरिद गर्ने बताए । ‘बस्ती र खेतबारी सुरक्षित गर्न तारले घेराबेरा गर्नुकासाथै ठाउँठाउँमा विजुली बत्ती जडान गर्ने योजना छ’ उनले भने–‘उक्त कार्यले केही रुपमा भएपनि बस्ती र खेतवारी सुरक्षित हुने विश्वास छ ।’
के भन्छन् स्थानीय सरकार?
‘सप्तरीको उत्तरी क्षेत्रका जनतालाई जङ्गली हात्तीले वास्तवमै धेरै दुःख दिएको छ’ रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भने–‘यसलाई अस्थायी समाधान गर्न हामीले स्थानीय प्रशासनसँग समन्वय गरेर पहल पनि गरेकै हो, तर यसलाई दिर्घकालिन समाधान गर्न स्थानीय सरकारलाई कानूनी अधिकार नै छैन् ।’
उनले जनताको समस्या समाधानका निम्ति चाहना भएर कानूनी अधिकार नरहेका कारण काम गर्न गाह्रो भएको बताए । आरक्षको जङ्गली हात्ती नियन्त्रण गर्न प्रदेश सरकार समक्ष कुरा राखेको तथा समाधानतर्फ पहल गर्ने आश्वासन पाएको अध्यक्ष यादवले जानकारी गराए ।