• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

आर्थिक

सप्तरीमा व्यवसायिक रुपमै सयपत्री फूल खेती

एउटै सिजनमा लाखौं आम्दानी
सप्तरीमा व्यवसायिक रुपमै सयपत्री फूल खेती

राजविराज, ५ कार्तिक । चाडपर्व लगायत विभिन्न अवसरहरुमा हरेक वर्ष सप्तरी जिल्लामा वार्षिक दश करोड भन्दा बढी फूल आयात हुने सप्तरी जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती गर्न थालिएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर–१२ स्थित धरमपुरमा तीन जनाले सामुहिक फूल खेती शुरु गरेका हुन् । स्थानीय पूर्व ईन्जिनियर दिपक कुमार गुप्ता, अनिल प्रधान र पिताम्बर कर्णले संयुक्त लगानीमा फूल खेती गरेका छन् । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको धरमपुरमा बाँझो रहँदैआएको जग्गा भाडामा लिएर उनीहरुले यसवर्ष डेढ बिघामा सयपत्री (गेन्दा) खेती गरेका छन् ।
विवाह, ब्रतबन्ध तथा चाडपर्वका बेला भारतको सिलिगुडी लगायतका स्थानहरुबाट आयातित फूल सप्तरी जिल्लामा ठाउँ पाएको देखेर आफुहरुले सयपत्री फूलको खेती शुरु गरेको ई. दिपक गुप्ताले बताए । विजयादशमी, दिपावली, भाइटिका तथा छठ पर्वका बेला मात्रै करोडौं रुपैयाँको सयपत्री फूल खपत हुने गरेकोले फूलको व्यवसाय रामै हुन्छ कि भने लागेर शुरु गरेको फूल खेतीबाट आफुहरु आशावादी रहेको उनले बताए ।
डेढ बिघामा लगाएको सयपत्री राम्रै सप्रेको जानकारी दिँदै उनले भने ‘हामीले यसपाली शुरुवात मात्र ग¥यौं, राम्रै व्यापार हुने सम्भावना छ । लक्ष्मीपूजा, भाइटिका र छठ पर्वलाई लक्षित गरी ५० हजार माला तयारी अवस्थामा रहेको ई. गुप्ताले बताए । उनका अनुसार औषत ४० ओटा सयपत्री फूलबाट बनाईएको माला थोक मूल्य ५० देखि ५५ रुपैयाँमा विक्री गरिने लक्ष्य रहेको छ ।
फूल टिपेर सङ्कलन गरी स्थानीय सप्तकोशी कोल्ड स्टोरेजमा भण्डारण गरिएको अर्का सञ्चालक अनिल प्रधानले जानकारी दिए । फूल टिप्ने कार्य लगभग अन्तिम चरणमा पुगिसकेकोले सबभन्दा पहिला सप्तरी जिल्लाको राजविराज, कञ्चनरुप, फत्तेपुर, भारदह, हनुमाननगर, छिन्नमस्ता, बोदेवसाईन, कल्याणपुरसहितका बजारहरुमा माग अनुसारको आपूर्ति गर्ने उनले बताए । यसका साथै सुनसरी, उदयपुर, सिरहा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा पुर्याउने तयारी भईरहेको जानकारी दिँदै प्रधानले भने ‘सबभन्दा पहिला त हामीले जिल्लालाई नै फूलमा आत्म निर्भर बनाउँदै अन्यत्र समेत व्यापार विस्तार गर्नेछौं ।’
सामुहिक सयपत्री खेतीबाट राम्रै आम्दानी भयो भने यसलाई दोब्बर अर्थात तीन बिगहामा पुर्याउने आफुहरुको सोच रहेको अर्का सञ्चालक पिताम्बर कर्णले बताए । आफ्नै देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँठाउँमा मेहनत गरेर राम्रो आम्दानी कमाउन सकिने बताउँदै उनले भने ‘शिक्षित यूवाहरुले अरुको मुख ताकेर बस्नुभन्दा आफ्नै गाउँटोलको जग्गा भाडामा लिएर पनि विभिन्न व्यवसायिक खेती, पशुपालन इत्यादी गरेर राम्रो आम्दानी कमाउन सकिन्छ ।’ स्वाभिमान यूवाहरुले उच्च आत्मबलकासाथ कुनै पनि काम थाले सफलता निश्चित रहेकोले जिवनको महत्वपूर्ण समय खेर फाल्नु भन्दा संयमित अगाडि बढे सफलता निश्चित रहेको उनीहरुको सुझाव छ ।
सप्तरी जिल्लाको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा दैनिकजसो हज्जारौं रुपैयाँको सयपत्री फूल खपत हुने गर्दछ । यस अतिरिक्त विवाह, व्रतबन्ध, जन्मदिन, वैवाहिक वर्षगाँठ लगायत विभिन्न समारोहहरुमा सयपत्री फूलको माला सजावटकालागि प्रयोग गरिने अनिवार्यता रहेको छ ।