• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
केराको कारोबार बढ्यो

राजविराज, १५ कार्त्तिक । छठ पर्वमा अर्घ दिन आवश्यक पर्ने सामाग्रीमध्येको महत्वपूर्ण फल केराको कारोबार अत्यधिक बढेको छ ।
सप्तरी सदरमुकाम राजविराजसहित बोदे बरसाइन, भारदह, कंचनपुर, पातो, कल्याणपुर, कदमाहा लगायतका बजारहरुमा केराको कारोवार अत्यधिक बढेको हो । छठ पर्वमा अर्घ दिन केराको घरी (घौर) अनिवार्य रहेकोले हरेक परिवारलाई केराको घरी किन्ने व्यस्तता देखिएको छ । ‘पर्वमा अर्घका रूपमा केरालाई मुख्य मानिन्छ’ बोदे बरसाइन नगरपालिका–३ गौराका यदुनन्दन रामले भने–‘महँगो भए पनि किन्नैपर्ने बाध्यता छ ।’


उनले तराई क्षेत्रलाई केराका लागि उर्भर मानिएपनि केरा खेती प्राथमिकतामा नपर्दा बाहिरबाट आयात गरिएको केरा महँगो मुल्यमा किन्नुपर्ने बाध्यता रहेको बताए । ‘केरा उत्पादनको लागि तराई क्षेत्रलाई राम्रो मानिएपनि उत्पादन गर्न नसक्दा छठ पर्व तथा अन्य चाडपर्वको समयमा बजारको माग पूरा गर्न बाहिरकै भर पर्नुपर्ने देखिन्छ’ उनले भने–‘केरामा तराई क्षेत्रलाई आत्मनिर्भर बनाउन कृषकहरुलाई खेतीतर्फ आकर्षण बढाउन स्थानीय, प्रदेश र संघ सरकारले ध्यान पु¥याउनु आवश्यक छ ।’


उनले सरकारकै उदासिनताले सर्वसाधारणलाई केरा खदिरमा पनि महँगी खेप्नु परेको गुनासो समेत गरे । सप्तरीका बजारमा अहिले ४ सयदेखि २ हजार रुपैयाँसम्ममा केराको घरी खरिद विक्री हुने गरेको छ । ‘जिल्लाको पूर्वी उत्तरी भागमा केही रुपमा केरा खेती हुन्छ, सो केराले अन्य समयमा बजारको माग झण्डै पुरा पनि गर्छ’ राजविराज नगरपालिका–१ का रामकिसुन साहले भने–‘तर छठ पर्वको बेला भने अन्य समयभन्दा १५–२० गुणाले केराको माग हुन्छ ।’


माग पूर्ति गर्न आफुहरुलाई झापा, मोरङ्गसहित विहारको विभिन्न बजारबाट केरा आयात गर्नुपर्ने भएकाले अलिकलि बढी मुल्य लिएर विक्री गर्नुपरेको उनले बताए । ‘बाहिरबाट आयात गर्ने वित्तिकै ढुवानीदेखि भन्सार र लेवर खर्च पनि लाग्छ’ उनले भने–‘सो खर्च मिलाउन थोरै महँगो पर्न जान्छ ।’